कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

रामपुर र रैनादेवीमा चुनावकेन्द्रित नीति–कार्यक्रम

माधव अर्याल

पाल्पा — चुनावी वर्ष भएकाले पाल्पाका दुई स्थानीय तहले आकर्षक नारासहित नीति तथा कार्यक्रम ल्याएका छन् । रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाले नवौं नगरसभामा सोमबार नीति तथा कार्यक्रम पेस गरेका हुन् । उनीहरूका कार्यक्रममा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड दिइएको छ ।

रामपुर र रैनादेवीमा चुनावकेन्द्रित नीति–कार्यक्रम

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कोभिड–१९ सँग जुध्न प्रकोप व्यवस्थापन विशेष कोषका लागि चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षका लागि २ करोड रुपैयाँ विनियोजन गरेको बताए । कोषका रूपमा खडा गरेकाले यसमा नगर, देश तथा विदेशमा रहेका शुभेच्छुक र साझेदारबाट रकम जम्मा गर्न सकिने उनले बताए । नगरसभामा समावेश नभएका वा अन्य आवश्यक योजनाहरूको कार्यान्वयनका लागि ‘जनताको अपेक्षा मेयरको शुभेच्छा’ कार्यक्रममा समावेश गरी नगर प्रमुखको निर्णयअनुसार कार्यान्वयन गर्ने योजना अघि सारेका छन् । ‘हाम्रो रामपुर, राम्रो रामपुर, हाम्रो वडा, राम्रो वडा, हाम्रो टोलको विकास जनताको अपेक्षित निकास’ भन्ने नाराका साथ जनतालाई विकास निर्माण प्रक्रियामा अधिकतम सहभागिता गराइने नगर प्रमुख थापाले बताए ।

‘एक वडा एक बालमैत्री कक्षाकोठा’ भन्ने नाराका साथ प्राथमिक विद्यालयका सम्बन्धित शिक्षकलाई बालमैत्री शिक्षण तालिम दिने भएको छ । ‘हाम्रा जनप्रतिनिधि, हाम्रा शिक्षक हाम्रा बाबुनानीको संरक्षक’ कार्यक्रममार्फत छात्रवृत्ति वितरण, विद्यालयमा अतिरिक्त क्रियाकलाप गराइनेछ । ‘उपमेयरको कोसेली, सीपबाट हुनेछ दिगो आर्थिक आम्दानी’ नारालाई आत्मसात् गर्दै उपमेयर कोसेली कार्यक्रम सञ्चालन गरिनेछ । उपमेयरकै कार्यक्रमअन्तर्गत ‘उपमेयरको चिनारी मेरो नगर मेरो जिम्मेवारी’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रशासकीय सुशासनअन्तर्गत सार्वजनिक प्रशासनमा सदाचार र इमानदारी प्रवर्द्धन गर्दै ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ अभियानलाई निरन्तरता दिइनेछ । नगरवासीका अनुसार ‘हामीले तिरेको कर, नगर विकासको आधार’ भन्ने आदर्शलाई नगरवासीको चाहना मुताबिक अघि बढाइनेछ ।

कर्मचारीहरूमा ‘रहरले काम गरौं हाँसेर सेवा गरौं’ भन्ने भावनाको विकास गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । ‘रामपुर नगर ढलरहित सहर’ लाई मूर्तरूप दिने गरी सोहीबमोजिम भवन निर्माणलगायत सरसफाइका कार्यक्रम सञ्चालन गरिनेछ । रामपुरले सबै सेवाका कर्मचारीको न्यूनतम तलब १५ हजार र अन्य सेवा करारका कर्मचारीको न्यूनतम तलबमा २ हजार वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि ७४ करोड ६४ लाख ६१ हजारको बजेट उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले प्रस्तुत गरेकी छन् । सोही सभामा विषयगत समितिका संयोजक, न्यायिक समितिबाट प्रतिवेदनसमेत प्रस्तुत गरिएको छ ।

रैनादेवी छहरा गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमअन्तर्गत सोमबार कोभिड–१९ रोकथाम, उपचार तथा व्यवस्थापनका लागि महत्त्व दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड–१९ र कृषिलाई प्राथमिकता दिएर बजेट ल्याउने गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । कोरोना भाइरसबाट प्रभावित गाउँपालिकावासीलाई सहयोग हुने प्रकृतिका योजना र कृषि क्षेत्रको विकास, प्रोत्साहन र स्वरोजगारका कार्यक्रम ल्याइएको छ । वडाबाट प्राप्त योजनाका आधारमा ठोस योजना तथा कार्यक्रम तय भएको छ । उपाध्यक्ष चेतकुमारी थापाका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन भएका र पूरा नभइसकेका योजनालाई निरन्तरता दिएको छ । नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा अघिल्ला वर्षकै प्रकृतिका योजना ल्याएको प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षत्रीले बताए । रैनादेवी छहराले आउँदो बिहीबार बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित : असार ८, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?