शिक्षक–विद्यार्थीलाई कोरोना खोप दिलाउन माग राखी धर्ना- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षक–विद्यार्थीलाई कोरोना खोप दिलाउन माग राखी धर्ना

वीरेन्द्र केसी

अर्घाखाँची — विभिन्न ३४ सूत्रीय माग राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा गुल्मी १२ र अर्घाखाँचीका ६ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन् । आन्दोलनमा विभिन्न पेसागत संघसंगठनले ऐक्यबद्धता जनाएका छन् । 

संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक/विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्नेलगायत माग उनीहरूले राखेका छन् ।

विद्यालयमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक सहभागी हुँदा कोरोना संक्रमण फैलिने डर भएकाले स्कुल सञ्चालन गर्नुपूर्व कोभिडविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने एकीकृत अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष मानबहादुर पाण्डेले बताए ।

उनीहरूले शिक्षकको बढुवा हुनुपर्ने, कर्मचारी तथा बालविकास सहयोगीको तलब वृद्धि गर्नुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि राखेका छन् ।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षक/सहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए । तर तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन गरेका छैनन् ।


प्रकाशित : असार १८, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाले घरखर्चै रोकियो

भारतमा रोजगारी गुमाएर घर फर्केकालाई गुजारा चलाउने चिन्ता
वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीको मदाने गाउँपालिका–६ का भीम विक अहिलेसम्म १४ पटक भारत आउजाउ गरे । सानै उमेरदेखि भारतमा रोजगारी गरेर परिवारलाई खर्च पठाउँथे । घरमा बुबाआमा, श्रीमती र दुई छोरीको घरखर्च र पढाइ खर्च पुर्‍याउने जिम्मेवारी उनकै काँधमा छ । एक वर्षदेखि उनी बेरोजगार छन् । 

कोरोनाका कारण काम गर्ने होटल बन्द भएपछि अघिल्लो चैतमा घर आएका थिए । यही मौकामा आफ्नो घर बनाउने काममा लागे । घर निर्माण सकेर जाने तयारी गर्दा फेरि दोस्रो लहरको कोरोना संक्रमण भएर निषेधाज्ञा भएपछि बेरोजगार भएको उनले बताए । ‘घरमा खानेखर्च सकियो, काम गर्न हिँड्ने तयारी गर्दा निषेधाज्ञा भयो,’ उनले भने, ‘यहाँ केही काम पाइँदैन । सानो काम पाइए अब भारत जाने थिइनँ ।’

घर बनाउँदा लागेको ऋणले विकको मन आत्तिएको छ । ‘भारत गएर कमाएर ऋण तिरौंला भनेर घर बनाएँ,’ उनले भने, ‘भाका आउनै लाग्यो, साहूले पैसा मागे भने ऋण तिर्ने उपाय छैन, रोगको डर पनि छ, यहाँ गुजारा चलाउन पनि समस्या हुन थाल्यो ।’ घरको आर्थिक स्थिति कमजोर भएर ऋण लागेपछि पढाइ छाडेर भारत पुगेका सौतमारेका दिनेश सुनार पनि अहिले घरमै यत्तिकै छन् ।

आठ वर्ष भारतमा काम गरेर घरको ऋण तिरेर भ्याए । ‘पढाइ थोरै भएकाले धेरै तलब भएको नोकरी पाइँदैन,’ उनले भने, ‘होटलमा भाँडा माझ्ने, ग्यारेजमा काम गर्ने हो । कोरोनाको डरले रोजगारी छाडेर घर आएँ । अहिले पैसा सकिएर घरखर्च जोहो गर्न सकस भएको छ ।’

सानै उमेरमा बाबु गुमेपछि जेठा छोराको काँधमा सबै जिम्मेवारी आयो । ‘घरमा ऋण थियो, जग्गा थोरै थियो, वर्ष दिन काम गरेर ६ महिनालाई खान पुग्दैनथ्यो,’ दिनेशकी आमा सुनकलाले भनिन्, ‘छोराले सबै ऋण तिरो, दुई बहिनीको र आफ्नो विवाह गरेर गाउँमा कच्ची घर पनि बनायो । घरखर्च, नातिको पढाइ खर्च सबै छोराकै भरमा छ, बेरोजगार भएर बस्दा घरायसी समस्या भएको छ ।’ रोगभन्दा भोकको चिन्ताले सताएको उनले बताइन् । गाउँमै घर निर्माण गर्ने काम पनि पाइन्थ्यो । तर, कोरोना लागेपछि आम्दानी नहुँदा घरगोठ निर्माणको काम पनि छैन । बाटो खन्नेलगायत निर्माणका काम डोजर, एस्काभेटरले गर्दा गाउँका कामदार बेरोजगार भएको उनले बताइन् ।

गाउँमै बसेर सिकर्मी, डकर्मीको काम गर्ने सोच बनाएका अर्घाखाँची मालारानी गाउँपालिका–९ का विष्णु पुन फेरि भारत नगएसम्म रोजगार नपाइने भन्दै आत्तिएका छन् । पहिला त गाउँमा कच्ची घर, गोठ बनाउने काम धेरै हुन्थ्यो । घर, निर्माण गर्दा गारो लगाउन ढुंगा निकाल्ने, बोक्ने, माटो मुछ्ने, काठ ओसार्ने र गारो लगाएर एउटा घर गोठ ठडाउन कम्तीमा दुई महिना लाग्थ्यो । दुई महिनाको कमाइले चार महिना खर्च धान्थ्यो । गाउँमा अहिले पहिलेजस्तो घरगोठ निर्माण गर्ने निकै कम छन् र पैसा भएकाले पनि कोरोनाका कारण घर नबनाएको उनले बताए ।

पहिलो चरणको लकडाउनमा गोखुंगाका सुनिल खत्री ६ महिना बेरोजगार भए । लकडाउन अन्त्य भएपछि काठमाडौंको एक होटलमा काम गर्न गए । फेरि कोरोना फैलिएपछि होटल बन्द भएर उनी गाउँमा आए । ‘होटलमा सम्पर्क गर्दा अहिले नआउन भन्छन्,’ उनले भने, ‘कहिले निषेधाज्ञा खुला, कोरोना हराउला र जागिर गर्न काठमाडौं हिँडौंला भनेर मन आतुर छ ।’ एकातिर कोरोना संक्रमणको डर र अर्कोतिर भोकको चिन्ता रहेको उनले बताए ।

प्रकाशित : असार १८, २०७८ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×