नरैनापुरमा आन्तरिक पर्यटक बढ्दै- लुम्बिनी - कान्तिपुर समाचार

नरैनापुरमा आन्तरिक पर्यटक बढ्दै

पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नरैनापुर–२०२१’ सञ्चालन
मधु शाही, रूपा गहतराज

बाँके — चार वर्षअघिसम्म नरैनापुर गाउँपालिकासम्म पुग्ने बाटो थिएन । यातायातका साधन नचल्दा नेपालगन्जसँगै जोडिएको पालिकासम्म पुग्न मान्छेलाई सास्ती खेप्नुपर्थ्यो । राप्ती नदीको कटान र बर्सेनि बाढीले हिँडडुलमा समस्या थियो ।

बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्न जाँदै श्रद्धालु । तस्बिर : मधु/कान्तिपुर

हुलाकी सडक बनेपछि यहाँको चहलपहल बढ्दै गयो । अहिले आन्तरिक पर्यटक नरैनापुरमा घुम्नलायक गन्तव्य खोज्दै आउन थालेका छन् । कोरोना कहरको थकान र तराईको चर्को गर्मी छल्न यतिबेला नरैनापुरस्थित सन्तानेश्वर मन्दिरमा पनि चहलपहल बढेको छ । पालिकाले पर्यटकीय स्थललाई महत्त्व दिन थालेपछि यहाँ पर्यटक बढ्न थालेका हुन् । पालिकाले आगन्तुक पर्यटकलाई शनिबार यहाँ स्वागत गरेको छ ।

पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नरैनापुर–२०२१’ सञ्चालन नीतिसमेत ल्याएको पालिकाका प्रशासन प्रमुख दलबहादुर बस्नेतले बताए । यसै नीतिअनुरूप पहिलो चरणको कार्यक्रममा सन्तानेश्वर महादेव मन्दिरसम्म पैदल यात्रा सुरु गरिएको हो । नेपालगन्जदेखि लालपुरसम्म २५ किलोमिटर पक्की सडक छ । त्यहाँबाट ८ किलोमिटर पैदल हिँडेपछि सन्तानेश्वर मन्दिरमा पुगिन्छ । नरैनापुर गाउँपालिकाको कोहला गाउँको जंगलमाथि पहाडको चुचुरोमा रहेको यो शिव मन्दिर हो । गएको शनिबार मात्रै ५ हजारभन्दा बढी पैदल यात्रुले मन्दिरको दर्शन गरेको पालिकाका प्रशासन प्रमुख बस्नेतले बताए ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह आफैं पनि पैदल यात्रामा सहभागी भई पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा सरिक भएका छन् । ‘सडक नहुँदा मन्दिर ओझेलमा परेको छ,’ उनले भने, ‘यसलाई पर्यटकीय हब बनाउन विकासका केही खाका तयार पार्दै छौं । जति सक्दो आन्तरिक पर्यटक आकर्षण गराउने उद्देश्य छ ।’ शनिबार नेपालगन्ज, कोहलपुर, राप्तीसोनारीबाट मानिसहरू मन्दिरको दर्शन गर्न पुगेका थिए । नेपालगन्जकी भावना केसीले कोरोना कहरका कारण भीडभाडभन्दा बाहिर सुरक्षित भएर घुम्ने ठाउँको खोजी गरेको बताइन् । कोरोना कहरपछि उनले नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर घुम्ने योजना बनाएको बताइन् । शनिबार परिवारसहित पैदल यात्रामा आएकी उनी रमणीय स्थल देखेर दंग थिइन् । ‘अब पहाड चढ्न तराईमै पाइने भइयो,’ उनले भनिन्, ‘यहाँको स्वच्छ हावा र शीतलताले आनन्द दियो ।’

सडक नहुँदा यहाँसम्म पुग्न मानिसलाई अप्ठ्यारो थियो । अहिले सडक बनेपछि मानिस घुम्न आउन थाले । सामाजिक सञ्जालमा फोटो राखे । ‘सहर बजारका मान्छेले पनि यहाँ यस्तो ठाउँ रहेछ भन्ने बल्ल थाहा पाए,’ अध्यक्ष शाहले भने, ‘विशेष गरी बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरले दर्शनार्थी पाएको हो ।’ मन्दिरसम्मै सवारीसाधन पुग्ने बाटो निर्माण भए सन्तानेश्वरमा आन्तरिक पर्यटकको भीड अझै बढ्न सक्ने उनले बताए ।

पछिल्लो समय सन्तानेश्वर मन्दिर मात्रै होइन, नरैनापुरलाई चिनाउने अन्य ठाउँहरू पनि विस्तारै मान्छेको नजरमा पर्दै छन् । पर्यटकको चहलपहल बढेसँगै यहाँका स्थानीयसमेत खुसी देखिन्छन् । मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी उर्फ पहाडी बाबाले यो ठाउँमा विसं. १९३५ मै झन्डा गाडिएको बताए । मटेहियाका यादव थरका व्यक्तिले यहाँ झन्डा गाडेको उनले सुनाए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाका दिन यहाँ भण्डारा अर्थात् निःशुल्क खाना खुवाउँछन् ।

०७० सालमा यहाँ व्यवस्थित ढंगले मन्दिर बनाइएको थियो । सन्तानेश्वरमा शिवरात्रि, तीजजस्ता पर्वमा विशेष भीड लाग्ने गर्छ । साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गर्छ । सन्तानविहीनले यस मन्दिरको दर्शन गरी सच्चा मनले पूजापाठ र व्रत गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । यहाँ ड्रोन क्यामेरा प्रयोग गरेर हेर्दा पहाड नै पहाडले बनेको ॐ र त्रिशूल देख्न सकिन्छ । यहाँ तीनवटा पहाडका चुचुरोमुनिबाट तीनवटा मूल फुटेका छन् । ‘सात वर्षको उमेरदेखि म यहीं बस्दै आएको छु । त्यतिबेला मन्दिर खासै चर्चामा थिएन,’ जंगलको बीचमा कुटी बनाएर बसेका बाके दासले भने, ‘विगत केही महिनादेखि मन्दिर दर्शन गर्न आउनेहरूको भीडभाड बढेको छ । जंगलको बीचमा रहेको मन्दिरमा पनि मान्छेहरू देख्न पाइएको छ ।’

प्रकाशित : श्रावण ५, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगन्जमा स्वास्थ्य संकट

मधु शाही, रूपा गहतराज

बाँके — कोरोना संक्रमणको दोस्रो लहरले भारतसँगको सीमावर्ती सहर नेपालगन्ज र आसपासको बस्तीलाई गाँजेपछि स्वास्थ्य संकट चुलिएको छ । संक्रमितको उपचारदेखि मृत्यु भएकाहरूको शव व्यवस्थापनसम्म समस्या सुरु भएको छ । कोहलपुर मेडिकल कलेजमा सोमबार दुई संक्रमितको मृत्यु हुँदा शव व्यवस्थापन गर्न ठूलै समस्या आइलाग्यो ।

नेपालगन्ज चोक । फाइल तस्बिर ।

सोमबार दिउँसो कोहलपुर–२ बर्दहवाकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो । ती महिलाको अन्त्येष्टि कसले र कतिबेला गर्ने भन्ने टुंगो लगाउन झन्डै २० घण्टा छलफलमा बित्यो । परिवारले जिम्मा लिन मानेनन् । प्रशासनले राति सेना खटाउन ढिलासुस्ती गर्‍यो । एउटा शव अन्त्येष्टि गरिनसक्दै सोमबार राति ९ बजे कोहलपुर–२ का ७७ वर्षीय संक्रमित पुरुषको मृत्यु भयो । शिक्षण अस्पतालको मुर्दा घरमा दुईवटा शव अट्ने ठाउँ छ । छिटो शव व्यवस्थापन गर्न नसक्दा तनाव सहनुपरेको अस्पतालका कर्मचारीले बताए ।

‘शव छिटो व्यवस्थापन भइरहेको छैन,’ अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भने, ‘मुर्दा घरमा दुईवटा शव मात्र अट्छन् ।’ अहिलेसम्म संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ६३ पुगेको छ । उपनिर्देशक श्रेष्ठ सरकारले संक्रमितको शव व्यवस्थापनमा प्रस्ट नीति नल्याउँदा जटिलता थपिएको बताउँछन् । उनका अनुसार संक्रमित मृत्यु भएलगत्तै सम्बन्धित कोभिड अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालयसमक्ष जानकारी गराउनुपर्छ । स्वास्थ्य कार्यालयले शव परिवारको जिम्मा लगाउने कि सेनाको भन्ने निर्णय गर्छ । परिवारलाई जिम्मा लगाउँदा संक्रमणको जोखिम हुने भएकाले दाहसंस्कार गर्न मान्दैनन् । त्यसपछि सेनाको पर्खाइमा घण्टौं मुर्दा घरमा शव राख्नु परिरहेको श्रेष्ठले सुनाए । सेनाले डोजर प्रयोग गरेर खाडल बनाउने, पुर्नका लागि छुट्टै मान्छेसमेत खटाउनुपर्ने, त्यसमा प्रयोग भएका सामान र व्यक्तिलाई सेनिटाइज गर्दा एउटा शव व्यवस्थापनमा लगभग ७० हजार रुपैयाँ खर्च लाग्ने गरेको श्रेष्ठले बताए । ‘यो भनेको राज्यलाई आर्थिक भार पनि हो,’ उनले भने, ‘शवबाट संक्रमण सर्ने होइन, पीपीई प्रयोग गरेर परिवारले पनि दाहसंस्कार गर्न सक्छन् ।’

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन तेज वलीले संक्रमितको शव व्यवस्थापनमा परिवार विमुख भएको बताए । होम आइसोलेसनमा संक्रमित बसेर उपचार गरेजस्तै सुरक्षा अपनाएर परिवारले नै दाहसंस्कार गराउँदा खासै फरक नपर्ने उनको भनाइ छ ।

नेपालगन्जस्थित भेरी अस्पताल अहिले कोरोना संक्रमितले भरिएको छ । पछिल्लो २४ घण्टामा ६ सय ३२ जनाको परीक्षण गर्दा ३ सय २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । तीमध्ये २ सय ६४ जना बाँकेका हुन् । ‘खतराको घण्टी दिनानुदिन बजिरहेको छ,’ केन्द्रका फोकल पर्सन वलीले भने, ‘यहाँका अस्पतालमा एउटा एम्बुलेन्सको समेत व्यवस्था छैन, न त शववाहन चलाउने चालक नै छन् ।’ एम्बुलेन्स बिग्रिएको दुई वर्षभन्दा बढी भएको अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियन डा. पारस पाण्डेले बताए । उनका अनुसार अहिलेसम्म समुदायस्तरको एम्बुलेन्समा भर पर्नुपरेको छ । अस्पतालमा आएका अधिकांश संक्रमित बिरामी गम्भीर प्रकृतिका छन् । उनीहरूलाई भेन्टिलेटरमा राख्न पनि जनशक्तिको अभाव रहेको उनले सुनाए । अस्पतालमा उनी एक्ला चिकित्सक हुन्, जसले कोभिडका र ओपीडीका बिरामीलाई अक्सिजन दिने भेन्टिलेटरमा अक्सिजनको मात्रा जाँच गर्ने काम गर्छन् । मेसिनरी काम भएकाले सबैले यो भूमिका निर्वाह गर्न सक्दैनन् । अस्पतालमा १७ वटा भेन्टिलेटरमध्ये १४ वटा कोभिडका लागि प्रयोग भएका र ६ वटा ओपीडीमा रहेका डा. पाण्डेले बताए । पर्याप्त जनशक्ति नहुँदा ६ वटा भेन्टिलेटरमात्रै सञ्चालनमा छन् । कोहलपुरस्थित नेपालगन्ज मेडिकल शिक्षण अस्पतालमा अहिले ३३ जना संक्रमित आइसोलेसनमा छन् । ५ सय ६० जना स्वास्थ्यकर्मी रहेको अस्पतालमा कोभिडकै लागि ६० जना खटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड व्यवस्थापन गर्न स्थानीय तहलाई जोड दिएको बताए । जिल्लामा रहेका आठवटै स्थानीय तहलाई एक/एकवटा कोभिड प्रयोजनका लागि एम्बुलेन्स व्यवस्था गर्न निर्देशन दिइएको छ । निर्देशनअनुसार जम्मा ४ वटा पालिकाले मात्रै पालना गरेको प्रमुख जिल्ला अधिकारी गेलालले सुनाए । ‘अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाले मात्रै कोभिड एम्बुलेन्स राखेका छन्,’ उनले भने, ‘सबै स्थानीय तहमा तुरुन्तै आइसोलेसन सेन्टर खोल्न भनेका छौं ।’

बाँकेमा मंगलबार एकै दिन १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा १ सय ९३ जनामा गरिएको परीक्षणमा ९२.७ प्रतिशतमा भाइरस पुष्टि भएको हो । अहिलेसम्म नेपालगन्जमा २७ जना स्वास्थ्यकर्मी, १० जनप्रतिनिधि, ३९ जना कर्मचारी संक्रमित भएका छन । ‘यही अवस्था रहने हो भने बिमारीले भेल्टिलेटर नपाउने अवस्था आउनेछ,’ डा. प्रकाश थापाले भने । सरकारीका साथै निजी कोरोना अस्पतालसमेत कोभिडका बिरामीले भरिएका छन् । विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधिसम्ममा संक्रमण देखिएपछि स्वास्थ्य क्षेत्रमा चुनौती देखिएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×