स्वयंसेविकालाई साइकलले सहज

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुर बडीमज्जित टोलकी प्रमिन अन्सारीले स्वयंसेविका भएर काम गर्न थालेको आठ वर्ष भयो । उनले वडाका नौवटै टोलमा सेवा दिइरहेकी छन् । रातबिरात नभनी सेवामा तल्लीन हुन्छिन् । रातिको समयमा पनि हिँड्नु पर्दा निकै गाह्रो थियो ।

स्वयंसेविकालाई साइकलले सहज

वडाले साइकल दिएपछि स्वयंसेविकालाई काम गर्न सहज मात्र भएको छैन, काम छिटो अनि छरितो पनि हुन थालेको उनले बताइन् । ‘वडाले साइकल दिएर स्वयंसेविकालाई सजिलो बनाइदियो,’ उनले भनिन्, ‘हिँडेर सबैका घर पुग्न सकिँदैन, साइकलले सजिलो बनाएको छ ।’

१५ वर्षअघि जन्डिस भएर पतिको मृत्यु भएपछि अन्सारी दुई छोराका साथ माइतीमा बस्दै आएकी छन् । आफैंले बालविवाह गरेकी प्रमिनलाई छिटो बच्चा जन्माउँदा हुने बेफाइदाबारे राम्रो ज्ञान छ । त्यसैले उनी आफ्नो टोलमा महिला स्वास्थ्य सुरक्षामा लागिपरेकी हुन् ।

प्रमिन मात्र होइन, उनीजस्तै जयसपुर स्वास्थ्य चौकीमा कार्यरत ११ स्वयंसेविकालाई साइकलले जनताको घरदैलोमा पुगेर सेवा दिन सहज भएको छ । जयसपुरकी कबाडियन टोलकी साल्मा बेगमले पाँच वर्षदेखि स्वयंसेविका भएर सेवा गरिरहेकी छन् । अहिले साइकल पाएकाले उनलाई सबैको घरदैलोमा पुग्न सहज भएको छ । भनेको बेला समुदायमा पुग्न सक्छिन् । ४६ वर्षीया साल्मा चार छोरीकी आमा हुन् । दुई छोरीको विवाह भइसकेको छ । अविवाहितमध्ये एउटी छोरी अपांगता भएकी छन् । छोरीलाई घरमा राखेर उनी समुदायको सेवामा लागिरहेकी छन् । ‘कहिलेकाहीं त खाना खान पनि फुर्सद हुँदैन,’ उनले भनिन्, ‘समुदायको काम गर्दा आफ्ना समस्या सामान्य लाग्दा रहेछन् ।’

भन्सार टोलकी स्वयंसेविका श्यामकुमारी आर्यले वडाले साइकल दिएर ठूलो गुन लगाएको बताइन् । उनले आफ्नो टोलका ७५ घरधुरीलाई स्वास्थ्य परामर्श दिने गर्छिन् । ३५ वर्षीया आर्य आफूले साइकल चलाउन नजाने पनि पति अनि छोरीले साइकलमा राखेर कार्यस्थलमा लैजाने गरेको बताइन् । नौ वर्षदेखि स्वयंसेविकाको काम गर्दै आइरहेकी उनले यो सेवा समुदायलाई बुझ्ने माध्यम बनेको बताइन् । ‘पहिलाको तुलनामा चेतनाको स्तरमा निकै सुधार आएको छ । पहिला पहिला समुदायमा काम गर्न निकै गाह्रो थियो, कुरा बुझाउँदा बुझ्ने कम हुन्थे,’ उनले भनिन्, ‘अहिले बिस्तारै परिवर्तन आएको छ । स्वास्थ्यका कामहरूमा समुदायको सहभागिता बढेको छ ।’

तीन महिनाअघि नेपालगन्ज उपमहानगरपालिका–१६ ले जयसपुर स्वास्थ्य चौकीमामा कार्यरत ११ महिला स्वयंसेविकालाई साइकल वितरण गरेको थियो । त्यसयता स्वयंसेविकालाई समुदायमा पुगेर काम गर्न सहज भएको उनीहरूले बताए । ‘स्वयंसेविकाको संघर्ष देखेर वडाबाट साइकल उपलब्ध गराएका हौं,’ वडाध्यक्ष हनिफ जोलाहले भने, ‘उनीहरूका लागि थप सशक्तीकरणका कार्यक्रम पनि ल्याउँदै छौं ।’

जयसपुर स्वास्थ्य चौकीका ११ जना स्वयंसेविकाले वडाका १२ सय घरधुरीलाई स्वास्थ्य सेवा दिइरहेका छन् । मुस्लिम समुदायको बाहुल्य रहेको जयसपुरमा भाषाका कारण धेरैजसो महिला स्वास्थ्य केन्द्रमा निर्धक्क आफ्ना कुरा राख्न सक्दैनन् । जसले गर्दा वडामा रहेका स्वयंसेविका उनीहरूका समस्या स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने मात्र होइन, समस्या समाधान गर्न पनि मद्दत पुर्‍याउँछन् ।

प्रकाशित : असार ३१, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?