एक साता पनि टिकेन कालोपत्र

असार लागेपछि हतारमा काम गरेकाले गुणस्तरहीन भएको स्थानीयको आरोप

परासी/पाल्पा — असारे झरीमा हतार–हतार काम गर्दा पश्चिम नवलपरासीको भुमही–परासी सडक खण्डमा गरिएको कालोपत्र एक साता पनि टिकेन । रामग्राम नगरपालिका–११ रानीपाकडदेखि रामग्राम–१२ पचगवासम्म गरिएको कालोपत्र एक सातामै उप्किएर काम नलाग्ने भएको हो ।

एक साता पनि टिकेन कालोपत्र

यस खण्डको साढे चार किलोमिटर सडक मर्मत र कालोपत्र गर्न रिजाल कन्स्ट्रक्सन रूपन्देहीले २ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । आवधिक मर्मतअनुसार खाडल परेका स्थान र कालोपत्र उप्किएका स्थानमा गरिएको काम एक साता पनि नटिकेपछि स्थानीय र सवारी चालकले दुःख र सास्ती भोग्नुपरेको छ । असार २५ गतेसम्म हतार–हतार काम भइरहेको थियो । असारको झरी सुरु भइसकेपछि कालोपत्र गरेकाले उप्किएको स्थानीयले आरोप छ । हतार–हतार कालोपत्र गर्ने र ओभरलोड सवारीसाधन सञ्चालन भएका कारण वर्षाले कालोपत्र बगाएको रामग्राम–११ का भागीरथ चौधरीले बताए । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अशोक पौडेलले सडक धसिएको र भत्किएको पाइएकाले ठेकेदारलाई पुनः मर्मतसम्भार गर्न निर्देशन दिइएको बताए ।

यसैगरी, पाल्पाको हार्थोक–छहरा सडकअन्तर्गत रिब्दीकोट गाउँपालिकाको हार्थोकदेखि गाउँपालिकासम्म पुग्ने सडकका लागि असार ३० गते १ करोड बजेट निकासा भयो । हतार–हतार उपभोक्ता समिति गठन गरेर काम अघि बढ्यो । नाम मात्रैको उपभोक्ता समितिले ठेकेदारलाई नाली निर्माण, गिट्टी, बालुवा, बेस, सब–बेसको काम झरीका बीच गरायो । झरी परेपछि कालोपत्रको काम भने हुन सकेन । हिउँदमा बजेट दिएको भए यो काम समयमै सकिन्थ्यो । तर, असारको अन्तिममा बजेट निकासा दिएकाले अहिले यो सडक खण्ड अलपत्र परेको स्थानीयले बताए ।

अघिल्लो वर्ष हार्थोक–देउराली सडकअन्तर्गत भएको कालोपत्रमा पनि यस्तै समस्या भएको थियो । झरीका बीच काम गर्दा गुणस्तरमा स्थानीयले प्रश्न उठाएका थिए । स्थानीय तहले भने यसलाई खासै वास्ता गरेन । कतिपय स्थानमा एक वर्ष नपुग्दै कालोपत्र उप्किसकेको छ । बर्तुङ–होलाङ्दी र ढुंगाखानी–हार्थोक सडक खण्डको काम सकिएको छैन । यहाँ गरिएको कालोपत्र एक महिना पनि नपुग्दै उप्किएको छ । बतासेडाँडा–ढुंगाखानीको ठेक्का फाइनल भइसकेको इन्जिनियर चौधरीले बताए । उनका अनुसार फाइनल नभएको काम जीवन एन्ड ब्रदर्सले लिएको हो । राजश्री कन्स्ट्रक्सनले लिएको कामको ठेक्का फाइनल भएको छ । तर पनि काम वर्षा लागेपछि भएको हो । कुनै पनि ठेक्काको काम गुणस्तरीय छैन ।

अघिल्लो वर्ष लागेका ठेक्काका काम पनि निर्माण व्यवसायीले वर्षायाम लागेपछि गर्दा काममा गुणस्तर देखिएको छैन । टालटुले काम वर्षायामको झरीसँगै बगिरहेको छ । ‘बेस, सब–बेस, कम्प्याक्सनमा भएको कमजोरीले गर्दा कालोपत्र राम्रो भएको छैन,’ सडक डिभिजनका इन्जिनियर रामविहारी चौधरीले भने, ‘निर्माण व्यवसायीको लापरबाही र अटेरीपनले गर्दा काम राम्रो भएन ।’ कालीगण्डकी करिडोरमा पानी पर्दासमेत कालोपत्र गरिएको छ । असेर्दीदेखि रामपुरसम्मका विभिन्न स्थानमा वर्षायाममा कालोपत्र गरेको स्थानीयले बताए । स्थानीय तहले खनेका सडकमा समेत अहिले अवस्था उस्तै छ । सडकमा बनेका नाली बिग्रिएका छन् । चौडा गरेका स्थानमा पहिरो खसेको छ ।

उप्किएको सडकमा टालटुल गरेका स्थानमा समेत कालोपत्र उप्किएको छ । बेस, सब–बेस राख्दा नै लापरबाही गर्ने, धूलो, झरीमा कालोपत्र टालटुल गरिएकाले यस्तो भएको हो । पूर्वाधार विकास कार्यालयअन्तर्गतको तानसेनको होलाङदी–ढुंगाखानी सडक र रानीमहल कालोपत्र सडकअन्तर्गत पनि अवस्था उस्तै छ । वर्षायामको बेलामा बेस, सब–बेस, कम्प्याक्सन गर्दा काममा गुणस्तरमा प्रश्नचिह्न खडा भएको हो । पूर्वाधार विकास कार्यालय प्रमुख प्रेम बस्यालले वर्षा भएको र कोभिडका कारण म्याद थप गरेर साउन–भदौमा कालोपत्र गरिनेछ । रामपुर नगरपालिकाको दर्छा, रजघराको खोपटारमा पनि कालोपत्र गर्न नसकेको उनले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खेमराज घिमिरेका अनुसार स्थानीय तह, संघीय, प्रदेशका कार्यालयमा पुँजीगत खर्च ४० प्रतिशत असार महिनामै निकासा हुने गर्छ । ‘सफ्टवेयर नचलेका कारण जिल्लाको जेठ मसान्तसम्मको खर्च र असार महिनामा भएको खर्चको हिसाब निकाल्न सकिएको छैन,’ उनले भने, ‘साउन १५ सम्म बल्ल के कति खर्च भएको छ भन्ने जानकारी पाउन सकिन्छ ।’ जिल्लाभर असारको अन्तिम साता काटेका १ हजार बढी चेक साट्नै बाँकी रहेकाले पनि हिसाब निकाल्न समस्या भएको उनले बताए ।

प्रकाशित : श्रावण ४, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?