उपमहानगरकै बस्तीमा छैन पूर्वाधार

सन्जु पौडेल

लुम्बिनी — चारपाला सामुदायिक वनभित्रको गोरेटो बाटो छिचोलेपछि बुटवल उपमहानगरपालिका–१२ को ज्यामिरे गाउँ पुगिन्छ । वनभित्रको यस गाउँबारे कमैलाई जानकारी छ ।

उपमहानगरकै बस्तीमा छैन पूर्वाधार

चारपाला सामुदायिक वनभित्रको गोरेटो बाटो छिचोलेपछि बुटवल उपमहानगरपालिका–१२ को ज्यामिरे गाउँ पुगिन्छ । वनभित्रको यस गाउँबारे कमैलाई जानकारी छ । बुटवलबाट पश्चिम तामनगर चोकबाट अढाइ घण्टा पैदल उत्तरतिर लागेपछि उपमहानगरपालिकाभित्रको यस बस्तीमा पुगिन्छ । २ हजार १ सय हेक्टर क्षेत्रफलमा फैलिएको वन र त्यहाँभित्र रहेको गाउँ अहिले खुम्चिएर ६ घरमा सीमित छ । ६ मध्ये दुई परिवार पनि तामनगर सरेपछि बस्तीमा अहिले चार परिवारको बसोबास छ ।

पाल्पाबाट ०३५ सालमा बसाइँ सरेर स्थानीय रनबहादुर गाहा मगरका बुबा ज्यामिरे झरेका थिए । त्यसपछि उनका तीन भाइले पनि ज्यामिरेमै घर बनाएर बसे । रनबहादुरको घर बस्तीको सिरानमा छ । ३६ वर्षीय रनबहादुरले तीन वर्षअघिसम्म मजदुरी गर्थे । अहिले त्यही काम पनि गर्न नसक्ने भएका छन् । चौपायालाई घाँस झार्न रुखमा चढ्दा लडेर देब्रे हात सुन्निएको उनले बताए । ‘हातले गह्रुंगो काम गर्न नभएपछि साह्रै चिन्ता बढ्यो,’ उनले भने, ‘अहिले कुखुरा र बाख्रा बेचेर जति आम्दानी हुन्छ, त्यसैले घरखर्च चलाइरहेको छु ।’ वर्षायाममा गाउँमा बजारतिरबाट कोही नजाने र आफूहरूसमेत बजार झर्न नपाउँदा गुजारामा धेरै समस्या पर्ने गरेको उनले बताए । गाउँमै धान कुट्ने एउटा मिल छ । उक्त मिल चलाउने प्राविधिकको जिम्मासमेत पाएका गाहाले हातकै कारण उक्त काम समेत छोडेको र अहिले बेरोजगार बनेको सुनाए । रनबहादुरका एक छोरा र एक छोरी छन् ।


रनबहादुरकी १२ वर्षीया छोरी रोशनी र ९ वर्षीय छोरा खेमबहादुर झन्डै अढाइ घण्टाको बाटो हिंडेर विद्यालय पुग्छन् । तामनगरस्थित सरस्वती माविमा पढ्ने दुवै जनाको दैनिक ४ घण्टा विद्यालय आउँदा जाँदामै बित्छ । कक्षा ३ मा अध्ययनरत खेमको ६ महिना हुँदा आगोले पोलेर एउटा खुट्टाको घुँडादेखि तल्लो भाग जलेको छ । ‘हिंड्न मिल्ने भए पनि साह्रै दुख्छ,’ उनले भने, ‘बल्लबल्ल हिँडेर विद्यालय जाने र आउने गर्छु ।’ विद्यालय पुग्दा कहिलेकाहीं अबेर हुने, फर्कंदा साँझ पर्ने गरेको उनले बताए । कोरोना महामारीले विद्यालय बन्द रहेकाले अहिले खेम घरमै खेल्ने, आमाबुबाले अह्राएको ससाना काम गर्ने गर्छन् ।

खेमकी दिदी रोशनी भने अपरिचितसँग त्यति बोल्दिनन् । गाउँमा आफूसँगका कोही साथी नभएका कारण पनि उनी एक्लै बस्ने, रमाउने गर्छिन् । स्कुल नहुँदा बाख्रा र गोरु चराउने जिम्मा रोशनीको हुन्छ । कक्षा ६ मा पढ्ने उनलाई विद्यालय पुग्दा कहाँदेखि आउँछ्यौ भन्ने साथीको प्रश्नको जवाफ दिंदासमेत वाक्क लाग्न थालेको छ । साथी र उनी एकअर्काको घर जाने, सँगै पढ्ने वातावरण घरको दूरीले नराखिदिएपछि खेल्ने र गफ गर्ने कोही साथी नभएको उनले बताइन् । वनको बाटो हिंडेर स्कुल ओहोरदोहोर गर्दा कहिलेकाहीं अपरिचित मानिस देखिने र डर लाग्ने उनले बताइन् । ‘त्यस्तो बेलामा केही नसोची दौडिने र मानिसहरू भएको ठाउँमा पुगेपछि बल्ल विश्राम गर्ने गर्छु,’ उनले भनिन् । जाडो याममा उक्त सडक खण्डमा सम्साँझै डर लाग्ने भएकाले बुबाआमालाई लिन बोलाउने गरेको भन्दै उनले यति दु:खले पढ्नुपर्दा साथीहरूको तुलनामा आफू साह्रै गरिब भएको र जीवनभरि यस्तै दु:ख भोग्नुपर्ने हो कि भन्ने चिन्ता लाग्ने बताइन् ।

रनबहादुरको घरदेखि केही तल छ, सुमित्रा गाहा मगरको घर । ४२ वर्षीया उनले ०६३ सालमा श्रीमान् गुमाएपछि पहिलेको भन्दा धेरै संघर्ष गरेर छोराछोरी हुर्काएको र पढाएको सुनाइन् । रुखबाट लडेर श्रीमान्को मृत्यु भएपछि झनै दु:ख भोग्नुपरेको भन्दै उनले दुर्गममा बसेपछि केही कुराको सुविधा र सहजै घरबाहिरको काम गर्ने वातावरण नरहेको सुनाइन् । ‘पहिले रक्सी पारेर घरखर्च चलाई बाबुनानीलाई पढाएँ,’ उनले भनिन्, ‘रातभरि रक्सी बनाउने, बिहानै तल झरेर बजारमा बिक्री गर्ने दिन सम्झिँदा आँसु नरोकिने उनको दुखेसो छ । चप्पल चुँडेर सडकमा रगताम्य खुट्टा बनाएर हिँडेको, दिनकै बजार आउँदा पनि मासिक १० हजार रुपैयाँसम्म कमाउन धौधौ परेको भन्दै सुमित्राले जसोतसो पाँच सन्तानलाई १० पास गराएको बताइन् । अहिले जेठा र माइला छोरा खाडी मुलुकमा कमाउन गएका छन् । जेठी बुहारी बुटवलको चरंगेमा बस्ने र छोरा पढाउने गर्छिन् । माइलो छोराले बिहे गरेका छैनन् । कान्छा छोरा र बुहारी सुमित्रासँगै छन् भने ठूली छोरीको विवाह भएको र कान्छी तामनगर सानीमासँग बसेर कक्षा ११ मा पढिरहेकी छन् ।

सुमित्राले ससुराबुबाकै पालामा पाएको ४ कट्ठा खेतमा धान र तोरी लगाउने गर्छिन् । त्यसले तीन महिना पनि खान नपुग्ने भन्दै उनले सबै कुरा किन्नुपर्दा अप्ठ्यारो पर्ने गरेको सुनाइन् । ‘छोराहरूकै कमाइ धेरै छैन,’ उनले भनिन्, ‘जेठोले सन्तान पढाउनै पुग्दैन, माइलाको अलिअलि आउँथ्यो, त्यही पनि आफैं बिरामी भएर अहिले पठाउन सकेको छैन ।’ जेठी छोरीले आफैँ मन पराएर विवाह गरेकाले खर्च नलागे पनि पढ्दै गरेकी कान्छी छोरी दीपाको भविष्यबारे सुमित्रा चिन्ता गर्छिन् । ‘अरुले १० पास गरेर पढ्दापढ्दै छोडे,’ उनले भनिन्, ‘कान्छी पढ्न मन गर्ने भएकाले उसको पढाइका लागि कसरी खर्च व्यवस्थापन गर्ने भन्ने सोचले हैरान पार्छ ।’

सुमित्राले आफू ०४९ सालमा विवाह भएर आएदेखि ज्यामिरे गाउँमा खासै ठूलो परिवर्तन केही भएको नदेखेकाले आफूहरूका लागि सरकार, जनप्रतिनिधि र समाजसेवी कोही नभएको महसुस हुने बताइन् । ‘मत मागुन्जेल सबैका भाषण सुनियो,’ उनले भनिन्, ‘अहिलेसम्म पिउने पानी र बिजलीबत्ती पुगेको छैन । मोबाइल चार्ज गर्न पनि बजार झर्नु पर्छ ।’ घरमा रहेको सोलार प्यानलले बत्ती मात्रै बल्ने भएकाले प्रविधिको प्रयोग गर्न पनि समस्या पर्ने उनको भनाइ छ ।

पाल्पा माइती भएकी उनलाई लामो सडक पार गरेर हिंड्न त्यति मन लाग्दैन । पहिले पहिले काम गरेको भएर होला, शरीर एकैछिनमा थाक्ने उनले बताइन् । ‘अब त केही काम गर्नै नसक्ने भइछु,’ सुमित्राले लामो श्वास फेर्दै भनिन्, ‘अब त छोराछोरी हुर्किएका छन्, पालिन्छन् ।’

सुमित्राकी कान्छी छोरी दीपाले आफ्नो घर डाँडामा छ भनेर साथीहरूलाई भन्दा हाँस्ने, मजाक उडाउने र जिस्काउने गरेको बताइन् । ‘घर बसे पढ्न जान सकिन्न,’ उनले भनिन्, ‘दिउँसो चोर लागेर बाटोमा हिंड्न डर हुन्छ । त्यसैले सानिमाकहाँ बसेर पढ्छु ।’ वर्षायाममा मानिसको चहलपहल नदेखिए पनि हिउँदमा खोलामा आउने र जंगलमा सागपात र दाउरा खोज्न आउने मान्छे प्रशस्तै भेटिने उनले बताइन् । दुई महिनाअगाडि दीपा र उनकी भाउजू घरदेखि बजार आउने क्रममा वनमा दुई जना अपरिचित व्यक्तिले पिछा गरी लगाएका केही गहना, पैसा र मोबाइल लुटेपछि दीपा अहिले बिरलै मात्र घर जाने गरेकी छन् ।

‘गाउँमा कहिल्यै नदेखेका मानिसले लुटेर भागे,’ उनले भनिन्, ‘पछि गाउँमा काम गर्ने भन्दै आउँदा चिनेर समातियो । तर, सबै गहना र पैसा पाइएन ।’ वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले अहिले गाउँ जाने साढे ४ सय मिटर सडक ग्राभेल गरी सम्याउने काम भइरहेको बताए । आगामी वर्ष खोलामा फलामे पुल र सडक स्तरोन्नति गरिने भन्दै गाउँका चार घरपरिवारलाई स्थानान्तरण गर्दा राम्रो होला कि भन्नेबारे छलफल भइरहेको बताए ।

प्रकाशित : असार ३०, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?