पर्यटक तान्न छाता प्रतीक्षालय

कपिलवस्तु — वाणगंगा नगरपालिका–७ का मुख्य चोक र बजार क्षेत्रमा छाता आकारका प्रतीक्षालय बनाइएका छन् । पर्यटक आकर्षित गर्न र नमुना कामअन्तर्गत प्रतीक्षालय बनाइएका हुन् । पूर्व–पश्चिम राजमार्गको कोइली वनगाई, खारखानी, धैरेनी डाँडा र वाणी गाउँमा यस्ता प्रतीक्षालय बनाइएका हुन् । 

पर्यटक तान्न छाता प्रतीक्षालय

छाता शैलीका प्रतीक्षालय राम्रा र सुन्दर देखिएका छन् । ‘बजार र टोलकै आकर्षण थपेको छ,’ कोइली वनगाई टोल विकास संस्थाका अध्यक्ष तिलक काउचाले भने, ‘जसले पनि एकपटक टक्क रोकिएर प्रतीक्षालय हेरेकै हुन्छ ।’ छातामुनि बस्न र आराम गर्न सर्वसाधारण उत्साहित हुँदै पुग्ने गरेका छन् । सिर्जनात्मक काम हुँदा हेर्न आउने, फोटो र सेल्फी खिच्ने पनि उत्तिकै बढेका छन् ।

फलामको च्यादरले छाताको माथिल्लो भाग र बस्न मिल्ने गरी स्टिल बिछ्याइएको छ । फलामको हेन्डिललाई जमिनमा गाडेर छाता ठड्याइएको जस्तो देखिन्छ । ९ फुट अग्ला र ६ फुट गोलाइका प्रतीक्षालयमा छाताको माथिल्लो भाग विभिन्न रंगले रंग्याइएको छ । प्रतीक्षालयमा १३ देखि १५ जनासम्म बस्न मिल्छ । ८ लाख रुपैयाँको लागतमा चारवटा प्रतीक्षालय बनाइएको वडाले जनाएको छ । आगामी आवको पहिलो चौमासिकमा वडाका थप चार ठाउँ गन्सवा चोक, मोतीपुर देउराली टोल, घेरवा बनगाई र चौरी गाउँ चोकमा त्यस्ता प्रतीक्षालय बनाइने निर्णय भएको पनि वाणगंगा–७ का वडाध्यक्ष विष्णु गिरीले बताए । ‘गत वर्ष मकवानपुर भ्रमणमा गएका बेला बाटोमा एक जनाले ठूलो रंगीचंगी छाता बोकेर हिँडेको देखेँ,’ उनले भने, ‘उनले छाताको महत्त्व बताउँदै हिँडेका थिए ।’

छाताको महत्त्वबाट प्रभावित भएर यस्तो प्रतीक्षालय बनाउने सोच आएको उनले सुनाए । नगरभित्रका धेरै ग्रिल उद्योगमा चहारे पनि त्यस्ता प्रतीक्षालय बनाउन कोही राजी नभएको वडाध्यक्षले सुनाए । ‘तर, कोपवाका एक जना मिस्त्रीले आँट गरे,’ उनले भने, ‘साँच्चै सबैको मनछुने बनाएका छन् । म आफैं पनि धेरै खुसी छु । प्रतीक्षालय बस्न, सुत्न र आराम गर्न मिल्ने खालको छ । घाम, पानी र शीतबाट ओत मिल्छ । भुइँमा टायल बिछ्याइएको छ । अब वडाका चोकचोकमा छाता प्रतीक्षालय बनाउँदै चार वर्षभित्र नेपालकै पहिलो छाता वडा बनाउने लक्ष्य लिएर काम गरिरहेको वडाध्यक्ष गिरीले बताए ।

वडाको फरक पहिचान र परिचय दिन २० भन्दा बढी यस्ता छाता प्रतीक्षालय वडाभित्र बनाउने योजना रहेको उनले सुनाए । ‘हरेक वर्ष १० फेब्रुअरीका दिन विश्व छाता दिवस मनाइन्छ,’ वडाध्यक्ष गिरीले भने, ‘छाताको महत्त्व र विशेषता बुझाउन अर्को वर्षदेखि यहाँ भव्य रूपमा छाता दिवस मनाउने योजना बनाएको छु ।’

प्रकाशित : असार ६, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?