१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अशोक स्तम्भ बेवारिस

संरक्षणको अभावमा डुबानमा पर्दा कमजोर र जीर्ण बन्दै
मनोज पौडेल

कपिलवस्तु — ऐतिहासिक महत्त्व बोकेको गोटिहवास्थित अशोक स्तम्भ संरक्षणको अभावमा कमजोर र जीर्ण बन्दै गएको छ । कपिलवस्तु नगरपालिका–५ मा अवस्थित महत्त्वपूर्ण पुरातात्त्विक स्थल अशोक स्तम्भको अधिकांश भाग पानीमा डुबेको छ । संरक्षणको जिम्मेवारी पाएको लुम्बिनी विकास कोषले स्तम्भ संरक्षणमा बेवास्ता गर्दै आएको छ । आर्थिक र प्रशासनिक जिम्मेवारी पाएको कोष कार्यालय यहाँबाट २८ किमिपूर्वमा छ । तर हेरचार र संरक्षणमा ध्यान दिइएको छैन ।

अशोक स्तम्भ बेवारिस

दुई साताभन्दा बढी समयदेखि एक–दुई दिन बिराएर परेको सामान्य पानीले स्तम्भ डुबाएको हो । डुब्दा स्तम्भले पानी सोस्ने गरेको छ । प्रत्येक वर्ष यसरी डुब्ने हुँदा खिइने जोखिम बढेको सरोकारवाला बताउँछन् । यो हल्काफुक्का बलौटे ढुंगाको हो । ‘यो कमजोर हुन्छ,’ वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भने, ‘पानीमा डुब्दा क्यापिलरी एक्सन भई ढुंगालाई असर पुर्‍याउँछ ।’ यसले टुटफुट भई क्षति हुने सम्भावना बढ्छ । तर संरक्षणमा ध्यान नदिँदा कमजोर बन्दै गएको छ ।

क्रकुच्छन्द बुद्ध जन्मस्थल गोटिहवाको दुरवस्था देख्दा निकै पीडा भएको लुम्बिनीबाट प्रार्थना गर्न आएका भिक्षु श्रीवजिरले बताए । ‘जसले संसारलाई खुसी र आनन्द प्रदान गरेर मुक्तिको बाटो देखाउनुभयो, उहाँकै गृह डुबान, उजाड र लथालिंग देख्दा मन रोयो,’ उनले भने । ‘यसपालि जेठदेखि नै स्तम्भ डुब्न थालेको हो,’ स्थानीय रामदास पासीले भने, ‘संरक्षणको जिम्मा पाएको कोषले लुम्बिनीबाहेक कहीं ध्यान दिन्न ।’ वर्षा पनि थामिएको छैन । स्तम्भ पनि डुब्न छाडेको छैन । ‘जमिनको सतहभन्दा होचो ठाउँमा स्तम्भ छ,’ लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने, ‘त्यहाँ खाल्टो छ । सार्न पनि हुँदैन । त्यहीं संरक्षण गर्नुपर्छ । यसले पनि समस्या छ ।’ पानीले स्तम्भ ३ फिट बढी डुब्छ । बढी पानी पर्‍यो भने ५ फिटजति डुब्छ । स्तम्भ २ दशकबाटै डुब्दै आएको छ ।

अशोक स्तम्भ करिब १० फिट ८ इन्च लामो छ । ७ वर्षअघि तलतिरको ५ फिट बढी भाग मात्र संरक्षण गरिएको थियो । जियोटेक्सटाइल कपडाले बेरेर बालुवाले खाली च्याम्बरलाई पुरेर स्तम्भ संरक्षण गरिएको हो । माथिको भाग त्यत्तिकै छ । खुला आकाशमुनि हावापानी, घाम र धूवाँधूलोको प्रदूषणले यसलाई थप कमजोर बनाउँदै लगेको छ । ‘अर्को ठाउँमा सारेर संरक्षण गर्न मिल्दैन,’ लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने, ‘पुरातत्त्व विभागसँग समन्वय गरेर अर्को वर्षबाट संरक्षण गर्छौं ।’ त्यो आफूहरूको सरोकार र चिन्ताको विषय बनेको उनले बताए ।

बौद्ध धर्मावलम्बीका लागि गोटिहवा पवित्र स्थल हो । भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटनको क्रममा यहाँ आएका थिए । गोटिहवा भगवान् गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो । ‘शान्ति र ऊर्जाशील स्थलको सम्राटले भ्रमण गरेको हुनुपर्छ,’ इतिहास तथा संस्कृतिविद् डा. गीतु गिरीले भने, ‘स्मरण गर्न चिनो राखे ।’ तर त्यसैलाई संरक्षण गर्न नसक्नु सम्पदाप्रतिको हेलचेक्य्राइँ भएको उनले सुनाए । १ हजार ७ सय ७० वर्षअघि गोटिहवा अस्तित्वमा आएको वरिष्ठ पुरातत्त्वविद् बिडारीले बताए । त्यतिखेर व्यवस्थित रूपमा बनाइएको स्तम्भको अहिले बिजोग छ । सम्राट अशोकको राज्याभिषेकको २० औं वर्षमा उक्त स्तम्भ बनाइएको थियो ।

भारतको हैदराबादको रायचोरमा रहेको ढुंगाको बनाएर घोडाले तानेको गाडामा राखेर अशोक स्तम्भ ल्याएको इतिहास छ । ४० वटा पांग्रा भएको गाडालाई ५ सय घोडाले तानेर ल्याएको इतिहासमा उल्लेख भएको वरिष्ठ पुरातत्त्वविद् बिडारीले बताए । भारतको बनारस नजिक चुनार पहाडबाट उक्त स्तम्भ ल्याइएको भन्नेबारेमा सबैको एकमत छ । बौद्धग्रन्थमा नेपाल र भारतमा ४२ वटा अशोक स्तम्भ रहेका उल्लेख छ । त्यसमध्ये २२ वटा मात्र पत्ता लागेका छन् । १९ भारत र ३ वटा नेपालमा छन् । नेपालमा रहेका ३ अशोक स्तम्भमध्ये गोटिहवाको एक हो । यहाँ जस्तै लुम्बिनी र निग्लिहवामा अशोक स्तम्भ छन् । राजा शुद्धोदनको राजप्रासाद तथा बुद्धसँग सम्बन्धित अन्य महत्त्वपूर्ण स्थल प्रमाणिकताका लागि स्तम्भ निकै महत्त्वपूर्ण मानिन्छ ।

प्रकाशित : असार २१, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?