करोडौं खर्चेर बुद्ध मूर्ति

झन्डै ८७ करोड खर्चेर बुटवलमा ३५ मिटर अग्लो मूर्तिसहितको पार्क बनाइँदै
सन्जु पौडेल

लुम्बिनी — गौतम बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बुद्ध मूर्ति स्थापना गर्ने लहर सुरु भएको छ । केही समयअघि तिलोत्तमा नगरपालिका र सिद्धार्थ नगरपालिकाले सडकको ‘डिभाइडर’ मा बुद्धका मूर्ति स्थापना गर्ने अभियान थालेका थिए ।

करोडौं खर्चेर बुद्ध मूर्ति

हालसम्म २० लाख रुपैयाँ खर्चेर ६० भन्दा बढी बुद्ध मूर्ति राखिसकेका छन् । सोही क्रममा अहिले बुटवल उपमहानगरपालिकाले पनि करोडौं खर्च गरी बुद्ध मूर्ति स्थापना गर्ने भएको हो ।

बुटवल उपमहानगरभित्रका अधिकांश सडकमा सयौं खाल्डाखुल्डी छन् । ठूलो पानी आउँदा तिनाउ नदी किनारका बस्ती डुबानमा पर्छन् । उपमहानगर भने अहिले करोडौं खर्च गरी बुद्धको मूर्ति बनाउन अघि सरेको छ । उपमहानगरको योजनाअनुसार बुटवल–६, ७ र ८ वडाको सीमामा ३५ मिटर अग्लो बुद्ध मूर्ति स्थापना हुनेछ ।

समृद्धिको आधार पर्यटन क्षेत्रसमेत भएकाले बुद्धको प्रतिमा स्थापना त्यसकै एक आधार रहेको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए । ‘उक्त प्रतिमा लुम्बिनीदेखि प्रस्ट देखिनेछ,’ उनले भने, ‘पुरातात्त्विक महत्त्व र गरिमालाई कायम गर्न बुद्धका प्रतिमा कहीं पनि आफूखुसी निर्माण गर्न र राख्न नपाइने परम्परा र नियम रहेकाले यसलाई ध्यानमा राखी बौद्ध मान्यताअनुसारका सबै प्रक्रिया पूरा गरी प्रतिमा तयार गर्न थालिएको हो ।’ बुटवललाई बुद्धावली नगर बनाई पर्यटकलाई बुद्धभूमिबारे थप जानकारी दिने उद्देश्यले बुद्ध प्रतिमा र हिल स्टेसन पार्क निर्माणको परिकल्पना अघि सारिएको उनले बताए । बुद्धावलीसँग सडक र बस्ती निर्माणको तुलना नहुने उनको भनाइ छ । उनले सडक र बस्तीको कामसमेत हरेक वर्ष बजेट निकासासहित अघि बढ्ने र बुद्धावलीले ऐतिहासिक छाप छोड्ने दाबी गरे ।

विश्वले सम्पदा व्यापारीकरण गरी विकास गरिरहेको भन्दै सुवेदीले बुद्धावलीलाई व्यापारीकरण गरी आयस्रोतको माध्यम बनाउने जनाए । उनले लुम्बिनी घुम्ने पर्यटकले सडकभरि र हिलपार्कको टुप्पोमा रहने प्रतिमा अवलोकन गरी विश्राम गर्न पाउने बताए । ‘उपमहानगरका पुस्तौंपुस्ताले सम्झने आधार केही त चाहियो भन्ने सोचलाई साकार पार्न यो कार्य उत्तम छ,’ सुवेदीले भने, ‘यो परिकल्पना पूरा गर्न उपमहानगरको बजेटले सम्भव नरहेकाले संघीय र प्रदेश सरकारका साथै बुद्धसँग सम्बन्धित संघसंस्थासँग समन्वय गरी स्रोतको सुनिश्चित गरिनेछ ।’ त्यसो हुन नसके उपमहानगरसँग भगिनी सम्बन्ध रहेको चीनको सियान सहरसँग सहयोगका लागि छलफल गरिने वा उपमहानगरको बहुवर्षीय क्रमागत योजनामा राखी बजेट विनियोजन गरेर भए पनि बुद्ध मूर्ति निर्माण गरिने उनको भनाइ छ ।

उपमहानगरको सहरी पूर्वाधार विकास महाशाखाका इन्जिनियर गौतम रौनियारका अनुसार बुद्ध मूर्तिसहितको पार्कको अनुमानित लागत ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ रुपैयाँ छ । चार ब्लक रहने पार्कको दोस्रो ब्लकमा तीनतले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइनेछ । यसको अनुमानित लागत ३ करोड ६७ लाख ३४ हजार ८ सय ७ रुपैयाँ तोकिएको छ ।

पार्कको तेस्रो ब्लकमा एकतले क्याफेटेरिया र चौथोमा एकतले शौचालय बनाइनेछ । यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र ३२ लाख ५८ हजार १ सय ८८ रुपैयाँ छ । यीबाहेक पार्कमा टेलिकम्युनिकेसन, सरसफाइ तथा ढल प्रणाली, पानी आपूर्तिलगायतका संरचना बन्नेछन्, जसको अनुमानित खर्च ४ करोड ८९ लाख १ हजार ३ सय ४७ रुपैयाँ रहेको रौनियारले बताए । ‘उक्त बजेटको व्यवस्थापनमा समस्या हुने भएकाले कन्सल्टेन्टसँग सल्लाह गरी स्टिलको बडी र इपोक्सिपेन्ट (गोल्डेन) रङ लगाई मूर्ति बनाउनेबारे छलफल भइरहेको छ,’ उनले भने । ‘बिग बुद्ध मूर्ति स्थापना’ नाम दिइएको गुरुयोजना तयार भइसकेको उनले बताए ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीर भने बुद्धका मूर्तिलाई ‘शो पिस’ बनाई व्यापारीकरण गर्ने योजना उपयुक्त नभएको ठान्छन् । वस्तुलाई बुद्धको स्वरूप मानी पूजा गर्ने पाटो राम्रो भए पनि शो पिस बनाई सडकमा वा कुनै स्थानमा स्थापना गर्नुले बुद्धलाई सम्मान गरेको नठहर्ने उनको भनाइ छ । ‘बुद्धको जन्मस्थललाई पहिचान दिने नाममा सडक र चोकमा मूर्ति राखेर हुँदैन,’ उनले भने, ‘उहाँले दिएको शिक्षालाई जनमानसमा पुर्‍याई शान्ति क्षेत्र निर्माणमा लाग्नुपर्छ ।’ बुद्ध जन्मस्थलको पहिचान आन्तरिक तथा बाह्य पर्यटकलाई होस् भन्ने सन्देश दिन सडकमा बुद्ध मूर्ति स्थापना गरिएको तिलोत्तमा नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । बुद्ध मूर्तिले सकारात्मक सन्देश दिनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सघाउने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?