सिद्धबाबा नजिकै ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध- लुम्बिनी - कान्तिपुर समाचार

सिद्धबाबा नजिकै ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ–चिडियाखोला सडक खण्डको सिद्धबाबा क्षेत्रका ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग नजिकै खसेको पहिरो पन्छाउँदै । तस्बिर सौजन्य : विष्णुप्रसाद पाण्डेय  

तिनाउ गाउँपालिका–३ अन्तर्गत सिद्धबाबा क्षेत्रको कदमबास, छहरा, हेडबक्स, नागमन्दिर लगायतका दर्जन बढी स्थानमा ढुंगा माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ ।

शनिबार बिहानैदेखि परेको वर्षा नरोकिएको र खुलाउने प्रयास गर्दासमेत माथिल्लो भागबाट ढुंगा खसेपछि असफल भएको दोभान प्रहरी चौकीका प्रमुख सोमबहादुर सारुले बताए । उनका अनुसार सडकमा भएको पहिरो पन्छाउँदै सिद्धबाबा मन्दिर नजिक पुगेपनि वर्षा नरोकिएको र ढुंगा खस्ने क्रमसमेत बढेकाले काम गर्न सकिएको छैन ।

'पानी पर्न अझै रोकिएको छैन । सडक अवरुद्ध भएपछि पहाडी भेगबाट तराई झर्ने र तराईबाट पहाडका विभिन्न जिल्लामा जाने सवारी साधन रोकिएको छ,' स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।

उनका अनुसार एम्बुलेन्स, साना सवारी साधन र पोखराबाट बुटवल हिँडेका सार्वजनिक सवारी साधनसमेत रोकिएका छन् । झुम्सा, २४ माइल, पानीमिल, हिउँदेखोला लगायतका स्थानमा भने राजमार्ग एकतर्फी सञ्चालनमा छ ।

प्रकाशित : श्रावण २, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक आइतबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । आइतबार आइतबार दिउँसो २  बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दलको बैठक बस्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

पुन:स्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

नेकपा (माओवादी केन्द्र) ले पनि आइतबार बिहानका लागि संसदीय दलको बैठक बोलाएको छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको छ । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।

प्रकाशित : श्रावण २, २०७८ १६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×