३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विवादले नीति कार्यक्रम र बजेट अनिश्चित

गाउँपालिका अध्यक्षले एकलौटी ढंगले कार्ययोजना र कार्यक्रम सञ्चालन गर्ने गरेको आरोप

भैरहवा — बजेट बाँडफाँटका विषयमा विवाद भएपछि रूपन्देहीको ओमसतिया गाउँपालिकाको नीति कार्यक्रम र बजेट तर्जुमा अनिश्चित बनेको छ । गाउँपालिका अध्यक्ष हीरा केवट र अन्य वडाध्यक्षसहित कार्यपालिका सदस्यबीच बजेट बाँडफाँट, योजना र कार्यक्रमको विषयलाई लिएर विवाद भएपछि बिहीबार पारित हुनुपर्ने नीति कार्यक्रम र बजेट अनिश्चित बनेको हो । 

गाउँपालिका अध्यक्षको विपक्षमा उभिएका बहुमत वडाध्यक्षसहितका कार्यपालिका सदस्यले बिहीबार आह्वान गरिएको गाउँसभा बहिष्कार गरे । अध्यक्ष पक्षधर भने गाउँसभाका लागि तयारी अवस्थामा रहेको र बजेटसहितको नीति कार्यक्रम आवश्यक गणपूरक संख्याले पारित हुन नसकेमा नियम र प्रक्रियाअनुरूप अघि बढ्ने अडानमा छ ।

अध्यक्षको विपक्षमा उभिएका बहुमत पक्षधरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिका अध्यक्ष केवटले एकलौटी ढंगले कार्ययोजना र कार्यक्रम सञ्चालन गर्ने गरेको, आयव्ययको पारदर्शिता नभएको, आर्थिक अनियमितता गरेको, स्वेच्छाचारी ढंगले अगाडि बढ्न खोजेको लगायतका विषयमा आरोप लगाउँदै गाउँसभा बहिष्कार गरेको घोषणा गरेको थियो ।

‘गाउँपालिकामा सञ्चालित अधिकांश योजनामा सम्बन्धित वडाध्यक्षसहितका प्रतिनिधिसँग कुनै समन्वय नगरी गाउँपालिका अध्यक्षले एकलौटी र स्वेच्छाचारी ढंगले अगाडि बढेकाले हामी विरोधमा उत्रिएका हौं,’ ओमसतिया–६ का वडाध्यक्ष शिवकुमार धवलले भने, ‘बिहीबारको गाउँसभा पनि प्रक्रिया र नियमविपरीत रहेकाले हामीले बहिष्कार गरेका हौं ।’

अध्यक्ष केवटले आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम जनताको अत्यावश्यकभन्दा आफूलाई चुनावमा सजिलो हुने गरी प्रचारमुखी योजना ल्याउन खोजेकाले विरोध गरिएको धवलले बताए । गाउँपालिका अध्यक्ष केवटले भने आफ्नो विपक्षमा उभिएका वडाध्यक्षले आफ्नो वडामा आफ्नै तजबिजमा योजना तथा कार्यक्रम सञ्चालन गर्न पाउने गरी २ करोड रुपैयाँको दरले बजेट माग गरेको र गाउँपालिकाको आम्दानीअनुरूप त्यो बजेट उपलब्ध गराउन नसकिने बताएपछि विरोधमा उत्रिएको बताए ।

आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरिने बजेट करिब १५ करोड रुपैयाँको सेरोफेरोमा रहेको, पालिकाका विषयगत शाखा, केन्द्र र प्रदेशले उपलब्ध गराएको समपूरक बजेटका लागि छुट्याउनैपर्ने रकमका कारण माग गरेअनुरूपको बजेट बडामा उपलब्ध गराउन नसकिएको अध्यक्ष केवटले बताए ।

‘प्रत्येक वडामा ८० लाख रुपैयाँसम्म बजेट उपलब्ध गराउन सकिने जानकारी गराएको थिएँ,’ उनले भने, ‘विपक्षमा उभिएका जनप्रतिनिधिले २५ करोडको बजेट बनाउन भनेका थिए तर पालिकाको आम्दानीले नपुग्ने भएपछि त्यस परिमाणको बजेट बनाउन सकिनँ ।’ असार १० गते प्रत्येक पालिकाले नीति कार्यक्रम पारित गरी बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : असार ११, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?