बाँकेमा डुबेर तीन युवाको मृत्यु - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा डुबेर तीन युवाको मृत्यु 

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा डुबेर तीन युवाको मृत्यु भएको छ । बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखाका इन्चार्ज होमप्रसाद चौधरीका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् । उनीहरुलाई कोहलपुर प्रहरीको टोलीले मृत अवस्थामा फेला परेको चौधरीले बताए ।

प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याएर तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७८ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्

६ वर्षदेखि बुबाबाट यौन हिंसा

किशोरी भन्छिन्– ‘९ वर्षको उमेरबाट बारम्बार जबर्जस्ती गरे । कुटाइ खानु दैनिकीजस्तै बनेको थियो ।’
रूपा गहतराज

नेपालगन्ज — शरीरभरि नीलडाम र घाउका खत छन् । उमेरअनुसार शरीरको बनोट मिल्दैन । बारम्बारको कुटाइले शरीर थिलथिलो बनेको छ । दुई सातायता भने उनले केही राहत महसुस गरेकी छन् । घाउमा खाटा बस्न थाले पनि मनमा शान्ति छैन । ‘मलाई यस्तो हालतमा पुर्‍याउने मेरै बुबा हुन्,’ उनले भनिन्, ‘६ वर्षपछि निर्मम कैदबाट मुक्त भएँ ।’ लामो समय बाबुबाट बलात्कृत उनले बल्ल अत्याचारबारे मुख खोलेकी हुन् । हाल उनी नेपालगन्जस्थित एक आवास गृहमा आश्रित छिन् ।

१५ वर्ष पुगेकी उनी साढे दुई वर्षकी हुँदा आमाले दोस्रो विवाह गरिन् । त्यतिखेर बाबु विदेशमा थिए । आमाले छाडेपछि उनी काकाको घर बस्न थालिन् । बाबु वैदेशिक रोजगारीबाट फर्किंदा उनी आठ वर्ष पुगिसकेकी थिइन् । बाबुले कान्छी आमा भित्र्याए । र, उनलाई पनि काकाको घरबाट ल्याएर साथै राख्न थाले । ‘सुरुमा बुबाले सुमसुम्याउँदा माया गरेको ठानें,’ उनले भनिन्, ‘९ वर्षको उमेरबाट मुसार्ने सिलसिला बढ्दै गयो । त्यसपछि बारम्बार जबर्जस्ती गरे ।’ उनका अनुसार कुटाइ खानु दैनिकी जस्तै बनेको थियो । कसैसँग पनि बोल्न, हाँस्न, खेल्न पाउँदैन थिइन् । ‘स्कुलबाट पाँच मिनेट ढिलो आउँदा बुबा स्कुल पुग्थे,’ उनले भनिन्, ‘मावल पनि जान पाउँथिनँ । घरमै नजरबन्दमा थिएँ ।’

यौन हिंसाविरुद्ध प्रतिकार गर्दा मार्ने धम्की पाउँथिन् । त्यसैले उनी यसबारे कसैलाई भन्न पनि सक्दैन थिइन् । ‘डर, धम्की र त्रासमै बाल्यकाल बित्यो,’ उनले भनिन्, ‘रुँदारुँदै आँखा कमजोर भएपछि देब्रे आँखाको अप्रेसन गर्नुपर्‍यो ।’ आँखाको अप्रेसनका लागि काठमाडौंमा गएका बेला होटलमा पनि बाबुले करणी गरेको उनको भनाइ छ । ‘अहिले त मेरा आँखाबाट आँसु पनि आउँदैन,’ उनले भनिन् ।

गत चैतमा पेट अस्वाभाविक रूपमा बढेपछि बुबाले नै अस्पताल पुर्‍याए । जँचाउँदा पाँच महिनाको गर्भ रहेछ । ‘अब यस्तो नदोहोर्‍याउने’ भन्दै जबर्जस्ती गर्भ तुहाउन दबाब दिए । आफैंले अस्पताल पुर्‍याए । एक दिन अस्पतालमा राखेर घर ल्याए । घर ल्याउँदा रगतको धारा बगिरहेको थियो । गर्भपतन गराएको एक महिनापछि बुबाले फेरि जबर्जस्ती करणी गरेपछि सहन नसकेर आफन्तलाई बताइन् । चर्चमा पुगेर पास्टरलाई सबै कुरा जानकारी गराइन् । आफन्तले उनको कुरै पत्याएनन् । ‘त्यसपछि भागेर काकाको घरमा बस्न थालेको थिएँ,’ उनले भनिन्, ‘बुबाले काकाको घरबाट कुट्दै फिर्ता ल्याए ।’ घरमा ल्याएपछि पनि पुरानै सिलसिला चल्यो । दुई साताअघि मात्रै उनकी ठूली आमाले सबै कुरा थाहा पाएपछि धनौली प्रहरी चौकीमा जाहेरी दिइन् । त्यसपछि घटना सार्वजनिक भएको हो ।

मर्नुभन्दा बौलाउनु ठीक भन्ठानेर घटना सार्वजनिक गरेको पीडित किशोरीको भनाइ छ । ‘त्यो बुबा होइन, अपराधी हो । त्यसले सजाय पाउनुपर्छ,’ उनले भनिन्, ‘कुन बाबुले छोरीलाई यतिसम्म पीडा दिन सक्छ ?’ घटना प्रहरीमा दर्ता भएपछि आफन्तले मुद्दा फिर्ता गर्न दबाब दिइरहेका छन् । ‘घटना कहिले भएको हो भन्दा पनि यसको प्रकृति र संवेदनशीलता बुझ्न जरुरी छ,’ बाँकेकी अधिकारकर्मी कमला पन्तले भनिन्, ‘एउटा किशोरीले ६ वर्षपछि आफूले भोगेको हिंसाविरुद्ध आवाज उठाउनु पनि एउटा जागरुकता हो, त्यसलाई प्रमाणको लेखाजोखामा राखेर अपराधीलाई उम्काउन खोजियो भने त्यो न्यायसंगत हुँदैन ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपानेले खजुरास्थित धनौली प्रहरी चौकीबाट आरोपीसित बयान लिने र अनुसन्धानको काम थालिएको बताए । ‘घटनाको संवेदनशीलतालाई बुझेरै सूक्ष्म रूपमा अनुसन्धान अनि प्रमाण जुटाउने काममा लागेका छौं,’ उनले भने, ‘अपराध प्रमाणित भए कानुनी दायरामा ल्याएरै छोड्छौं ।’

प्रकाशित : श्रावण २, २०७८ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×