स्वास्थ्यकर्मीले नै पाएनन् बिमा रकम

प्रशासन र बिमा कम्पनीबीचको असमझदारीले रकम पाउन ढिलाइ
मधु शाही

बाँके — नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा कार्यरत ९० जना स्वास्थ्यकर्मी र कर्मचारीले कोभिड स्वास्थ्य बिमाबापतको रकम नपाएको बताएका छन् । प्रशासन र बिमा कम्पनीबीचको असमझदारीले बिमाबापतको रकम नपाएको उनीहरूले बताएका हुन् । 

स्वास्थ्यकर्मीले नै पाएनन् बिमा रकम

दोस्रो लहरको कोरोना सुरु भएदेखि अस्पतालको नियमअनुसार काममा खटिएकी सरिता राजखाँले आफ्नो इच्छामा एक दिन पनि बिदामा बस्न पाइनन् । रातदिन तालिकाअनुसार कोभिड वार्डमा बिरामीको सेवा गरिरहिन् । अस्पतालमा काम गर्दागर्दै संक्रमित भइहाले आर्थिक सुरक्षाको जोहो गर्न उनले स्वास्थ्य बिमासमेत बेलैमा गराएकी थिइन् । तर, जुन भरोसाले बिमा गराएकी थिइन्, त्यो सेवा बेलैमा नपाउँदा अहिले उनी उदासीन छन् । कोभिडका बिरामीको उपचार गर्दागर्दै उनी आफैं संक्रमित भएकी हुन् ।

पुसमा संक्रमित भएकी उनी कोभिड बिमा रकम बेलैमा पाउने खबरले खुसी थिइन् । तर, ६ महिना बितिसक्दा पनि प्रशासनले बिमा पाउने वा नपाउने कुनै वचन नदिएपछि अहिले उनी खिन्न छन् । तीन सय बिरामीको उपचारमा खटिँदा उनले धेरैपटक निद्रा गुमाएकी छन् । अहिले कोभिडका बिरामीको चाप घट्दै गएको छ । यद्यपि, यहाँका स्वास्थ्यकर्मी काममै खटिएका छन् । ‘प्रशासनले डकुमेन्ट सबै दिएको छ भन्छ,’ उनले भनिन्, ‘कम्पनीले कहिले दिने हो कुरै गर्दैन ।’

नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा कार्यरत डा. देवेन्द्र आचार्य मंसिरमा संक्रमित भए । अस्पतालमा काम गर्दागर्दै उनी संक्रमित भएका हुन् । प्रशासनको भरोसा गरेर कोभिड बिमा गराएका उनले जतिबेला आवश्यक पर्ने हो, त्यतिबेला रकम पाएका छैनन् । डा. सुमित पाण्डेसँगै संक्रमित भएका साथीले कोभिड बिमाबापतको रकम पाए । तर, उनी ६ महिना बितिसक्दा पनि प्रशासनमा धाइरहेका छन् । आवश्यक प्रक्रिया पूरा भइसकेको तर माथिबाटै पैसा आउन बाँकी रहेको भन्दै इन्स्योरेन्स कम्पनीले जवाफ दिएको उनले सुनाए ।

अस्पताल प्रशासनले शिखर इन्स्योरेन्स कम्पनीमा कर्मचारीको बिमा गराएको थियो । आवश्यक कागजात सबै उपलब्ध गराएको तर माथिबाटै पैसा नआउँदा बिमा रकम रोकिएको इन्स्योरेन्सका नेपालगन्ज शाखाका कर्मचारी उपेन्द्र थपलियाले बताए । संक्रमित भएको एक साताभित्र बिमा रकम दिनुपर्ने नियम भएको उनले सुनाए । असार मसान्त लागिसक्दासमेत बिमा रकम भुक्तानी नहुनुले कर्मचारीमा थप बेचैनी बढेको अस्पतालका कर्मचारी केपी घिमिरेले बताए । कोहलपुर मेडिकल कलेजका प्रशासन प्रमुख सञ्जय पन्तले प्राइभेट अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि सरकारले विभेद गरेको जनाए । सरकारी निकायमा आबद्ध स्वास्थ्यकर्मीले बिमा रकम पाइरहेको बताउँदै उनले इन्स्योरेन्स कम्पनीको बदमासी पनि देखिएको आरोप लगाए ।

प्रकाशित : असार ८, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?