बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जगंलमा दाउरा बटुल्न गएका मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सम्झना सामुदायिक वनमा भेटिएको हो ।

नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३/८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण गरेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार दिउँसो ११ बजे शव फेला परेको मगरले जनाए ।

खत्रीको कम्मरदेखि माथिल्लो भागसम्मका शरीरको भाग बाघले खाएको खाता जैविक मार्ग अन्तर्गत रेन्जपोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । गत साउनयता यस ठाउँमा बाघले ७ जनाको ज्यान लिइसकेको छ ।

स्थानीय प्रशासनले यस क्षेत्रमा घाँस, दाउरा, चरिचरण, सागपात टिप्न नजान आग्रह गर्दै आएको छ । लुकिछिपी वन क्षेत्रमा प्रवेश गर्दा बाघले आक्रमण गर्ने क्रम रोकिएको छैन । गत साउनयता बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको छ ।

प्रकाशित : असार २१, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितलाई चिकित्सक भेट्नै हम्मे

जितेन्द्र साह

विराटनगर — कोरोना संक्रमण उत्कर्षमा पुगिरहेका बेला कोभिड अस्पताल र आइसोलेसन सेन्टर भरिभराउ थिए । तर आफैं संक्रमित भए परिवार पनि जोखिममा पर्ने डरले कतिपय चिकित्सक कोभिड बिरामीको सम्पर्कमा गइहाल्न हच्किन्थे ।

नियमित उपचार गर्दै आएका बिरामीको समेत चिकित्सकले फोन उठाउँदैनथे । एकातिर कोभिड अस्पतालमा संक्रमितको उपचारमा खटिएका चिकित्सकलाई भ्याइनभ्याई थियो भने अर्कोतिर अन्य चिकित्सकले संक्रमितप्रति चासो नदिँदा होम आइसोलेसनमा रहेका बिरामीले तनाव बेहोर्नुपर्‍यो ।

‘सुरुको १० दिन त डाक्टर खोज्दै बित्यो,’ विराटनगर–१ का एक ४० वर्षीय पुरुषले भने, ‘मैले चिनेजानेको डाक्टरले समेत भेटेर कुरा सुन्न मानिरहेका थिएनन, अनेक बहाना गरेर टार्थे । एक चिकित्सकले त दुई दिनसम्म फोन/म्यासेजको जवाफ नै दिएनन् ।’ जाँचेर स्वास्थ्य अवस्थाबारे प्रस्ट पारिदिऊन् भनेर चिकित्सक खोज्दै भौंतारिएको उनले बताए ।

कतैबाट सहयोग नपाएपछि विराटनगर–२ का एक संक्रमित पुरुष पोजिटिभ रिपोर्ट बोकेर चिकित्सक खोज्दै हस्पिटल चोक पुगेको बताए । ‘डाक्टरसँग औषधि लेखेर ल्याइदिने कोही नभएपछि कोठाबाट निस्कें । निकै सोधपुछ गरेपछि एक चिकित्सकबारे स्थानीय औषधि व्यवसायीले जानकारी दिए ।’ ती चिकित्सकको सल्लाहअनुसार केही दिनको औषधि सेवन एवं खानपिन पछि सन्चो भयो ।

विराटनगर–६ का ६ सदस्यीय परिवारका तीन जना संक्रमित भए । तर संक्रमित भएको तीन दिनसम्म कसलाई, कहाँ सम्पर्क गर्ने र के गर्नेबारेमा उनीहरूलाई थाहा थिएन । ‘चिनेजानेकाले फोनमा दिएको सल्लाहअनुरूप सिटामोल र गेडागुडीको झोल खाँदै केही दिन घरमा बस्यौं, सन्चो भएर हिँडडुल गर्ने स्थिति भएपछि मात्र एक चिकित्सकलाई भेट्न पायौं,’ परिवारका एक सदस्यले भने ।

कोरोना भाइरसको कहर उत्कर्षमा पुगेका बेला उपचारबाट वञ्चित भइरहेका दर्जनौं बिरामीलाई गत वर्ष र यसपालि चिकित्सकसँग भेटाएको सामाजिक कार्यकर्ता सञ्जीव चापागाईंले बताए । ‘खतरामुक्त मानिने १० दिनको अवधिपछि मात्र चिकित्सकले संक्रमित हेर्न मान्छन्, अस्पतालको ओपीडी र फिभर क्लिनिकमा भेटिएका चिकित्सकले दुई मिनेट समय पनि दिंदैनन्,’उनले भने ।

होम आइसोलेसनमा बसेकालाई पनि अस्पतालमा भर्ना भएकालाई जत्तिकै चिकित्सकीय परामर्शको आवश्यकता हुन सक्ने कोसी अस्पतालका फिजिसियन डा. डेनप्रसाद आचार्यले बताए । ‘होम आइसोलेसनमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य हुन्न, कतिपय सिकिस्त भए पनि स्वास्थ्य संस्थामा भर्ना नपाएर घरमा बसेका हुन्छन्, उनीहरूलाई पनि निरन्तर चिकित्सकीय परामर्शको आवश्यकता हुन्छ,’ उनले भने, ‘कुनै औषधिले काम नगरेमा वा खराबी गरेमा रोक्नुपर्ने वा तुरुन्तै अर्को दिनुपर्ने हुन्छ ।’

प्रकाशित : असार २१, २०७८ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×