होम आइसोलेसनमै पुगेर परामर्श

औषधि र स्वास्थ्य सामग्रीसमेत दिएपछि बिरामीको आत्मबल बढ्ने अपेक्षा
दुर्गालाल केसी

दाङ — होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई घरमै पुगेर चिकित्सकहरूले परामर्श दिन थालेका छन् । घरमा बसिरहेका संक्रमितलाई स्वास्थ्यकर्मीसम्म पहुँच नहुँदा उचित सल्लाह र सुझाव पाउन कठिन भइरहेका बेला यो अभियानले मनोबल बढाएको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकीय परामर्शको आवश्यकता रहेको महसुस गरेपछि रोटरी क्लब अफ दाङले चिकित्सकसहित घरमै बिरामी भेट्ने अभियान थालेको हो । 

होम आइसोलेसनमै पुगेर परामर्श

घरमै चिकित्सक पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिई औषधि र स्वास्थ्य सामग्रीसमेत दिएपछि बिरामीको आत्मबल उच्च भएको रोटरी क्लब अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेले बताए । ‘घरमा बसेका बिरामी धेरै नै अन्योलमा छन् । के औषधि खाने, के के कुरामा ख्याल गर्ने भन्ने थाहा छैन,’ उनले भने, ‘कतिपयले जथाभावी औषधि आइरहेका छन् । कतिपय केही पनि नखाएर बसेका छन् । उनीहरूलाई उचित परामर्शको अभाव देखिएको छ । अहिले हामी घरमा पुगेपछि धेरै नै सहज भएको छ ।’ घरघरमा पुगेर बिरामीलाई परामर्श दिई औषधि, अक्सिमिटर, थर्मोमिटरलगायतका उपकरण दिएको पाण्डेले बताए । ‘गाउँमा अक्सिजन र ज्वरो नाप्ने साधन पनि छैन । धेरैलाई यसबारे ज्ञान छैन । कतिले किन्न सकेका छैनन्,’ उनले भने, ‘छरछिमेकमा खोज्दा पनि नपाएपछि कतिपय टाढा गएर नाप्न बाध्य छन् । यस्तो बिजोग थाहा पाएपछि हामीले घरमै गएर भेट्ने र आवश्यक उपकरण दिने अभियान थालेका हौं ।’

बिरामी भेटिसकेपछि उनीहरूको अवस्थाअनुसारका औषधि र स्वास्थ्य सामग्री पनि प्रदान गर्ने गरेको डा. पाण्डेले बताए । होम आइसोलेसनमा रहेका बिरामीको उचित हेरचाह, परिवारका अन्य सदस्यको सावधानी र मास्क लगाउने कुरामा अझै पनि लापरबाही रहेको उनले बताए । हालसम्म घोराहीमा होम आइसोलेसनमा रहेका ८३ संक्रमित र १ सय ५० बढी बिरामीलाई परामर्श दिएको उनले बताए । गाउँगाउँमा भित्रभित्रै संक्रमण धेरै नै फैलिएको पाइएको उनले बताए । ‘सहरी क्षेत्रमा संक्रमण धेरै नै घटिसकेको छ । गाउँतिर अलि बढी छ । धेरैले कोरोनाको लक्षण भए पनि जाँच गराएका छैनन्,’ उनले भने, ‘जाँच नगराएकालाई गर्न सुझाव दिएका छौं । थप केही समस्या आए सम्पर्क गर्न डाक्टरहरूको फोन नम्बरसहितको विवरण छोड्ने गरेका छौं ।’

बिरामीलाई कुनै पनि बेला केही समस्या परेमा डाक्टरहरूले फोनमार्फत पनि परामर्श गर्ने गरेको रोटरी क्लब अफ दाङका पूर्वअध्यक्ष संकल्प श्रेष्ठले बताए । ‘हामीले डाक्टरहरूको सम्पर्क नम्बर पनि छोडेका छौं । बिरामीले सम्पर्क गर्न सक्ने समय पनि लेखिदिएका छौं,’ उनले भने, ‘बिरामीले पालोपालो डाक्टरलाई सम्पर्क गर्न सक्नुहुन्छ । बिरामीले फोनबाटै आवश्यक सल्लाह र सुझाव पाउनुहुन्छ ।’ डाक्टरहरू प्रघोष क्षत्री, बोम बीसी, अमित लाम्गादे, दिनेश उप्रेती, आजीवन गौतम र दिपेश साहले घरदैलो र फोनबाट परामर्श दिइरहेका छन् । डाक्टरहरूले परामर्श दिइसकेपछि बिरामीलाई आधारभूत स्वास्थ्य उपकरण र सामग्री रहेको होम आइसोलेसन किटसमेत उपलब्ध गराइरहेको उनले बताए ।

होम आइसोलेसनमा रहेका बिरामीहरू निकै निराश अवस्थामा रहेको र डाक्टरहरू घरमै पुगेपछि धेरै नै आशावादी भएको घरदैलोमा हिँडेका डा. दिनेश उप्रेतीले बताए । ‘धेरै बिरामी अन्तिम अवस्थासम्म पनि स्वास्थ्य जाँच नगरेर बसेको पाइयो । कतिले गाउँमै जँचाएर औषधि खाएको पाइयो,’ उनले भने, ‘हामीले अहिले खाइरहेको औषधि सबै जाँच गरी थप नयाँ औषधि दिएका छौं । स्वास्थ्य सावधानीबारे जानकारी दिएका छौं ।’ पीसीआर परीक्षणमा भएको कठिनाइलाई मध्यनजर गर्दै यसअघि रोटरीले घरघरमै पुगेर स्वाब संकलनको काम पनि गरेको थियो । यसैगरी होम आइसोलेसनमा रहेका कोरोनाका बिरामी बोक्ने गाडी नपाएपछि १० वटा अटो एम्बुलेन्स पनि चलाइरहेको रोटरीका कार्यक्रम संयोजक मीनराज भाटले बताए ।

प्रकाशित : असार ६, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?