कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सत्तीघाट पुल जोखिममा

कमल पन्थी

बर्दिया — जिल्लाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीमा निर्मित सत्तीघाट पुल जोखिममा परेको छ । नदी कटान रोक्न निर्माण गरिएको ग्याभिन पानीको वहाव बढ्दै गएपछि बग्न थालेपछि पुल जोखिममा परेको हो ।

सत्तीघाट पुल जोखिममा

पुलको पूर्वपट्टि कटान रोक्न बनाइएको तटबन्धको ग्याभिन भासिन थालेको छ, जसले पुलसँग जोडिएको हुलाकी सडक कटान भई किनारबाट नदी बग्न सक्ने राजापुर नगरपालिकाका प्रमुख शिव चौधरीले बताए । पुल छाडेर नदी बगे राजापुर–४ को संघर्षनगर, मुक्त कमैया बस्ती, छेदियालगायत दर्जन गाउँमा बाढी पस्ने खतरा बढ्नेछ । जलस्तर बढ्दै गएपछि कर्णालीमा कटान सुरु भएको हो ।

पूर्वपट्टि पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम बढेको छ । विगत दुई वर्षदेखि कर्णालीमा ठूलो बाढी आएको छैन । गत वर्ष उक्त पुलमा भ्वाङ परेको थियो । जेनतेन टालटुल पारेर बनाए पनि सुरक्षित नभएको उद्योग वाणिज्य संघ राजापुरका महासचिव केदार थापाले बताए ।

५ सय ३१ मिटर लामो उक्त पुल तीन वर्षअघि ४६ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । स्थानीयले पटक–पटक पुल जोगाउन तटबन्ध लगाउन माग गर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा नदीले स्लोभ जाली बगाएको थियो । जालीमा ढुंगा हाले पनि पानीको वेगले खस्कँदै गएको छ । हुलाकी आयोजना कार्यालय नेपालगन्जका प्रमुख गगलकुमार भण्डारीले ठूलो बाढी आए गेभिन भासिएर पुल जोखिममा पर्ने बताए । यसका लागि केन्द्रमा जानकारी गराई तत्काल यसको रोकथामका लागि पत्राचार गरेको उनले जनाए ।

हुलाकी सडक आयोजनाअन्तर्गत यस पुलमा १४ वटा पिलर छन् । कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेको छ । यहाँ थप एक पिलर निर्माण गर्नुपर्ने थियो । पूर्वतर्फ करिब ७५ मिटर कटान गरेको ठाउँमा थप एक पिलर राख्नुपर्ने सल्लाह प्राविधिकले दिएका थिए । एउटा पिलर राख्न ४ करोड रुपैयाँ माग गरे पनि अर्थ मन्त्रालयले निकासा नदिँदा रोकिएको थियो । पिलर नबनाई माटो पटान गरी बनाइएको टालटुले तटबन्ध नदीले कटान गर्न थालेपछि पुल जोखिममा परेको हो ।

प्रकाशित : असार ७, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?