१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बजेट फेल गराउने लुम्बिनीका विपक्षी गठबन्धनको निर्णय

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारको आगामी आव २०७८/७९ को बजेटको विपक्षमा मतदान गर्ने विपक्षी गठबन्धनले निर्णय गरेका छन् । प्रदेश सभा बैठकमा मन्त्रीहरुले जवाफ दिनेक्रम सकिएको छ । बजेट आजै निर्णयार्थ पेस हुँदैछ । 

बजेट फेल गराउने लुम्बिनीका विपक्षी गठबन्धनको निर्णय

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । ८३ सदस्यीय प्रदेश सभामा अहिले नेकपा (एमाले)को पक्षमा तीन जना जसपाको महन्थ ठाकुर पक्षकासहित ४१ र विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन् । एमालेको सूर्य चिन्ह लिएर नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (२)बाट निर्वाचित (हृदयेश त्रिपाठी) समूहका अजय शाही बिरामी परेको भन्दै अनुपस्थित भएपछि सरकारको बजेट पास नहुने भएको हो ।

सत्ता पक्षले लामो समयदेखि सहमतिमै बजेट पारित गर्ने प्रयास गरेपनि अन्तिम समयमा आएर सरकार पक्षको प्रयास सफल हुन नसकेको हो । स्वतन्त्र समूहबाट निर्वाचित शाही यसअघि मन्त्री बन्न नपाएपछि असन्तुष्ट बनेका थिए । प्रदेश सभा बैठकमा बजेट माथिको छलफल सकिएर अहिले सरकारका मन्त्रीहरुले जवाफ दिइरहेका छन् । मन्त्रीहरुको जवाफ सकिएपछि मुख्यमन्त्रीले सम्बोधन गर्नेछन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बजेटको आर्थिक वर्ष ०७८/७९ को सेवा र सर्तका लागि लुम्बिनी प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ‘विनियोजन’ विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्ने कार्य सूची छ ।

सरकारका दुवै विधेयक निर्णयार्थ पेस हुँदा गठबन्धनका सबै प्रदेश सभा सदस्यले विपक्षमा मतदान गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए । जसपाको उपेन्द्र यादव पक्षले प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीप नै जारी गरेको छ । त्यस्तै माओवादी केन्द्रले पनि विपक्षमा मतदान गर्ने निर्णय गरेकाले बजेट फेल हुने माओवादी केन्द्रका नेता एवं निवर्तमान मन्त्री सुदर्शन बरालले बताए ।

प्रकाशित : असार ३१, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?