कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्ध प्रतिमाको अनावरण

कपिलवस्तु — कनकमुनि र क्रकुछन्द बुद्ध प्रतिमाको निग्लिहवा र गोटिहवामा अनावरण गरिएको छ । प्रदेश सरकारका चार क्याबिनेट मन्त्रीसहित पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार बुद्ध प्रतिमाको अनावरण गरेका हुन् । पर्यटकीय आकर्षण थप्न प्रदेश सरकारले उनीहरूकै जन्मस्थलमा बगैंचा–पार्कसहित पूर्ण कदका बुद्ध प्रतिमा स्थापना गरेको हो ।

बुद्ध प्रतिमाको अनावरण

कपिलवस्तु नगरपालिका–११, अरौराकोटमा कनकमुनि बुद्ध र कपिलवस्तु नगरपालिका–५, गोटिहवामा क्रकुछन्द बुद्धका साढे ६ फिट अग्ला र ३० इन्च चौडाइका प्रतिमा स्थापना गरिएका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–७, करैयाका मूर्तिकार गोविन्द चौधरीले सात महिना लगाएर बनाएका पित्तलका एक मूर्तिको तौल एक क्विन्टल रहेको छ ।

थेरवादी सम्प्रदायका भिक्षु र महायानी सम्प्रदायका लामाले मंगल पाठ गरेपछि मुख्यमन्त्री पोखरेलले द्वीप प्रज्ज्वलन गरी बौद्ध परम्परा अनुसार प्रतिमा अनावरण गरेका थिए । ‘शाक्यमुनि बुद्धभन्दा अघिका बुद्धका बारेमा धेरैलाई थाहा थिएन,’ प्रदेश शिक्षामन्त्री धर्मबहादुरलाल श्रीवास्तवले भने, ‘यहाँ बनेको प्रतिमा र पार्कले उनीहरूका बारेमा जान्ने र सोधखोज गर्न आउने बढ्ने अनुमान गरेका छौं ।’

ओझेलमा परेको प्राचीन नगरको महत्वलाई उजागर गर्ने भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । ‘यसले शान्ति पर्यटनमा टेवा पुर्‍याउनेछ,’ उनले भने । भद्र कल्पमा जन्मेका कनकमुनि र क्रकुच्छन्द बुद्ध पाँचौं र छैटौं बुद्ध हुन् । शाक्यमुनि सातौं बुद्ध मानिन्छन् ।

प्रकाशित : असार २६, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?