अनलाइन पढाइ, फोनबाट भर्ना

अर्घाखाँची — मालारानी गाउँपालिका–५, बाँगी आँटीघरकी नन्जिता अधिकारी निषेधाज्ञा सुरु भएदेखि स्कुल गएकी छैनन् । कक्षा ६ मा अनलाइनबाटै पढिन् । शिक्षकलाई फोनबाट नाम टिपाएर कक्षा ७ मा भर्ना भइन् ।

अनलाइन पढाइ, फोनबाट भर्ना

‘कोरोनाको बेला शिक्षकले स्कुल आउन हुँदैन भनेर फोनबाटै नाम टिपेर भर्ना गरिदिनुभयो । स्कुल जान नपाउँदा मन अत्तालिएको छ,’ उनले भनिन् । भर्नापछि पनि शिक्षकले अनलाइन क्लास हुने भनेको उनले बताइन् । ‘स्कुलमा गएर पढ्न पाउने दिन कहिले आउला खोइ ?,’ उनले भनिन्, ‘घरमा बसेर अनलाइन कक्षा नबुझिए पनि पढ्नैपर्ने बाध्यता छ । स्कुल जान नपाउँदा मन उकुसमुकस भएको छ ।’

अघिल्लो वर्षको शैक्षिक सत्रमा भर्ना गर्न शिक्षकले घरदैलो गर्थे । कोरोनाका कारण फोनबाट भर्ना लिएका हुन् । अहिले फोन गरेर विद्यार्थी भर्ना गर्नेको लहर चलेको छ । कोरोनाको जोखिमका कारण विद्यार्थीलाई स्कुल बोलाएर भर्ना नगरिएको शान्ति माविका प्रधानाध्यापक मानबहादुर पाण्डेले बताए । ‘फोन गरेर असार ६ गतेदेखि भर्ना गरिरहेका छौं,’ उनले भने, ‘६ सय विद्यार्थीमध्ये बुधबारसम्म ३ सय ५० जना भर्ना भए ।’ अनलाइन कक्षा प्रभावकारी हुन्छ, भर्ना गर्नूस् भनेर शिक्षकले फोन गरेको अभिभावक सीता खत्रीले बताइन् ।

‘स्कुल जान नपाएपछि छोराछोरीको पढाइ बिग्रने चिन्ता छ,’ उनले भनिन् । सदरमुकामको जनज्योति मावि स्कुल प्रशासनले हरेक कक्षामा दुई जना शिक्षकलाई जिम्मेवारी दिएर विद्यार्थीलाई फोन गर्न लगाएको छ । कक्षा ९ मा ९९ जना उत्तीर्ण विद्यार्थीमध्ये ६० जना भर्ना भइसकेको शिक्षक मोतीराज मिश्रले बताए । ६० मध्ये ४० जना विद्यार्थीलाई फोनबाट भर्ना गरिएको उनले बताए । ‘पहिलाजस्तो घरदैलो अभियान सञ्चालन गरेर विद्यार्थी भर्ना गर्न कोरोनाको जोखिम छ,’ जनज्योति माविका प्रधानाध्यापक पशुपति भुसालले भने, ‘आफ्नै स्कुलका विद्यार्थी अरू स्कुलमा गएर भर्ना नहोऊन् भनेर बारम्बार फोन र फेसबुक सम्पर्कमा रहेका छौं ।’

प्रकाशित : असार ११, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?