नेपालगन्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ७७ लाखको बजेट

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ७७ लाखको बजेट

बिहीबार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन गरिएको बताइन् । चालू आर्थिक वर्षमा २०७७/७८ मा नेपालगन्जको कूल बजेट १ अर्ब ४९ करोड ४२ लाख १७ हजार छ । कोभिडका कारण गत वर्ष नेपालगन्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन । कर संकलनमा नेपालगन्ज उद्योग वणिज्य संघसँग सहकार्य गर्ने भएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाले भौतिक पूर्वाधार विकासमा प्राथकिता दिइएको बताए ।

उपमहानगरपालिकाले सम्पूर्ण वडामा भवन निर्माण कार्यलाई निरन्तरता दिने भएको छ । वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माणलाई अगाडी बढाउन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

वडा कार्यालयहरुलाई पक्की सडकले जोडिने र सार्वजनिक भौतिक संरचनाहरु निर्माण गर्दा अपांगमैत्री हुनेगरी निर्माण गरिने भएको छ । नाला नभएका ठाउँमा नाला र नालासहितको कालोपत्रे पिसिसी र ग्राभेल गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुर्खेत रोडको दायाँ बायाँ नाला नभएको स्थानमा व्यवस्थित पक्की नाला बनाउनका लागि आवश्यक पहल गरिने नगर प्रमुख राणाले बताए ।

प्रकाशित : असार १०, २०७८ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?