१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुपादेउरालीमा पर्यटकीय झोलुंगे पुल

वीरेन्द्र केसी

अर्घाखाँची — धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरनजिकै दुई पहाडलाई जोड्न पर्यटकीय झोलुंगे पुल निर्माण गरिएको छ । सुपादेउराली मन्दिर दर्शन र नरपानी घुम्न आउने पर्यटकलाई नर्तनाञ्चल पर्वतका दुई चुचुरो घुमाउन २ सय ७३ मिटर लामो झोलुंगे पुल बनाइएको हो ।

सुपादेउरालीमा पर्यटकीय झोलुंगे पुल

पहाडको खोचमा सुपादेउराली मन्दिर छ । दैनिक सयौंको संख्यामा तीर्थालु मन्दिर दर्शनका साथै नरपानी घुम्न आउँछन् । नरपानी घुम्ने आन्तरिक पर्यटकको संख्या पनि दैनिक एक सयभन्दा बढी हुन्छ । मन्दिर दर्शनपछि छिनभरमै फर्किने पर्यटकलाई यहाँ भुलाउन पुल बनाइएको बताइएको छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा रहेको सुपादेउराली मन्दिरदेखि करिब एक किलोमिटर जंगलभित्रबाट सिँढी चढेर उकालो लागेपछि झोलुंगे पुलमा पुगिन्छ । कोरोना संक्रमणका कारण अहिले मन्दिर बन्द छ । पुल निर्माण सम्पन्न भएपछि मनोरञ्जन गर्ने र तस्बिर, भिडियो खिच्ने पर्यटक यहाँ देखिन थालेका छन् ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीको पहलमा झन्डै १ करोड रुपैयाँ लगानीमा पुल निर्माण भएको हो । ‘मन्दिर दर्शनपछि तुरुन्तै फर्किने भक्तजन अब पुलमा पुगेर आनन्द लिने पर्यटकीय संरचना बन्यो,’ सुपादेउराली मन्दिर व्यवस्थापन समितिका सचिव यादवप्रसाद घिमिरेले भने, ‘यहाँ आएका भक्तजनलाई भुलाउन यो पुलसँगै अन्य पर्यटकीय संरचना निर्माण गर्नुपर्छ । कम्तीमा एक दिन भुल्न सक्ने संरचना भएमा यस क्षेत्रले आर्थिक फड्को मार्न सक्छ ।’ मन्दिरदेखि तलपट्टि सुपा खोलामा दर्शनका लागि आउने भक्तजनलाई स्नान कक्ष निर्माण गर्न लागिएको छ । पुलबाट पदयात्रामार्फत नर्तनाञ्चल पर्वतका दुई चुचुरोमा पर्यटकलाई पुर्‍याउने र माथि मन्दिर निर्माण गरिने योजना पनि रहेको उनले बताए ।

गर्मी छल्न तराईका विभिन्न जिल्ला र भारतबाट नरपानीमा बास बस्ने गरी आउने पर्यटक पनि उत्तिकै छन् । पर्यटकलाई भुलाउन झोलुंगे पुल निर्माण भएको सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष प्रीतम थापाले बताए । ‘पुलमा गएपछि तलपट्टिको मन्दिर राम्रो देखिन्छ,’ उनले भने, ‘पुलले यस क्षेत्रको गरिमा बढायो ।’ यो पुल छाँगोसहितको दुई पहाडका बीचमा निर्माण भएको छ । पर्यटकलाई मनोरञ्जनका लागि झोलुंगे पुल निर्माणसँगै यहाँ अन्य पर्यटकीय संरचना निर्माण गरिने पूर्वमन्त्री टोपबहादुर रायमाझीले बताए ।

यहाँ आउने पाहुनालाई स्थानीय उत्पादनका खानाका परिकारका लागि कोदो, फापर, सिस्नो, गुन्द्रुक, ढिडोलगायतका खाद्य तथा तरकारी खेतीमा सन्धिखर्क नगरपालिकाले कृषकलाई आकर्षण गरेको नगर प्रमुख कमलप्रसाद भुसालले बताए । पर्यटकलाई डुंगामा मनोरञ्जन गराउन नरपानीमा गंगा सरोवर निर्माण गरिएको उनले बताए । ताल वरपर बस्न सिँढी निर्माण गरिएको छ ।

प्रकाशित : असार ८, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?