पाल्पामा पहिरोले एक्स्काभेटर र ट्याक्टर पुरिए : एकको मृत्यु, एक घाइते

माधव अर्याल

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याम झ्याङ्लामा पहिरोले दुइटा एक्स्काभेटर र एउटा ट्याक्टर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

पाल्पामा पहिरोले एक्स्काभेटर र ट्याक्टर पुरिए : एकको मृत्यु, एक घाइते

पहिरोमा पुरिएर बर्दियाको बाँसगढी नगरपालिका–३, घरभई तानसेन नगरपालिका–८, डुम्रेमा अस्थायी बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुनको मृत्यु भएको छ । पुन लु ४ त ६६२९ नम्बरको ट्याक्टरका सहयोगी हुन् । लु १ क २४९६ नम्बरको एक्स्काभेटर चालक रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरका सरोज बुढा घाइते भएका छन् ।

गम्भीर घाइते भएका पुन र बुढालाई लुम्बिनी मेडिकल कलेज लगिएकामा बिहान ३ बजे पुनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शुक्रबार मध्यरातमा कच्ची सडकमा हिलोमा फसेको ट्याक्टर निकाल्न गएका दुइटा एक्स्काभेटरसमेत पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट कच्चीसडक होलीघाटतर्फ ढुंगा लोड गरी गएको लु ४ त ६६२९ नम्बरको ट्याक्टर पहिरो खसेको हिलोमा फसेको थियो । सोही ट्याक्टर निकाल्न लु १ क २४९६ र लु १ क २४९७ नम्बरको एक्स्काभेटर गएका थिए । प्रहरी चौकी प्रभासका अनुसार तीनवटै सवारी साधन पहिरोमा पुरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर सौजन्य : प्रहरी चौकी प्रभास

प्रकाशित : श्रावण २, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?