महिलाकै भरमा खेती- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाकै भरमा खेती

मधु शाही

बाँके — बर्खा लागेकाले अहिले यहाँ धान रोप्ने चटारो छ । अरू बेला घरधन्दामै व्यस्त रहने नरैनापुरका महिला यतिबेला खेतमा देखिन्छन् । काँधमा धानको बीउ ओसार्दै धान रोप्दै गरिरहेका भेन्टिन्छन् । अचम्म त के छ भने धान रोप्न र खेती गर्न यहाँ महिलाकै जिम्मेवारी बढी हुन्छ । पुरुषले हलो वा ट्र्याक्टरले खेत जोत्नेमात्रै काम गर्छन् ।

नरैनापुर गाउँपालिका–४ मा रोपाइँ गर्दै महिला । तस्बिर : मधु/कान्तिपुर

नरैनापुर–२ की रज्जु यादवले असार १५ गतेयता आधा समय खेतमै बिताएको बताइन् । ६ सन्तानकी आमा ४७ वर्षीया यादवको परिवारमा तीन छोरी छन् । जेठी र माइली छोरीसँगै रज्जु खेतमा धान रोप्न व्यस्त हुन्छिन् । तीन छोरा र उनका श्रीमान् खेतको काम खासै गर्न रुचाउँदैनन् । ‘धान रोप्न उनीहरूलाई आउँदा पनि आउँदैन,’ उनले भनिन् । ६ कट्ठा खेतमा रज्जु र उनका तीन छोरीले धान रोप्न खेताला खोज्नेदेखि बीउ काढ्नसम्म मिहिनेत गरे । ज्यालामजदुरी र अर्मपर्मसमेत गरेर खेत रोपे । अरू बेला घरभित्रै भान्सामा अल्झिने यहाँका महिलाले खेतीपाती धानेका छन् । टाउकोमा घुम्टो ओढेरै भए पनि धान रोप्न उनीहरू खेतमा पुगेकै हुन्छन् । नरैनापुरमा महिला मात्रै खेतमा देखिनु रहर नभई बाध्यता हो । खेतीपाती महिलाले सम्हाल्ने काम हो भन्दै परम्परागत रूपमा कामको बाँडफाँट गरिएको देखिन्छ ।

नरैनापुर–४ की अमिरा बेहनाको संयुक्त परिवार छ । १५ जना एउटै कोलनीमा बस्छन् । घरका पाँच जना युवा भारतमा मजदुरी गर्छन् । महिलाले नै घर र खेती धान्नुपर्ने अवस्था छ । अमिराका श्रीमान् र उनको उमेर एउटै छ । अमिरासँगै खेतमा धान रोप्न उनी कहिल्यै जाँदैनन् । श्रीमतीको पुच्छर बनेर खेतमा गयो भन्दै कुरा काट्ने समाजको चलन भएको हुँदा उनी धान रोप्न नजाने गरेको अमिराले बताइन् । ‘कहिल्यै जानुहुन्न खेतमा,’ उनले भनिन्, ‘अरूले के भन्छन् भनेर लाज मान्नुहुन्छ ।’

अमिरा आफ्नै घरको खेतीबाहेक अरूको खेतमा काम गर्न जान्छिन् । तर नरैनापुर–४ की रुक्सा खान भने धान रोप्न खेतालासमेत लगाउँछिन् । भारतमा माइती भएकी उनले खेती गर्न उतैबाट आफन्तलाई बोलाउने गरेको सुनाइन् ।

‘अम्मी र दिदीबहिनी आए भने खेत पूरै रोप्दिन्छन्,’ उनले भनिन्, ‘नभए म एक्लैलाई सास्ती हुन्छ ।’ नरैनापुर–५, मटैयाकी ३२ वर्षीया पल्लवी कुर्मीका तीन छोराछोरी छन् । तीन वर्षको कान्छो छोरो पिठ्युँमा बोकेर धान रोप्दा उनको ज्यान फतक्कै गल्छ । पल्लवीको घरखर्च खेतीकिसानीले धानेको छ ।

अन्न बेचेरै घरखर्च चल्छ । उनले मिहिनेत गरेअनुसार परिवारको अर्थतन्त्रमा उनको अधिकार भने छैन । बिहान र साँझ खान पाउनुमै उनले चित्त बुझाउनुपर्छ । ज्यालामजदुरी गरेर कमाएको पैसासमेत उनले आफूअनुकूल खर्च गर्न पाउँदिनन् । ‘दुःख आफू गर्‍यो, पैसा भने सासूलाई दिनुपर्छ,’ उनले भनिन् । नरैनापुरको आधाजसो कृषि महिला परिश्रमले धानिएको नैरनापर–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्माले बताए ।

खेतीपाती सामान्य कामको रूपमा लिइने प्रवृत्तिले गर्दा पुरुषले खासै चासो दिँदैनन् । कृषिलाई व्यवसायीकरण गर्न नयाँ आर्थिक वर्षमा पालिकाले महिला लक्षित विभिन्न कार्यक्रम तथा योजना ल्याएको छ । गाउँपालिकाका अध्यक्ष इस्तिहाक अहमद शाहले किसानमा पनि महिलालाई केन्द्रित गरेर कृषि विकास कार्यक्रम ल्याइएको बताए । जसमा कृषकलाई पेन्सन दिने व्यवस्थासमेत नयाँ कार्ययोजनामा उल्लेख छ । बाख्रापालन, खेती किसानी र व्यावसायिक तरकारी खेती गर्ने किसानलाई अनुदान लक्षित योजना बनाइएको उनले सुनाए ।

प्रकाशित : असार २३, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

विभेदविरुद्ध बाँकेमा सांकेतिक विरोध र्‍याली

मधु शाही

बाँके — काठमाडौंमा जातकै कारण कोठा पाउनबाट बञ्‍चित भएकी सञ्‍चारकर्मी रुपा सुनारको समर्थन गर्दै शनिबार बाँकेमा युवाहरुले सांकेतिक विरोध प्रदर्शन गरेका छन् । 

मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपित सरस्वती प्रधानलाई सरकारी झन्डावाल गाडीमा राखेर घर लगेको दृश्यलाई राज्यले जातीय विभेद संरक्षण गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । र्‍यालीमा कोहलपुरका ३० जनाभन्दा बढी स्वतन्त्र युवा सहभागी थिए । जसमा गैरदलित समुदायका युवाले पनि साथ दिएका थिए ।

मान्छेलाई मान्छेसरह व्यवहार गर, जातीय विभेदको संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीलाई बर्खास्त गर, जातीय राज्य व्यवस्थाको अन्त्य गर, रुपालाई न्याय देउलगायत नारा लेखिएको पम्पेल्ट राखिएको थियो । आँखामा कालोपट्टि बाँधेर राज्य सत्ताविरुद्ध सांकेतिक विरोध गरिएको थियो ।

रुपा अन्यायको विरुद्धमा लडिरहेकी प्रतिनिधि पात्र भएको बताउँदै उनले न्याय नपाउँदासम्म विरोध गरिरहने प्रदर्शनमा सहभागी पत्रकार शोभाकर विश्वकर्माले बताए ।

प्रकाशित : असार १२, २०७८ २१:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×