कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुई दशकपछि छिटो रोपाइँ

विगतमा सिँचाइ अभावमा भदौको अन्तिमसम्म रोपाइँ गर्नुपर्ने बाध्यता भएका किसान यस वर्ष समयमै पानी परेपछि असारमै रोपाइँ सक्दै छन्

नेपालगन्ज/दाङ — धान दिवस असार १५ सम्म बाँकेका खेतीयोग्य जग्गा सुक्खै हुन्थे । किसानले खेत जोत्थे । धानको बीउ राख्थे । रोपाइँको सुरसार हुँदैनथ्यो । तर, यस वर्ष समयमै पानी परेपछि किसानले असारको तेस्रो सातामै धमाधम रोपाइँ सक्दै छन् । जानकारहरूका अनुसार यति छिटो रोपाइँ सकिन लागेको दुई दशकपछि पहिलोपटक हो । 

दुई दशकपछि छिटो रोपाइँ

समयमै पानी परेपछि किसानले जेठ महिनाको दोस्रो सातामै ब्याड राखे । असार सुरु भएलगत्तै पानी पाएका किसानले धान रोपाइँ सक्दै छन् । भुक्तभोगीका अनुसार बाँकेमा सिँचाइ अभावमा भदौको अन्तिमसम्म रोपाइँ गर्नुपर्ने बाध्यता थियो । ट्युबेलले सिँचाइ गरेर रोपाइँ गर्थे । ‘पोहोर साउनको पहिलो सातामा रोपाइँ सकिएको थियो । यस वर्ष असार दोस्रो सातामै रोपाइँ सकिएको छ । मौसमले साथ दिएपछि निकै छिटो रोपाइँ भयो,’ खजुरा गाउँपालिका उढरापुरका ५६ वर्षीय गरिबे यादवले भने, ‘यसअघि यति छिटो रोपाइँ सकिएको मलाई सम्झना छैन ।’ उनका अनुसार यस वर्ष पानीका लागि आर्थिक बोझ खेप्नुपरेन । वर्षा नभएको वर्ष उनले ट्युबेलबाट पानी तानेर रोपाइँ गरेको अनुभव सुनाए । ‘पानीका लागि निकै सास्ती खेप्नु परेको थियो । ट्युबेलबाट पानी तान्दा डिजेल किन्न परेको थियो,’ उनले भने, ‘यस वर्ष महादेव खुसी छन् । समयमै पानी दिएपछि हामीले रोपाइँ सक्यौं ।’

बाँकेको सुक्खा क्षेत्र कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी गाउँपालिकाका किसानले पनि धान रोपाइँ सक्नै लागेका छन् । राप्ती नदीको राजकुलोबाट सिँचाइ हुने राप्ती सोनारीका किसानले एक साताअघि नै रोपाइँ सकेका छन् । ‘पानी समयमै परेकाले बीउ राख्न सजिलो भयो । समयमै पानी परेपछि रोपाइँ पनि सकेका हौं,’ राप्ती सोनारी गाउँपालिका खैरहनीका किसान सुन्दर चौधरीले भने । बाँकेमा ५२ हजार २ सय ३८ हेक्टर खेतीयोग्य जमिन छ । ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । आकाशे वर्षाले साथ दिएको समय बाँकेमा करिब १ लाख ३८ हजार ७ सय टन धान उत्पादन हुने गरेको छ । त्यस्तै बर्दियामा ५२ हजार २ सय ५० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । बर्दियामा असार १५ अघि नै अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ ।

खजुरास्थित कृषि अनुसन्धान केन्द्र (नार्क) का कृषि वैज्ञानिक तथा बाली निर्देशक रामदास चौधरीले यति छिट्टै रोपाइँ सकिएको बाँकेमा पहिलोपल्ट देखेको जनाए । ‘म बाँकेमा आएको १० वर्ष पुग्यो । यस वर्षजस्तो छिटो रोपाइँ गरेको देखेको थिइनँ,’ उनले भने, ‘यस वर्ष मनसुन छिट्टै आएकाले किसानले जेठमै बीउ रोपे । पानी पाउनसाथ रोपाइँ सक्दै छन् ।’ बाँकेका अधिकाश पालिकाहरूमा अकाशे पानीकै भरमा रोपाइँ हुने गरेको छ । सिक्टा सिँचाइ आयोजनाको काम पूरा नभएसम्म यहाँका किसानलाई अकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ । सिक्टा सिँचाइ आयोजना पूरा भएमा ५२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने लक्ष्य छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले दुई दशकपछि यस वर्ष निकै छिटो रोपाइँ सकेको बताए । ‘कृषिमै जागिर गर्न लागेको दुई दशक भयो । मेरो अनुभवमा यति छिट्टै रोपाइँ भएको यो पहिलो वर्ष हो,’ उनले भने, ‘छिट्टै मनसुन सक्रिय भएपछि बाँकेमा समयमै रोपाइँ भएको हो ।’ उनका अनुसार गत वर्ष यस बेलासम्म मुस्किलले ३० प्र्रतिशत रोपाइँ भएको थियो । त्यही समयमा यस वर्ष ७० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको उनले बताए । ‘अब केही दिनमै बाँकेमा रोपाइँ सकिन्छ,’ उनले भने ।

ढिलो गरी वर्षा हुँदा बाँकेमा भदौसम्म रोपाइँ गरेको देखिन्थ्यो । छिटो गरी रोपाइँ गर्ने र निरन्तर पानी पायो भने धानको उत्पादन बढ्ने विज्ञहरू बताउँछन् । छिटो तयार हुने धानको बीउ राखेको २५ दिनसम्म रोपाइँ गरे उत्पादन बढ्छ । बाँकेमा कुल खेतीयोग्य जमिनको १५ हजार हेक्टर क्षेत्रफल (३० प्रतिशत) क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएको स्थानमा किसानहरूले साना ट्युबेल जडान गरेका छन् । तर, रोपाइँका लागि त्यसबाट पर्याप्त सिँचाइ गर्न मिल्दैन । धान उत्पादन बढाउन १५ प्रतिशत उन्नत बीउ र ५० प्रतिशत रासायनिक मलले काम गर्ने विज्ञहरूको सुझाव छ ।

मेसिनले जोत्दा चाँडो

कृषिमा नयाँ प्रविधि प्रयोग हुन थालेपछि रोपाइँ पनि छिटो हुन थालेको छ । कुनै बेला गोरु र हलोजुवाका भरमा मात्रै हुने रोपाइँ यसपालि प्रविधि प्रयोग गरेर गर्दा छिटो भएको हो । जिल्लामा पहिलोपटक मेसिनबाट रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । यस वर्ष समयमै पानी परेका कारण असार १५ भित्रै ६० प्रतिशत रोपाइँ सकिएको केन्द्रले बताएको छ । जिल्लामा पहिलोपटक तीनवटा मेसिनमार्फत धान रोपिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्रमणि पौडेलले बताए । लमही नगरपालिकामा हरितक्रान्ति कृषि सहकारी संस्था, गढवा गाउँपालिकामा नीलकमल महिला समूह र राजपुर गाउँपालिकामा सूर्योदय सहकारी संस्थामार्फत मेसिनको व्यवस्था गरी धान रोपिएको उनले जानकारी दिए ।

अहिले धान रोप्दा मेसिनबाट जोत्ने काम भइरहेको राजपुर–१ गुरुङखोलाका किसान दिलबहादुर रोकाले बताए । ‘पहिले गोरु नभई खेती हुँदैनथ्यो । अहिले मेसिनले जोतेर रोपाइँ गर्न थालेका छौं,’ उनले भने, ‘हेर्दाहेर्दै हलोजुवा र गोरु नचाहिने भयो । जोत्ने मान्छे नपाएर साह्रै गाह्रो हुन्थ्यो । अहिले त्यस्तो भएन ।’ गाउँकै कृषि सहकारीले मेसिनको व्यवस्था गरेर किसानलाई खेतीमा सजिलो बनाइदिएका हुन् ।

अहिले कृषिमा आधुनिक प्रविधिको प्रयोग भइरहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । किसानलाई आधुनिक मेसिनहरू उपलब्ध गराएर कृषिमा आधुनिकीकरण गरिरहेको उनले बताए । ‘यसपटकको धान दिवस पनि मेसिनबाट जोतेर नै मनाइएको छ । किसानलाई मेसिनसँग परिचित बनाइरहेका छौं,’ उनले भने, ‘स्थानीय सरकारले आधुनिक मेसिनको प्रयोगमा सहयोग गरिरहेको छ ।’

किसानलाई एकैसाथ ६ दर्जन बढी आधुनिक मेसिनहरू प्रदान गरिएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । ‘किसानहरूलाई आधुनिक प्रविधिमार्फत खेती गर्न उत्साहित बनाइरहेका छौं,’ उनले भने, ‘किसानलाई खेत जोत्ने मेसिन दिएका छौं । अहिले धेरैजसो खेती मेसिनबाटै भएको छ । धान रोप्न पनि मेसिनहरू प्रयोग हुन थालेका छन् ।’

अहिले कृषियन्त्रबाट जोतेर रोपाइँ गर्न थालेको तुलसीपुर उपमहानगरपालिका–७ खर्चवाका किसान ढुण्डीराज पराजुलीले बताए । ‘अहिले खेतमा गोरु देखिन छाडेका छन् । धेरैजसोले मेसिनबाट जोतिरहेका छन्,’ उनले भने, ‘हामीले पनि मेसिनबाटै जोतिरहेका छौं । यसले समय र खर्च दुवैको बचत भएको छ ।’

प्रकाशित : असार २०, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?