२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

फोहोर बेचेर मोहर

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–१४, बसपार्कका मोहन खड्काले त्यत्तिकै फाल्दै आएको फोहोरबाट शुक्रबार मोहर कमाए । सधैं फोहोर मात्र उठाउन आउने घोराही उपमहानगरपालिकाको गाडी यसपटक पैसा पनि दिएर गयो ।

फोहोर बेचेर मोहर

उनले ३० किलो प्लास्टिक बोतल बेचेर ३ सय रुपैयाँ कमाए । पहिलोपटक फोहोर बेचेर पैसा कमाउँदा उनी दंग थिए । ‘मैले बसपार्कमा पाँच वर्षदेखि होटल गरिरहेको छु । अहिलेसम्म फोहोर त्यत्तिकै फाल्दै आएका थियौं,’ उनले भने, ‘पहिलोपटक फोहोर बेचेर पैसा कमाइयो ।

फोहोर बेचेको पैसाले छोराछोरीलाई कापी–कलम किन्न हुन्छ ।’ घोराही–१४ कै दिलबहादुर पुनले पनि पहिलोपटक फोहोर बेचेर पैसा कमाएको बताए । १० किलो कागजको गत्ता बेचेर १ सय रुपैयाँ पाए । फोहोरबाट पैसा पाउँदा उनलाई पनि अचम्म लागिरहेको छ । ‘फोहोर बेचेर पैसा पाइन्छ भन्ने लागेको थिएन । पहिले गाडी फोहोर मात्र लिएर जान्थ्यो, अहिले पैसा पनि दिएर जान थालेको छ,’ उनले भने, ‘खेर गएको फोहोरबाट समेत पैसा पाउँदा हामीलाई साह्रै खुसी लागेको छ ।’

फोहोरलाई मोहरमा बदल्ने योजना अनुसार नगरबासीले फालेका फोहोर किन्न थालिएको उपमहानगरका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले बताए । उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियान चलाएर घरघरबाट नगल्ने फोहोरलाई खरिद गरी पुनः प्रयोगमा ल्याउने तयारी थालेको उनले बताए ।

प्लास्टिक, गत्ता, कपडालगायतका फोहोर खरिद गरिरहेको र अहिलेसम्म २० हजार रुपैयाँको खरिद भइसकेको उनले जानकारी दिए । फोहोर किन्न ६ लाख रुपैयाँ विनियोजन गरेको अधिकारीले बताए । पानीका खालि बोतल १० रुपैयाँ, सुर्तीजन्य वस्तुका खोल २ रुपैयाँ, कपडाका टुक्रा ५ रुपैयाँ र गत्ता तथा कार्टुनलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेको उनले बताए । उनका अनुसार नगरमा दैनिक १० वटा गाडीले २५ टन फोहोर उठाउने गरेका छन् ।

गल्ने फोहोरबाट मल र ग्यास बनाउने काम भइरहेको र नगल्ने फोहोर किनेर प्रशोधनपछि पुनः प्रयोग गर्ने तयारी भइरहेको घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीले बताए । ‘गल्ने र नगल्ने फोहोरलाई मोहरमा बदल्ने काम गरिरहेका छौं । यसले पूर्ण सरसफाइयुक्त नगर बनाउन सहयोग पुर्‍याउनेछ,’ उनले भने, ‘अब सडकमा फोहोर हुने छैन । फोहोर दिएर पैसा लैजान सकिन्छ ।’ फोहोर खरिद गर्ने अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले तीन जनालाई सरसफाइ स्वयंसेवक नियुक्त गरेको छ । उनीहरूले फोहोर तौलने र किन्ने काम गर्छन् । घोराही–१६ करौतीडाँडाको गरुवागाउँस्थित तीन बिघा जमिनमा फोहोरबाट खाना पकाउने ग्यास उत्पादनको तयारी थालिएको छ । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीच ०७५ मंसिर ५ गते त्रिपक्षीय सम्झौता गरी फोहोरबाट ग्यास उत्पादन गर्ने काम सुरु गरिएको थियो ।

भौतिक पूर्वाधार निर्माण गरी अहिले मेसिन जडानको कामसमेत सकिएको नगर प्रमुख नरुलाल चौधरीले बताए । अब पाइपलाइनमार्फत १ हजार ६ सय घरमा खाना पकाउने ग्यास वितरण गर्ने योजना बनाएको उनले जानकारी दिए । घरघरमा पाइपमार्फत ग्यास जोड्ने र मिटर चले अनुसार रकम बुझाउने व्यवस्था गरिएको उनले बताए । प्लान्ट सञ्चालनका लागि दैनिक ३० मेट्रिक टन गल्ने फोहोर आवश्यक पर्ने उनले बताए ।

पाइपलाइन बाहेक २० करोड रुपैयाँमा संरचना बनाउने गरी आयोजना सञ्चालन गरिएको छ । ग्यास उत्पादन भइसकेपछि दैनिक ७ हजार ४ सय किलो प्रांगारिक मलसमेत उत्पादन गर्ने लक्ष्य लिइएको छ । उक्त मललाई प्याकेजिङ गरेर बिक्री गर्ने योजना रहेको चौधरीले बताए ।

प्रकाशित : असार २८, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?