कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

व्यवसायीले टेरेनन् स्वास्थ्य मापदण्ड

भौतिक दूरी कायम गर्ने नियम उल्लंघन
पसलमा सेनिटाइज र काउन्टरमा प्लास्टिकको बार राखिएन

कपिलवस्तु/दाङ — कपिलवस्तु नगरपालिका–१, चोक बजारका एक फेन्सी पसले मास्क नलगाई ग्राहकसँग कुराकानी गर्दै सामान बेच्दै थिए । ग्राहक पनि बिनामास्क थिए । यस्तै तौलिहवा बजारको गौढी चोकमा तरकारी बेच्न बसेकी महिलाले पनि मास्क लगाएकी थिइनन् । उनी बेपरवाह बनेर ग्राहकसँग गफिँदै तरकारी व्यापार गरिरहेकी थिइन् ।

व्यवसायीले टेरेनन् स्वास्थ्य मापदण्ड

अहिले सदरमुकाम तौलिहवा बजारका व्यवसायीहरू असुरक्षित रूपमा व्यापार व्यवसाय गरिरहेका छन् । दोस्रो चरणको कोरोना भाइरस संक्रमण उच्च रहेका बेला गत वैशाख र जेठ महिनामा तौलिहवा अस्पतालमा उपचारका लागि आएका ७९ जना बिरामीको मृत्यु भयो । बजारकै एक चल्तीका ठूला व्यवसायीको कोभिडकै कारण मृत्यु भयो । मृत्युलाई नजिकबाट देख्नेहरू पनि अहिले सुरक्षा सतर्कता अपनाउन कन्जुस्याइँ गरिरहेका छन् । हेलचेक्र्याइँ गरेर व्यापार व्यवसाय गरिरहेका छन् । व्यवसायीले मास्क नलगाउने मात्र होइन, पसलमा सेनिटाइजर पनि राखेका छैनन् । असुरक्षित संवाद र पैसा लेनदेन गरिरहेका छन् । काउन्टरमा प्लास्टिकको बार पनि लगाएका छैनन् ।

तौलिहवा बजार क्षेत्रमा मेडिकल पसलबाहेक कसैले पनि सुरक्षा सतर्कता अपनाएका छैनन् । बजारका फेन्सी, किराना, कपडा, जुत्ता चप्पल, मोबाइल, जनरल स्टोर र मिठाईलगायत पसलमा कोभिडको सतर्कता अपनाइएको छैन । व्यवसायीले ग्राहकलाई मास्क लगाउन भन्दैनन् । ग्राहक पनि मनखुसी पुग्छन् । बाटोमा कहींकतै प्रहरीलाई देख्ने अवस्था आयो भने मास्क लगाउँछन् । नभए उनीहरू पनि मनमौजी हिँड्छन् ।

तीन सातायताबाट स्थानीय प्रशासनले बजारका पसल खोल्ने समय बढाउँदै लगेको छ । अहिले अर्को सूचना नआउँदासम्म भनेर गएको मंगलबारबाट साँझ ७ बजेसम्म पसल, व्यापार व्यवसाय खोल्न दिएको छ । प्रशासनले निषेधाज्ञा बिस्तारै खुकुलो बनाउँदै लगे पनि व्यवसायीहरूले भने सुरक्षालाई बेवास्ता गरेका छन् । निषेधाज्ञामा मास्क नलगाई बजार हिँडडुल गरेको गुनासो आएपछि प्रहरीले असार पहिलो साता बजार अनुगमन गरेको थियो । १९ जनालाई पक्रेर कारबाही गरेको थियो । पहिलोपटक भएकाले दुई सय रुपैयाँ जरिवाना गरेर छाडेको प्रहरीको भनाइ छ । बजारमा मास्क नलगाई व्यापार व्यवसाय गरिरहेको र ग्राहक पनि बेपरवाह भइरहेको गुनासो आइरहेको प्रमख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । ‘गुनासो बढेको छ,’ उनले भने, ‘बजार अनुगमन गरेर कारबाही गर्छौं ।’

त्यस्तै, दाङमा निषेधाज्ञा सुरु भएदेखि नै व्यवसायीहरूले खुकुलो बनाउन माग गर्दै आए । अन्ततः दुई महिनापछि निषेधाज्ञा खुकुलो भयो । निषेधाज्ञा खुकुलो गर्दा सर्त थियो, स्वास्थ्य मापदण्ड पालना गर्ने तर अहिले बजारमा कतै पनि यसमा ध्यान पुगेको छैन । भीडभाडका बीच सामान किनमेल भइरहेको छ । व्यवसायी र ग्राहक कसैले पनि मापदण्ड पालना नगर्दा फेरि महामारी फैलिने जोखिम बढिरहेको छ । सार्वजनिक यातायात, पसल, सडक, सरकारी तथा गैरसरकारी कार्यालय सबैतिर भीडभाड छ । गाडीमा अन्य समयमा जस्तै कोचाकोच गरेर यात्रुहरू चढिरहेका छन् । जीविका चलाउनुपर्ने, घरभाडा तिर्नुपर्ने, कर तिर्नुपर्नेजस्ता समस्या देखाउँदै व्यवसायीले निरन्तर बजार खोल्न दबाब दिइरहेका थिए । स्वास्थ्य मापदण्ड अपनाएर मात्र व्यापार व्यवसाय चलाउन सबै व्यवसायीलाई अनुरोध गरिरहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । ‘व्यवसायीलाई स्वास्थ्य मापदण्ड पालना गरेर मात्र व्यवसाय गर्न आग्रह गरिरहेका छौं । ग्राहकले लापरबाही गर्दा पनि भीडभाड भइरहेको छ,’ उनले भने, ‘सर्वसाधारणलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिरहेका छौं । चेतनामूलक कार्यक्रम गरिरहेका छौं ।’

व्यवसायीलाई सुरक्षित भएर मात्र व्यवसाय गर्न सचेत पारिरहेको च्याम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले बताए । जीविका चलाउन कठिन भएका कारण व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता भए पनि लापरबाही गर्न नहुने उनले बताए । यातायात क्षेत्र पनि ठूलो घाटामा गएकाले सञ्चालनका लागि निरन्तर दबाब दिंदै आएको यातायात व्यवसासी भरतनाथ योगीले बताए । ‘हामी ऋणमा डुबिरहेका छौं । ब्याज तिर्न नसकेर सबै छटपटिइरहेका छन्,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर चलाउने भनेका छौं । यसका लागि हामीले धेरैपटक प्रशासनलाई अनुरोध पनि गर्दै आएका छौं ।’ अहिले स्वास्थ्य समस्याभन्दा जीविका चलाउने कुरा ठूलो भइसकेको उनले बताए । बजारमा दिनहुँ स्वास्थ्य मापदण्डबारे सचेतना फैलाउने गरिरहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । सबै व्यवसायीलाई स्वास्थ्यका मापदण्ड अपनाएर मात्र व्यापार, व्यवसाय गर्न अनुरोध गरिरहेको र पालना भए नभएको अनुगमन पनि भइरहेको उनले बताए ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना महामारीप्रति लापरबाही बढिरहेको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए । ‘मानिसहरू बजारमा जथाभावी हिंडिरहेका छन् । व्यापार, व्यवसाय सबैतिर भद्रगोल छ,’ उनले भने, ‘भन्दा पनि मानिसहरू टेर्दैनन् । उल्टै गाली गर्छन् ।’ मास्क नलगाई हिँडिरहेका छन् । होटल, सैलुनजस्ता संवेदनशील व्यवसाय पनि भित्रभित्रै सञ्चालन भइरहेका छन् । यस्तो लापरबाहीले फेरि संक्रमण फैलने खतरा बढिरहेको उनले बताए ।

प्रकाशित : असार २७, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?