निषेधाज्ञा खुकुलियो, लापरबाही बढ्यो

‘बजार खुलेका छन्, भीडभाड बढेको छ, दूरी कायम गरिएको छैन’
ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमण घटे पनि लापरबाही भने बढेको छ । संक्रमण घटेपछि यस क्षेत्रकै ठूलो निजी शिक्षण अस्पताल नेपालगन्जले कोरोना वार्ड बन्द गरिसकेको छ । तर यस क्षेत्रकै ठूलो सरकारी भेरी अस्पताल नेपालगन्जले भने तेस्रो भेरिएन्ट आउन सक्ने भन्दै तयारीमा जुटेको जनाएको छ ।

निषेधाज्ञा खुकुलियो, लापरबाही बढ्यो

भेरीका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले पछिल्लो समय प्रशासनले ‘स्मार्ट लकडाउन’ गरेपछि बाँकेमा लापरबाही बढेको बताए । ‘बजार खुलेका छन् । भीडभाड बढेको छ । दूरी कायम गरिएको छैन,’ उनले भने, ‘सामान्य स्वास्थ्य मापदण्ड पनि पूरा गरिएको छैन ।’

यसैगरी लापरबाही बढ्दै जाने हो भने फेरि अवस्था भयावह हुन सक्ने उनले बताए । भेरीका प्रमुख कन्सल्टेन्ट तथा फिजिसियन डा. राजन पाण्डेले बाँकेमा संक्रमण कम भए पनि नियन्त्रण भइनसकेको बताए । उनका अनुसार पीसीआर परीक्षण गर्दा बाँकेमा अझै पनि २० प्रतिशत बढीमा संक्रमण देखिने गरेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संक्रमण दर पाँच प्रतिशतमा झरे नियन्त्रणमा आएको मान्ने गरेको छ ।

डा. पाण्डेले बाँकेको अवस्था हेर्दा फेरि पनि संक्रमण नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिरहेको बताए । ‘काम नभएकाहरू पनि घरबाहिर निस्किएकै छन् । भीडभाड उस्तै छ । मास्क लगाउन छाडिएको छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड बिलकुलै अपनाइएको छैन । जसका कारण फेरि संक्रमण समाजमा फैलिन सक्ने खतरा छ ।’ उनले बजारमा भीड कम गर्न अति आवश्यक कामका लागि बाहिर निस्किँदा प्रशासनबाट अनुमति लिनुपर्ने नियम बनाउनुपर्ने सुझाव दिए ।

‘जुन कामका लागि बाहिर निस्किने हो, त्यसको अनुमति लिएर निस्किने नियम बनाउने हो भने भीडभाड कम हुन्थ्यो कि ?,’ उनले भने । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबारदेखि थप एक साताका लागि स्मार्ट लकडाउनलाई निरन्तरता दिइएको बताए । त्यसपछि निजी सवारीसाधनलाई जोर–बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिइने उनले बताए ।

प्रकाशित : असार १७, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?