‘गोरे दाइ’ को अवसान
रोल्पा — ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ’ पुस्तकका लेखक थबाङका गोरे दाइ अर्थात् पूर्णबहादुर रोकामगरको निधन भएको छ । गत साता थबाङमा उनको निधन भएको हो । दुई छोरी र एक छोराका पिता उनी थबाङका पुराना कम्युनिस्ट कार्यकर्तामध्येका एक थिए ।
तत्कालीन सांसद स्वर्गीय बरमन बुढामगरसँगको संगतले उनी कम्युनिस्ट बनेका थिए । पूर्णबहादुरले उक्त पुस्तक ०६८ सालमा प्रकाशित गरेका हुन् । पुस्तकमा थबाङलाई तत्कालीन माओवादी सशस्त्र संघर्षसँग जोड्ने प्रयास गरेका छन् ।
थबाङको भौगोलिक संरचना, इतिहास, सामाजिक र सांस्कृतिक पक्ष एवं प्राकृतिक पक्षबारे उल्लेख गरिएको उक्त पुस्तकमा राजनीतिक सम्बन्धलाई मुख्य महत्त्व दिइएको छ । माओवादीद्वारा सञ्चालित १० वर्षे लामो संघर्षको मुख्य थलोका रूपमा चिनिएको थबाङ कसरी कम्युनिस्ट केन्द्र र थलो बन्यो भन्ने चर्चा उक्त पुस्तकमा छ । पुस्तकका लेखक पूर्णबहादुरले थबाङबाहिरको कम्युनिस्ट नेतृत्वलाई स्थानीयले कसरी सुरक्षित र संरक्षित गरे भन्ने नालीबेली पनि पुस्तकमा उल्लेख गरेका छन् ।
वर्ग संघर्षको सुरुवात र स्थानीयको सहभागिताबारे पुस्तकमा फेहरिस्त उल्लेख गरिएको छ । ‘पुस्तकमा स्थानीयको राजनीतिक संघर्ष, सहभागिता र बलिदानीबारे मुख्य चासो र वर्णन गरिएको छ,’ नेपाल पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष थबाङ निवासी मौसक रोकामगरले स्मरण गरे, ‘थबाङलाई उक्त अवधि र संघर्षसँग जोडेर लेखकले स्थानीयको पहिचान र महत्त्व झल्काएका छन् ।’
पूर्णबहादुर आफैं पनि कम्युनिस्ट हुनुपर्दा भूमिगत भए । धेरैपटक घर छोडेर हिँडे । स्थानीयदेखि राष्ट्रिय सवाल र एजेन्डाबारे बोल्दै र लेख्दै हिँडे । ०१३ सालमा पहिलोपटक थबाङमा कम्युनिस्ट संगठन गठन गर्दा उनी पनि सम्मिलित थिए । बरमन बुढामगरको संयोजकत्वमा गठन भएको पहिलो पुस्ताको उक्त कमिटीका ६ जना संस्थापकमध्ये उनी पनि थिए । पञ्चायतकालीन अवधिमा उक्त कमिटी ०२५ सालसम्म क्रियाशील रह्यो । त्यस क्रममा उनले थुप्रै यातनासमेत पाए । ००६ सालमा थबाङमा जन्मेका उनले ०३२ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।
पूर्वसांसद एवं थबाङ निवासी सन्तोष बुढामगरले पूर्णबहादुरको राजनीतिक इच्छाशक्ति र योगदानको सही मूल्यांकन गर्नु आवश्यक हुने बताए । कम्युनिस्ट आन्दोलनसम्बन्धी थबाङ सधैं नै विश्वविद्यालय भएको दाबी गर्दै नेता बुढामगरले पूर्णबहादुरले आफू जिउँदो हुँदै अतुलनीय योगदान हुने गरी पुस्तक लेख्न सकेकामा गौरव अनुभूति भएको बताए ।
पूर्णबहादुर निकै साधारण जीवनमा बाँचे । अध्ययन र छलफलमा ज्यादै रुचि राख्ने उनी पछिल्लो अवस्थामा भने कम्युनिस्ट आन्दोलन विचलित भएको तर्क गर्थे । पूर्णका छोरा अनरा र छोरी लालकुमारी शिक्षण पेसामा आबद्ध छन् । बुबाको साधारण जीवनशैलीबाट प्रेरित भई शिक्षा क्षेत्रमा आएको उनीहरूले बताए । राजनीतिको केन्द्रीय तहसम्म पुगेका पूर्णका भाइ प्रवेश रोकामगर केही वर्षयता निष्क्रिय छन् । अर्गानिक कृषि उत्पादनमा लागेका रोकामगर तत्कालीन माओवादीका पूर्वजिल्ला इन्चार्जसमेत हुन् । पूर्णकी बहिनी लली रोका तत्कालीन संकटकालमै मारिएकी थिइन् ।
प्रकाशित : असार ९, २०७८ ०८:४२