वन व्यवस्थापन प्रविधिमैत्री बन्दै- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन व्यवस्थापन प्रविधिमैत्री बन्दै

काठदाउराको रेकर्डिङ र रिपोर्टिङ ट्याबबाट
कागजमा टिपेर पत्राचार गर्ने परम्परागत प्रणाली अन्त्य
मनोज पौडेल, अमृता अनमोल

कपिलवस्तु/बुटवल — कपिलवस्तुको गोरुसिंगेस्थित सबडिभिजन कार्यालयका सहायक वन अधिकृत वसन्त थापाले सामुदायिक र साझेदारी वनमा कटानछपान अनुमतिका लागि जाँदा डायरी बोक्न छाडेका छन् । अचेल जंगल चहार्दा उनी आधुनिक कम्प्युटर ट्याब बोक्छन् ।

कपिलवस्तुस्थित डिभिजन वन कार्यालयका कर्मचारी कम्प्युटरमा फिल्डबाट इन्ट्री गरिएको काठदाउराको तथ्यांक हेर्दै । तस्बिर : मनोज/कान्तिपुर

काठदाउराको रेकर्डिङ र रिपोर्टिङ उनी त्यसैमा इन्ट्री गर्छन् । इन्टरनेटका माध्यमबाट तालुक अड्डामा त्यहींबाट पठाउँछन् । जिल्लामा रहेको डिभिजन वन कार्यालय कपिलवस्तुले वन क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरेर प्रविधिमैत्री बन्दै गएको हो । अब कागजमा टिपेर ल्याई कार्यालयमा आएर पत्राचार गरी पठाउने परम्परागत रेकर्डिङ रिपोर्टिङ प्रणाली अन्त्य भएको सहायक वन अधिकृत थापाले बताए । ‘अत्याधुनिक प्रविधिको सफ्टवेयर प्रयोग गरिरहेका छौं,’ उनले भने ।

सामुदायिक र साझेदारी वनमा रूख काट्नुअघि पूर्वस्वीकृत कार्ययोजनाअनुसार छपान (मार्किङ) गरिन्छ । त्यसका लागि वन प्राविधिकसहितको टोली जान्छ । कुन जातको रूख हो, प्राविधिकले काट्ने रूखलाई नम्बरिङ गर्छन् । त्यसको साइज लिइन्छ । रूख रहेको ठाउँको जीपीएस नाप लिन्छन् । त्यसको लम्बाइ, चौडाइ र गोलाइ नापिन्छ । काठ कति सग्लो आउँछ,, कति धोंद जान्छ, त्यो पनि नापिन्छ । यी सबै तथ्यांक लिएपछि पूरै रूखको परिमाण नापिन्छ ।

लगत निस्कनासाथ सबै तथ्यांक रूख भएकै ठाउँबाट साइन्टिफिक फरेस्ट म्यानेजमेन्ट सपोर्ट सिस्टम सफ्टवेयरमा इन्ट्री गरिन्छ । उक्त ट्याब वन ड्राइभ एप्लिकेसनमार्फत इन्टरनेटको सम्पर्कबाट सदरमुकाममा रहेको कम्प्युटर सर्भरमा गएर सेभ हुन्छ । कार्यक्षेत्रबाट पठाउनासाथ जिल्लामा हेर्न सकिन्छ । तथ्यांक भेरिफाइ गरी प्रक्रिया पुर्‍याएर कटान सहमति दिइन्छ । त्यो पनि कम्प्युटरमार्फत नै पत्राचार गरेर पठाइन्छ । कटान सहमति पाएपछि रूख काटिन्छ । काठको अवस्था हेरेर ग्रेडिङ गरिन्छ । स्तरअनुसारको काठको नापजाँच परिमाण निकालिन्छ । यो दोस्रो चरणका सूचना र जानकारी पनि कार्यक्षेत्रबाटै सफ्टवेयरमा इन्ट्री गरेर पठाइन्छ । जिल्लामा तत्कालै पुग्छ । यसपछि प्रक्रिया पुर्‍याएर सामुदायिक र साझेदारी वनहरूलाई बिक्री सहमति दिइन्छ । सहमति पठाएपछि उनीहरू पूर्वकार्ययोजनाअनुसार काठ बिक्री गर्छन् । कतिपय आफ्नै उपभोक्तालाई त, कतिपय बाहिरी उपभोक्तालाई बिक्री गर्छन् ।

जिल्लाका पटना, पिपरा, बडहरा, मोतीपुर, गोरुसिंगे र चेतरादेंही सबडिभिजन वन कार्यालयले सफ्टवेयर प्रयोग गरेर काम गरिरहेका छन् । उनीहरू सबैसँग ट्याब छ । यो प्रविधिमैत्री काम कपिलवस्तु र दाङको घोराही वन डिभिजन कार्यालयमा एक वर्षदेखि प्रयोग भइरहेको हो । वनमा प्रविधिको प्रयोग गर्ने अवधारण वैज्ञानिक वन व्यवस्थापनका विज्ञ विजय सुवेदीले ल्याएका हुन् । ‘यसले कामको ओभरलोड घटाएको छ,’ सबडिभिजन वन कार्यालय, गोरुसिंगेका सहायक वन अधिकृत वसन्त थापाले भने, ‘फरम्याटमा लम्बाइ र गोलाइ राख्नासाथ गुणस्तर र परिमाण निस्कन्छ ।’

सफ्टवेयर सजिलो छ । एक्सल फरम्याटको एउटै फोल्डरमा आफ्नो कार्यक्षेत्रका सबै सामुदायिक र साझेदारी वनका काठको परिणाम हेर्न सकिन्छ । ‘जोडघटाउमा त्रुटि कमजोरी हुँदैन,’ उनले भने, ‘आफूसँग कम्प्युटर नहुँदा पनि गुगल ड्राइभबाट तानेर डाटा हेर्न सकिन्छ ।’ यो प्रविधि कपिलवस्तुका ६९ सामुदायिक वन र २ वटा साझेदारी वनमा लागू गरिएको छ । ६ लाख लागतमा यो सफ्टवेयर भित्र्याइएको हो । ‘वनमा रूखको छपान गर्नासाथ सफ्टवेयरमा सिधै मूल्यांकन भएर आउँछ,’ डिभिजन वन कार्यालयका डीएफओ ईश्वरीप्रसाद पौडेलले भने, ‘यसको डाटा निकै सुरक्षित हुन्छ ।’

कसैले चाहेर पनि दायाँबायाँ गर्ने सक्दैनन् । दैनिक के कति काम भइरहेको छ, हेर्न सकिन्छ । काममा चुस्तता, एकरूपता र पारदर्शिता बढेको उनले बताए । यसको सर्भर र डाटा डीएफओमा राखिएको छ । सफ्टवेयरको प्रयोगले पत्र टाइप गर्न पर्दैन । रेकर्ड सुरक्षित हुन्छ । रेकर्ड हेर्न फाइल पल्टाइरहन पर्दैन । ‘प्रगति विवरण समयमै पठाउन सकिन्छ,’ सफ्टवेयरका समन्वयकर्ता सहायक वन अधिकृत मदनमोहन शाण्डिल्यले भने, ‘सेवाग्राहीले छिटोछिटो सेवा पाएका छन् ।’ कर्मचारीमा पनि कार्यक्षमता वृद्धि भएको छ ।

निजी वनबाट फाइदा लिन समस्या

लीला पौडेलसहित चार जनाले रूपन्देहीको देवदह नगरपालिका केरबानीमा निजी स्वामित्वमा रहेको करिब तीन बिघा जग्गामा वन पालेका छन् । वर्षौंदेखि संरक्षण गर्दै आएको वनमा उनीहरूले फाइदा भने पाएका छैनन् । ‘बिरुवा रोप्ने र संरक्षण गर्ने काम गरेका छौं । तर, रूख काट्न पाएका छैनौं,’ उनले भने, ‘आफ्नै खेतको रूख काट्न पनि डराउनुपर्ने र मुद्दा मामिला भोग्नुपर्ने हो कि भन्ने अवस्था छ ।’

व्यक्तिले आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको वा संरक्षण गरेका वन परिवारिक निजी वन हो । लुम्बिनी प्रदेशमा ९ सय ४ सहित देशभरमा ३ हजार ७ सय ५३ निजी वन छन् । वन मन्त्रालयको तथ्यांकअनुसार त्यसले १० लाख हेक्टर क्षेत्रफल ओगटेको छ । निजी वन यसअघि जिल्ला वा डिभिजन वन कार्यालयमा दर्ता हुन्थे ।

वन ऐन, २०७७ ले डिभिजन वन कार्यालयमा दर्ता हुने निजी वनलाई स्थानीय तहलाई दर्ता गर्ने अधिकार दिएको छ । वन कार्यालयको इकाइ स्थानीय तहमा बस्ने र त्यसले नै रूख काट्ने र बिक्रीवितरणको स्वीकृति दिने प्रावधान बनाएको छ । तर, वन कार्यालयको इकाइ स्थानीय तहमा गएको छैन, जसले गर्दा अधिकांश स्थानीय तहले पारिवारिक निजी वन दर्ता गर्न पाएका छैनन् ।

दर्ताविहीन वनका काठपैदावार निकाल्न र बेच्न पनि पाएका छैनन् । पारिवारिक निजी वनका उपाध्यक्ष बलराम भट्टराईले ऐन कार्यान्वयनमा नल्याउँदा रूखबिरुवा सड्ने तर किसानले बेच्न नपाउने समस्या भएको बताए । उनी आफैंले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–७ मा १ बिघा ५ कट्ठा खेतमा अन्नबालीको सट्टा वन पालेका छन् । उनको आम्दानीसमेत अहिले रोकिएको छ । ‘दर्ता समस्याले मजस्ता धेरै निजी वनपालक किसानको आम्दानी रोकिएको छ,’ उनले भने, ‘वन खेतीबालीजस्तै हाम्रो नियमित आम्दानीको स्रोत हो । यसमा राज्य गम्भीर बन्नुपर्छ ।’

निजी जग्गामा लगाएको भए पनि साल, साज, ओखर, पाँचऔंले र जटामासीलगायत केही प्रजातिका रूख व्यक्तिगत रूपमा कटान गर्न रोक लगाइएको छ । आँप, लहरेपीपल, निम, सिसौ, टिक, कदम, मसला, टुनी, बबुल, टुनी, काभ्रोलगायत २३ प्रजातिका रूख भने स्थानीय तहमा जानकारी गराएर काट्न पाइन्छ । आफ्नो स्थानीय तहभित्र तिनका काठदाउरा ओसारपसार गर्दा छोडपुर्जी लिनुपर्दैन । स्थानीय तह बाहिर लैजाँदा वा बेचबिखन गर्दा भने छोडपुर्जी लिनुपर्छ ।

एउटै जिल्लाको फरक स्थानीय तहमा लैजाँदा स्थानीय तहले र फरक जिल्लामा लैजाँदा डिभिजन वन कार्यालयले छोडपुर्जी दिनुपर्छ । स्थानीय तहले दर्ताको अधिकार पाए पनि धेरैले दर्ता प्रक्रिया र छोटपुर्जी दिने काम गरेका छैनन् । यसले गर्दा वन पालक किसान समस्यामा परेका छन् । ‘हामीले अन्नबाली मासेर रूख लगाएका हौं । अन्नबालीसरह काठदाउरा पनि बेच्न पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ रूपन्देहीको सैनामैनाकी वनपालक किसान विमला खत्रीले गुनासो गरिन्, ‘हाम्रो माग सुनुवाइ भएन ।’

प्रकाशित : श्रावण ६, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

फुटबलमा ‘कलर ब्लाइन्डनेस’

सेप्टेम्बर ६ मा विश्वभर ‘कलर ब्लाइन्डनेस अवेरनेस डे’ मनाइन्छ । हाम्रो समाजमा यसबारे धेरै अनभिज्ञता पाइन्छ । यसले दैनिक जीवनमै धेरै समस्या पार्ने गर्छ । अझ फुटबलमा त यो चर्को समस्या हो, खेलाडीदेखि दर्शकसम्मलाई । धेरै यो तथ्य स्विकार्न तयार हुने गर्दैनन् । फुटबलमा केही न केही परिवर्तन आइरहेको छ । इटालियन सिरी ‘ए’ मा अर्को सिजनदेखि लागू हुने गरेर एउटा नियम आएको छ । यो हो, कुनै पनि टिमका ‘अलफिल्ड’ रहने खेलाडीले हरियो जर्सी लगाउन पाउने छैनन् ।
ह्यारी डी कोसेमो

लन्डन — न्युकासल युनाइटेडका पूर्व डिफेन्डर जेम्स पर्चले एकपल्ट भनेका थिए, ‘जतिबेला न्युकासल र सन्डरल्यान्डबीच खेल हुने गर्छ, म कालो–सेतो र रातो–सेतो धर्काबीचको अन्तर नै छुट्याउन सक्दिनँ । त्यसैले मलाई खेल्न गाह्रो हुने गर्छ ।’ 

सन् २०१४ कोच्याम्पियन्स लिगमा भिड्दै लिभरपुल (रातो) रबुल्गेरियाको लुडोगोरेट्ज रेजगार्ड (हरियो जर्सी) । ‘कलर ब्लाइन्डनेस’ हुनेका लागि हरियो जर्सीको खेल हेर्न कठिन हुने गर्छ । न्युकासलका पूर्वखेलाडी जेम्स पर्च (दायाँ तस्बिर) । फाइल तस्बिर : एजेन्सी

‘टाइन वेयर डर्बी’ को यस्तो खेल पर्चलाई मात्र होइन, उनीजस्तै ‘कलर ब्लाइन्ड’ हुने सबैलाई गाह्रो हुन्छ । उनी थप्छन्, ‘खेलमा बल पास भएको हेर्न खाली केही सेकेन्डको अवसर हुने गर्छ, यस्तोमा हामीलाई अझै गाह्रो हुने गर्छ ।’

‘कलर ब्लाइन्डनेस’ वा ‘कलर भिजन डिफिसेन्सी’ ले महिलालाई भन्दा पुरुषलाई बढी सताउने गर्छ । प्रत्येक १२ पुरुषमध्ये एकमा यस्तो समस्या हुन्छ । महिलातर्फ भने दुई सयमा एकै जनालाई मात्र यस्तो हुने गर्छ । यस्तै समस्याग्रस्त खेलाडी, प्रशिक्षक र समर्थकलाई आफ्नो प्रिय फुटबलमा कहिलेकाहीं यसले दुःख दिने गर्छ । खासमा यो रातो र हरियो रंगलाई ठ्याक्कै हेर्न गाह्रो हुने समस्या होइन, बरू यी दुई रंगलाई छुट्याउन गाह्रो हुने हो ।

यी दुई रंग नै सबैभन्दा बढी समस्या हुने गर्छ, ‘कलर ब्लाइन्डनेस’ लाई । भर्खरै मात्र इटालीको सिरी ‘ए’ मा अर्को सिजनदेखि लागू हुने गरेर एउटा नियम आएको छ, कुनै पनि टिमका ‘अलफिल्ड’ रहने खेलाडीले हरियो जर्सी लगाउन पाउने छैनन् । खेलको प्रत्यक्ष प्रशारण गरिरहेका टेलिभिजनले त यस्तो माग गरेको अहिल्यै होइन । यो नियम लागू हुनुपछाडिको कारण हो, आम दर्शकलाई पनि हरियो जर्सीका कारण खेलाडी र घाँसे मैदान छुट्याउन गाह्रो हुन्छ ।

प्रेस्टन नर्थ एन्ड एफसीका समर्थक टम ह्यारिसन भन्छन्, ‘साधारणतया जर्सीका लागि धेरै रंग प्रयोग हुनसक्छ, त्यसैले धेरै समस्या हुन्न । विशेषतः रातो र हरियो जर्सी लगाउने दुई टिमबीच खेल हुन्छ भने केही दर्शकलाई निकै गाह्रो हुने गर्छ यो खेल हेर्न ।’ किरे म्यागुएल फुटबलको आर्थिक पक्षका विशेषज्ञ हुन् । उनी मान्छन्, इटालियन सिरी ‘ए’ को माथिल्लो डिभिजनमा लागू हुने नियमले मात्र सबै समस्या समाधान गर्दैन, यो त सुरुआतमात्रै हो ।

खासमा फुटबलमा दुई फरक रंगका जर्सी अधिकांश समय हेर्नलाई गाह्रो हुन्छ । धेरैले यो महसुस नगरेको मात्र हो । उनले यसका लागि लागि भर्खर सकिएको युरो २०२० को खेलको उदाहरण दिएका छन् । उनका अनुसार ‘कलर ब्लाइन्डनेस’ हुनेले इटालीको नीलो जर्सी र गुलाबी रंगको सर्ट लगाएका रेफ्रीबीच समेत अन्तर छुट्याउन सकेका थिएनन् । उनले दिएको एउटा अर्को उदाहरण झन् गहन छ । पछिल्लो सिजन आर्सनल र र्‍यापिड भिएनाबीच एक खेल थियो ।

भिएनाका खेलाडीले त्यस्तो हरियो जर्सी लगाएका थिए, जसको बाहुला सेतो थियो । केही आर्सनल समर्थकले भिएनाको आक्रमणमा आफ्नै टिम अगाडि बढेको महसुस गरेर उत्साहित भए । खुसीयाली मनाए । केही क्षणपछि उनीहरूले के महसुस गरे, त्यस्तो त थिएन । उनीहरूका लागि यो अप्ठ्यारो स्थिति नै थियो । ती समर्थकको त्यो चाला देखेर तटस्थ समर्थकले के पनि छुट्याउन सकेनन् भने ती आर्सनलका प्रशंसक थिए वा भिएनाका ।

अझ अभ्यासका बेला अधिकांश खेलाडीले प्रायः दुई रंगको विभ्स प्रयोग गर्छन् । कि त नीलो, होइन भने हरियो । यसले केही समर्थकलाई समस्यामै पार्छ । तिनै ह्यारिसन भन्छन्, ‘केहीका लागि कलर ब्लाइन्डनेस शारीरिक अपांगता होइन जस्तो लाग्छ, अधिकांशले यसलाई साधारण नै मान्छन् । तर होइन, यो समस्या हो । कसैले आफूलाई समस्या हुन्छ भनेर हरियो जर्सी नलगाउन अनुरोध गर्छ भने त्यसलाई हाँसोमा उडाउने छन् । सबैले बुझ्नुपर्छ, यो समस्या नै हो ।’

अब के त ? इंग्लिस फुटबलको एउटा निकै ठूलो खेल हुने गर्छ, लिभरपुलविरुद्ध म्यानचेस्टर युनाइटेड । यी दुई क्लबले एकले अर्कोलाई आफ्नो सबैभन्दा ठूलो शत्रु मान्छ । खेल त्यसैले तनावपूर्ण हुन्छ । यो खेल एनफिल्डमा हुन्छ भने लिभरपुलले पारम्परिक रातो जर्सी लगाउने छ । म्यानचेस्टरले अवे किटका रूपमा नीलो रंगको जर्सी लगाउने गर्छ । ‘कलर ब्लाइन्डनेस’ हुनेका लागि यो खेल हेरिनसक्नु हुनेछ । केहीले दुई टिम छुट्याएर हेर्नै सक्दैनन् ।

यस्तोमा केही संख्यामै सही, दर्शकले त्यो खेलको मज्जा लिन त पाएनन् । तर, खुसीको तथ्य के भने कम्तीमा इटालीको सिरी ‘ए’ भए पनि अगाडि आएको छ । यसले आउने दिनमा पक्कै केही न केही फरक पार्नेछ । यही नियम अबको केही वर्षमा प्रिमियर लिगमा लागू हुनेछ, त्यो भन्न सकिन्न । कम्तीमा तीन वर्षअगाडि ‘कलर ब्लाइन्डनेस’ बारे सजगता जगाउने इंग्लिस एफएले एउटा कार्यक्रम राखेको थियो । जागरुकता पक्कै पनि आउँदै छ । भलै, यो सुस्त छ । –बीबीसी

प्रकाशित : श्रावण ६, २०७८ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×