कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जथाभावी चुनढुंगा उत्खननले पहिरो

वर्षासँगै डाँडै खस्लाजस्तो गरी जमिन चिरा, ४५ घर जोखिममा
माधव अर्याल

पाल्पा — हालै सिद्धार्थ राजमार्गको हिउँदे खोलामा खसेको पहिरोमा तीन जनाले ज्यान गुमाए । पाँच घर बगायो । पहिरोले पुरेर केही घाइते भए । कतिपयले पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाए । तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा थप ६ घर पहिरोको जोखिममा छन् । माथिल्लो भागमा डोलोमाइट चुनढुंगा प्रालिले डाँडाक्षेत्रमा खानी सञ्चालन गरेको छ । खानीकै कारण यस वर्ष यहाँ विपद् निम्तिएको हो ।

जथाभावी चुनढुंगा उत्खननले पहिरो

तिनाउ–५ का वडाध्यक्ष दलबहादुर दर्लामीका अनुसार हिउँदे खोला र गिट्टीखानीको बीच क्षेत्रको खोल्सी धेरै माथिबाट बग्छ । तर, यस क्षेत्रमा अन्य समयमा पानी नै बग्दैन । सुक्खा रहने भएकाले यति ठूलो बाढी आउने र पहिरो खस्ने कल्पना गरिएको थिएन । पहिरो भन्दा केही माथि डोलोमाइटले खानी सञ्चालन गरेको छ । पहिरोले चुनढुंगा खानीका डेबरेज (काम नलाग्ने ढुंगा–माटो) मात्र होइन, निकासी गर्ने खालका चुनढुंगा नै बगाएर ल्याएको छ । ‘खानीक्षेत्रका कारण पनि हुन सक्छ,’ वडाध्यक्ष दर्लामीले भने, ‘कतै पानी रोकिएर एकैपटक भेल आएर पनि यति ठूलो पहिरो खसेको हुन सक्छ ।’ राजमार्गको छेउसम्म ठूलठूला ढुंगा बगाएर ल्याएको छ । चुनढुंगाका डेबरेज पनि प्रशस्त छ । चुनढुंगा उत्खनन गर्दा डेबरेजहरू जथाभावी फालिन्छ । त्यसलाई भेलले बगाएर कतै अड्किएर ताल बनेको र एकैपटक डेबरेजसहित पानीको भेल आएर ठूलो नोक्सानी गरेको हुन सक्ने वडाध्यक्ष दर्लामीले बताए ।

माथिल्लो भेगमा सञ्चालन भएको चुनढुंगा खानीकै कारण राजमार्गकै छेउमा पर्ने पानी मिल, झुम्सा क्षेत्रका ४५ घर पनि जोखिममा छन् । माथिल्लो भागमा डाँडा चर्केर भासिएको छ । कहिले कतिबेला विपद् निम्तिने हो भन्ने स्थानीयमा त्रास छ । स्थानीयका अनुसार जथाभावी उत्खनन भइरहेका चुनढुंगा खानी उद्योगले यहाँका बस्ती जोखिममा पारेको छ । खानी उद्योगकै कारण सिद्धार्थ राजमार्गका कतिपय स्थान धरापमा परेका छन् । पानीमिल र झुम्साको बीचमा ५० मिटर सडक भासिएर एकतर्फी छ । तिनाउ खोलासम्म पुग्ने जोखिम दिनदिनै बढेको छ । यसरी जोखिम बढे पनि सरोकारवाला निकाय कसैको ध्यान पुगेको छैन । खानीबाट बगेर आउने डेबरेजका कारण हिउँदे खोलादेखि २४ माइलको बीचमा सडक बिग्रिएको छ । ‘चुनढुंगा उत्खनन गर्दा राज्यले केही मात्रामा रोयल्टी उठाएको छ,’ तिनाउ–३ का वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले भने, ‘तर, विकाससँगै विनाश भने निम्तिएको छ । पहिरोकै कारण झुम्सा, पानीमिल क्षेत्रका मात्र ४५ घर जोखिममा परेका छन् ।’

सिद्धार्थ मिनरल्स र कञ्चन क्वारिज प्रालि झुम्सा र पानीमिलदेखि केही माथि चुनढुंगा खानी उद्योग सञ्चालनमा छन् । सात किलोमिटर माथिल्लो भागमा सञ्चालन भएको उद्योगले जथाभावी डेबरेज फाल्दा तल्लो भागमा समस्या निम्तिएको हो । ‘सडक हरेक वर्ष भासिने क्रम रोकिएको छैन,’ झुम्साका स्थानीय दीपक बजगार्इंले भने, ‘यसपटक पनि उस्तै जोखिम बढेको छ ।’ उनका अनुसार वर्षा लागेपछि डाँडै खस्लाजस्तो जमिन चिराचिरा पर्ने, ढुंगामाटोसहितको पहिरो खस्ने र सडक भासिन सुरु भएको छ । ढुंगा–माटोसहितको लेदो झुम्सा र पानीमिलको नजिक पनि बाढीले ल्याएको छ । पानीमिल नजिकै खोल्सामा पनि ठूला ढुंगासहितको लेदो थुप्रिएको छ । एउटा एम्बुलेन्स, दुई बसलाई सामान्य क्षति पुगेको छ ।

तिनाउ गाउँपालिकाका तीनवटा खानी उद्योग राजमार्गको माथिल्लो भागमा छन् । उद्योगमा जाने सडक र चुनढुंगा उद्योगले जथाभावी फाल्ने डेबरेजकै कारण तल्लो भागमा बसोवास गर्ने स्थानीयमा समस्या निम्तिएको हो । खेतमा सिँचाइ गर्न समस्या छ । पानीका मूल सुक्न थालेका छन् । क्षमताभन्दा बढी भार बोकेर पानी पर्दासमेत चुनढुंगा ओसारपसार गर्दा सडक भासिने गरेको स्थानीयको गुनासो छ । दुई वर्षदेखि राजमार्गको झुम्सा, हिउँदे खोला, पानीमिललगायत स्थानमा सडकको माथिल्लो भागबाट डाँडै भासिएको छ । राजमार्गलाई नै असर गर्ने गरी डेबरेज बगाएर ल्याउन थालेको छ ।

विगत १४ वर्षदेखि सञ्चालित खानीबाट समस्या थपिने क्रम बढेको छ । खानी सञ्चालन भएको तल्लो भागमा कमलो र चुरे क्षेत्रको जमिन छ । माथिल्लो भागको दबाब थेग्न नसकेजस्तो गरी छियाछिया परेर जमिन भासिएको छ । सिद्धार्थ मिनरल्स प्रालिको चुनढुंगा उद्योग श्रीडाँडा जानेतर्फ एउटा पहिरो सय मिटर चौडा रहेको छ । यसले तल्लो र माथिल्लो भागमा ३३ घर जोखिममा छन् । जथाभावी उत्खनन हुँदा कल्पनै नगरेको स्थानमा पहिरो खसेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

तिनाउकै दोभानदेखि कचल जाने सडकको दोभान क्षेत्रका विभिन्न स्थानमा सडक भासिएको छ । तल्लो भागमा खोलाले कटान गरेको छ भने माथिल्लो भागमा अत्यधिक भारबहन र वर्षायाममा समेत चल्ने ट्रिपरका कारण सडक भासिएको हो । चुरे क्षेत्र पर्ने भए पनि जथाभावी सडक खन्ने र जहिलेसुकै ट्रिपर सञ्चालनले समस्या निम्तिएको स्थानीयले बताए । ‘बिस्तारै असर देखिन थालेको भएर नागरिकले गुनासो गर्न थालेका छन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘वातावरणमा असर गरेको मात्र छैन, जीवनस्तरमा प्रभाव पारेको गुनासो सम्बोधन गर्न जरुरी छ ।’

प्रकाशित : श्रावण २, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?