कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हराउँदै असारे भाका

फाँट, बेँसी र खोला खेतमा असारे र लोकगीत गाउँदै रोपाहार, बाउसे हिलो छ्यापाछ्याप गर्थे । हलोजुवा, हलगोरू, बाउसे र रोपाहारले फाँटै रमाइलो हुन्थ्यो । पछिल्लो समय यो चलन हट्दै गएको छ ।

पाल्पा/कपिलवस्तु/प्यूठान — हे...धानको बीउ हातमा लिई रोप्दै छन् छुपु छुपु

आलीमा बसी पुवा र अचार खाँदै हुन् कुपु कुपु ।

काँधमा हलो, हातमा जुवा लागे है मेलैमा ...

हे... धानको बीउ... ।

हराउँदै असारे भाका

यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गरेको पाल्पाको माथागढी गाउँपालिका–३, कसेनीका ७८ वर्षीय कमानसिंह रानालाई याद आउँछ । उनी आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ ।

‘उहिले मनोरञ्जनका साधन केही थिएनन्,’ उनले भने, ‘त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।’ धेरै मालिक (खेतका धनी) ले वर्षमा एकपटक रमाइलो गर्ने हो भन्दै पञ्चेबाजा बजाएर रोपाइँ गर्थे । उनका अनुसार त्यस दिनको कोही कसैले पैसा लिन्नथे । न कुनै अन्न नै लिन्थे । रमाउने, खाने र खेत रोप्ने हुन्थ्यो । ‘अहिले त बाजा बजाएर रोपेको भन्ने खासै सुनिँदैन,’ उनले भने, ‘पहिला त दिनदिनै बाजा बजाउने रोपाइँमा खेताला जाँदा आफ्नै खेत रोप्न ढिलाइ हुन्थ्यो ।’ माडीफाँटमा चार हलको मेलो रोप्न पनि अन्यत्र जाँदा फुर्सद नहुने उनले सुनाए ।

यो एउटा उदाहरण मात्र हो । पछिल्लो समयमा असारे भाका लोप हुँदै गएको छ । खेतमा धान रोप्न असारेभन्दा झ्याउरे भाका, अन्य रमाइलो गर्छन् । तर, उहिलेका असारे भाका भने कमैले मात्र गाउँछन् । ‘अचेल धन्न रोपाइँ–जात्रामा यस्ता भाका सुन्न पाइन्छ,’ उनले भने, ‘नत्र लोप भइसक्थ्यो । टेलिभिजन, रेडियोमा त्यस्ता गीत बजेको सुन्दा पनि आनन्द आउने गर्छ ।’ धान रोप्दा गाइने गीतलाई असारे भाका भनिन्छ । असारमा धान रोप्ने प्रचलन छ । रोपाइँका बेला कृषकलाई कामको भ्याइनभ्याई हुन्छ । तैपनि, रोपाइँमा दिनभर थाकेका बाउसे र रोपाहारहरू एकअर्कामा हिलो छ्यापाछ्याप गरी असारेगीत गाउँदै दुःख, कष्ट र थकाइ बिर्सन खोज्छन् ।

असारे गीतमा नाच्दै, रमाइलो गर्दै काम गर्दा थकाइ, परिश्रम बिर्साउने गरेको माथागगढी, कसेनीका किसान मनबहादुर कुमालले बताए । हुन त असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ । असारे भाकामा लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्का मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ, असारै मासको दबदबे हिलो छि मलाई घिन लाग्यो...।

मंगलबार असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने असारको मध्य दिन पनि हो । मुलुकभरका प्रायः सबै धान रोप्ने किसानहरू रोपाइँमा व्यस्त छन् । समयमै मनसुन भित्रिएर पानी परेपछि यस वर्ष धान रोपाइँ पनि छिटो भएको छ । फाँट, बेँसी र खोला खेतमा असारे र लोकगीत गाउँदै रोपाहार, बाउसे हिलो छ्यापाछ्याप गर्थे । हलोजुवा, हलगोरु, बाउसे र रोपाहारले फाँटै रमाइलो हुन्थ्यो । पछिल्लो पुस्तामा आधुनिक उपकरणको प्रयोगले यो चलन हट्दै गएको किसान मनबहादुरले बताए । आधुनिकीकरणका साथै युवापुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हलगोरु र बाउसे कमैमात्र देखिन्छन् । रोपाहारहरूबीच पनि रमाइलो गर्ने परम्परा हट्दै गएको छ । बुढापाकाले असारको रोपाइँको दिनलाई वर्णन गर्ने गरेको जस्तो उल्लास अचेल छैन । मेला हिँड्ने परम्परा कम भएको र असारेगीत गाउनै छोडेकाले भाकासमेत लोप हुँदै गएका छन् । पछिल्लो समयमा पहिलेजस्तो रोपाइँको खासै रौनक पनि देखिँदैन ।

‘पहिलेजस्तो अहिले छैन किनभने युवा पुस्तामा कुनै चासो नै छैन,’ माथागढी–४, झडेवाका किसन सिञ्जाली मगरले भने, ‘असारेगीत गाएर रोपाइँ गर्दा दिन बितेको थाहा नपाई धेरै कामसमेत गर्थे ।’ उनका अनुसार असारेगीतमार्फत आफ्ना पीरमर्काका कुरा पनि गाउने चलन थियो । बाँसटारी, झडेवा र रामपुरका केही भेगमा रोपाइँ सुरु भएको छ । माडीका अधिकांश भागमा असार १५ मा रोपाइँ सकिन्छ । बाँसटारी र झडेवा फाँटका खेतमा पनि जेठको अन्तिम साता र असारको पहिलो सातामै रोपाइँ हुन्छ । माडी फाँटमा आलोपालो प्रथामै रोपाइँ गर्ने चलन छ ।

कोरोना संक्रमण र त्रासका कारण अहिले अर्मपर्ममै खेतीपाती गरेका छन् । अधिकांश मोही हुने र कुमाल समुदायले खेत रोप्छन् । जसले गर्दा मालिक नजाने भएकाले कुमाल समुदायले आलोपालोमै रोप्नलाई पनि छिटो सुरु गर्नु पर्छ । माथागढी–३ कै सुरेश कुमालका अनुसार जेठको दोस्रो साताबाट रोप्न सुरु गरेर असारको पहिलो सातासम्म सक्नुपर्ने हुन्छ । जसले गर्दा आलोपालो प्रथालाई सहयोग पुग्छ ।

धेरै धानखेती हुने कपिलवस्तुमा असारे भाका हराएको छ । पहिले नौमती बाजाको ताल र असारेगीतको भाका हुन्थ्यो । हिलो सम्याउने बाउसे हुन्थे । कोही पानीको मात्रा मिलाउँथे । कोही ब्याडमा बीउ काढ्थे । कसैले गह्रागह्रामा बीउका मुठा ओसार्थे । रोपाहारले आपसमा उछिनापाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्थ्यो । ८/१० वर्षअघिसम्म रहेको यस्तो प्रचलन अहिले हराएर गएको छ । ‘मानो रोपेर मुरी फलाउने समयका रूपमा लिने यो समयमा गाइने असारे गीत हराउँदै गएको छ,’ कपिलवस्तु नगरपालिका–६, तिलौरीकी उर्मिला गिरीले भनिन्, ‘अचेल डिजे बजाएर धान रोप्न थालेका छन् ।’

आधुनिकतासँगै अमूल्य कला र संस्कृति हराउँदै जाँदा बूढापाका चिन्तित छन् । असारकै कारण छरछिमेकमा आपसी भाइचारा र राम्रो समन्वय हुन्थ्यो । गाउँमा सबै मिलेर पालैपालो खेत रोप्थे । कसैको खेत बाँझो हुन्थेन् । तर, अचेल सबैलाई आफ्नै चटारो हुन्छ । ‘छिटो रोपेर सकुँ भनेर मजदुर खोजेर ल्याएर रोप्छन्,’ शिवराज नगरपालिका उमरीका हरिराम चौधरीले भने, ‘एकअर्काको सहयोग गरुँ भन्ने छैन ।’ यसले आपसी सम्बन्ध र सद्भाव पनि हराउँदै गएको छ । असार त किसानको वर्ष दिनको घर गर्जो टार्ने अभियान पनि हो । तर, छरछिमेकमा पनि एकले अर्काको मतलब गर्दैनन् । सम्पन्न कृषकले बाहिरबाट मजदुर ल्याएर खेत रोप्छन् । गरिब–विपन्नहरू आफ्नो खेत रोपेर भ्याउनासाथ ज्याला मजदुरी गर्न हिँड्छन् ।

असारे भाकाको गीतको आफ्नै महत्त्व छ । काम गर्दागर्दै थकित वातावरणलाई गीतले आनन्ददायी र रोमाञ्चक बनाउँछ । तर, युवा पुस्ताले गीत भुल्दै गएका छन् । ‘कसैलाई गाउन आउँदैन,’ यशोधरा गाउँपालिकाकी सुनिता सैनीेले भनिन् ।

फाँटमा रोपाइँ

प्यूठानका मुख्य फाँटमा जेठ महिनामै रोपाइँ हुन्छ । सिँचाइ नभएका टारी खेतमा असारमा रोपिन्छ । असार १५ गतेसम्म जिल्लामा ८५ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष असार १५ सम्म प्यूठानमा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख भाष्कर पौडेलले बताए । गौमुखी गाउँपालिकाको ठूलाबेंसीदेखि ऐरावती गाउँपालिकाको ऐरावतीसम्म धान रोपाइँ हुने गरेको उनको भनाइ छ ।

मल्लरानी गाउँपालिका–४ सारिबाङका मैतबहादुर नेपालीले जेठ महिनाको दोस्रो साता नै झिमरुक फाँटमा रोपाइँ गरे । झिमरुक नदीको पानीले बाह्रैमास सिँचाइ हुने खेतमा छरछिमेकीसँग मिलेर रोपाइँ गरेको उनले बताए ।

सारिबाङमा रहेको टारीखेतमा बल्ल रोपाइँ गर्दै छन् । फाँटमा रोपाइँ सकेर केही दिन फुर्सदिलो भएपछि टारीमा रोपाइँ सुरु गरेको उनले बताए । ‘बर्खा सुरु भएपछि ठाडाखोलामा पानी हुन्छ अनि टारीखेतमा रोपाइँ गर्न सुरु गर्छौं,’ उनले भने, ‘अबको दुई–तीन दिनमा यस वर्षको रोपाइँ सकिन्छ ।’

प्रकाशित : असार १६, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?