कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लापरबाहीले बढ्यो संक्रमण

पाल्पामा तीन दिनमा २ सय २७ संक्रमित
स्थानीय तहमा तालिम, गोष्ठी गरेर भीडभाड
माधव अर्याल

पाल्पा — जिल्ला संकट व्यवस्थापन समितिले दुई सातायता निषेधाज्ञा खुकुलो बनाएको छ । यसको असर भने कोरोना संक्रमणमा देखिएको छ । यहाँ तीन दिनमा २ सय २७ जना संक्रमित थपिएका छन् । गाउँमा यसको बढी प्रभाव परेको छ । सदरमुकाममै पनि संक्रमण बढेको छ । 

लापरबाहीले बढ्यो संक्रमण

निषेधाज्ञा खुला भएसँगै नागरिकको लापरबाहीले संक्रमितको संख्या पुनः बढेको हो । पछिल्ला दिनमा समुदायमा फैलिने क्रम पनि बढेको छ । सार्वजनिक स्थलमा भीडभाड, मेलापातमा स्वास्थ्य मापदण्ड पालना नगरिनु, गाउँघरमा भेला, रोपाइँ, खेतबारीमा हिँडडुल गर्दा मास्कको प्रयोग कम भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको निर्णयविपरीत कतिपय स्थानीय तहले तालिम, गोष्ठी नै गरेर भीडभाड जम्मा गरेका छन् । स्थानीय तहमा फर्स्योटका लागि आउने नागरिकको संख्या पनि बढेसँगै कोरोना संक्रमण जोखिम पनि बढेको स्थानीय तहका जनप्रतिनिधिले बताए ।

भौतिक दूरी कायम गर्न छाडेका छन् । सवारीसाधनमा कोचिएरै यात्रा गर्ने गर्छन् । मास्कको प्रयोगमा कमी आएको छ । ‘नागरिकलाई जति सम्झाए पनि सम्झिन्नन् अनि कोरोना संक्रमण दर बढ्ने नै भयो,’ निस्दी गाउँपालिका–७ ज्यामिरेका वडाध्यक्ष गगनसिंह सोतीले भने, ‘यसरी समुदायमा संक्रमण घट्नै सकेको छैन ।’ गाउँमा लक्षणसहितका बिरामी बढेका छन् । तर, उनीहरूले जाँच गर्न भने मान्दैनन् । रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनील अधिकारीका अनुसार ठिमुरेको दुईवटा टोलमा एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ख्याहा गरिएको एन्टिजेनमा एकै दिनमा २४ जनामा देखियो । गाउँपालिकामै गर्दासमेत तीन जनामा देखिएको छ । १ सय ७७ जनामा एन्टिजेन गर्दा ७७ जनामा पोजिटिभ पुष्टि भएको उनले बताए । रामपुर स्वास्थ्य शाखाका अनुसार अहिले पनि एन्टिजेन गर्न आएकामध्ये ८० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

रामपुरका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार कम्तीमा ५० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तानसेनमा पनि बीचमा केही दिन घटेको संक्रमण दर पुनः बढेको स्वास्थ्य शाखा प्रमुख झवीन्द्र न्यौपानेले बताए । एन्टिजेन टोलटोलमै पुगेर गर्न सुरु भएको छ । २७ जनामा एन्टिजेन गर्दा १९ जनामा देखिएको उनले बताए । निजी सवारीसाधन भाडामा सञ्चालन गरेका छन् । सार्वजनिक पनि रिजर्भमा भीडभाड गरेरै हिँडेका छन् । मोटरसाइकलको बजारमा भीडभाड नै हुन्छ । स्थानीय तहमा सेवा लिन ठेलमठेल गर्दै हिँडेका छन् । ‘यसबाट पनि संक्रमण बढेको हुनुपर्छ,’ निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले भने, ‘असार मसान्त छ । फर्स्योटका बेलामा कसलाई के भन्नु तर संक्रमण घट्ला भन्दा झन् बढ्ने खतरा भयो ।’

जिल्ला संकट व्यवस्थापन समितिले असार ३१ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको छ । तर, दिउँसो ३ बजेसम्म बजार क्षेत्र खुला हुन्छ । ग्रामीण बजार भने बिहानैदेखि बेलुकीसम्म नै खुला हुन्छ । तरकारी पसल, खाद्यान्न, बजार क्षेत्र, यातायात, सरकारी कार्यालय पूर्ण रूपमा खुलिसकेका छन् । बजारमा भीडभाड बढेको छ । सावधानी नअपनाएपछि झन् संक्रमण बढेको हुन सक्ने पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । ‘वर्षायाममा काममा पनि जानुपर्छ,’ उनले भने, ‘अर्को कुरा मास्क लगाएर सकिँदैन भन्छन् । त्यसैले पनि समस्या भयो ।’

स्वास्थ्य कार्यालयका अनुसार सक्रिय संक्रमितको संख्या ५ सय ५४ पुगेको छ । गएको असार पहिलो साता ३ सय ५२ मा झरेको थियो । असारको अन्तिम साता आइपुग्दा पुनः बढेर आइतबार ५ सय ७६ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । ‘स्थानीय तहमा प्रशस्त एन्टिजेन पठाइएको छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले भने, ‘तर पनि लक्षण देखिएकालाई समेत परीक्षण नगरेर बसेको अवस्था छ ।’

प्रकाशित : असार २८, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?