कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

केन्द्रमा पुग्न नसक्दा खोपबाट वञ्चित

खोप लगाउन तीन घण्टा पैदल 
अविरल वर्षा र विकट भूगोलले बाधा

प्यूठान — स्वर्गद्वारी नगरपालिका–१, कोचिबाङका बोमबहादुर खत्रीले गत जेठ २५ गते कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाए । तीन घण्टा पैदल यात्रापछि नगरपालिकाले सञ्चालन गरेको खोप केन्द्रमा पुगेको उनले बताए । ‘घर विकटमा छ,’ उनले भने, ‘आउजाउमै ६ घण्टा लाग्यो ।’

केन्द्रमा पुग्न नसक्दा खोपबाट वञ्चित

उनको गाउँका ५१ जनाको नाम खोप लगाउने सूचीमा थियो । तर, २१ जनाले मात्रै खोप लगाए । खोप केन्द्रसम्म पुग्न समस्या भएकाले बाँकी व्यक्ति खोप लगाउन नआएको खत्रीले बताए । ‘खोप लगाउनुपर्छ भन्ने जानकारी छ,’ उनले भने, ‘नजिक खोप केन्द्र नहुँदा लगाउन सकेनन् ।’

खोप लगाउन एक दिन पूरै खर्च गर्नुपरेको खत्रीले बताए । उक्त नगरपालिका अन्तर्गत सल्लेबोटका तिलक विष्टले पनि खोप लगाएनन् । नगरपालिकाले खोप लगाउन जानकारी दिएको थियो । बारम्बार आग्रह गरे पनि खोप केन्द्र पुग्न समस्या भएपछि नलगाएको उनले बताए । ‘बर्खा लागेकाले बाटो हिँड्नेजस्तो छैन,’ उनले भने, ‘त्यसैले जान सकिनँ ।’ स्वर्गद्वारीको टोड्यार, बादसिंह, सल्लेबोट र लखनताराबाट खोप केन्द्रसम्म आउन ३ घण्टाभन्दा बढी समय लाग्छ । स्वर्गद्वारीले ८० वर्ष उमेर कटेकालाई खोप लगाउने कार्यक्रम सुरु गर्‍यो । नगरभित्र अन्य क्षेत्रमा कार्यक्रम सफल भएको थियो ।

दुर्गम कोचिबाङमा खोप अभियान सफल नभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए । ‘कोचिबाङमा ८० वर्षमाथिका २ जना छन्,’ उनले भने, ‘दुई जनालाई नै खोप दिन सकिएन ।’ खोप केन्द्रसम्म ज्येष्ठ नागरिक आउन नसक्ने र भूगोलका कारण गाउँमै पुगेर खोप दिन सक्ने अवस्था नभएको उनले बताए । नगरपालिकामा ६२ देखि ६४ वर्ष उमेर समूहका लागि ४ सय ८० मात्रा खोप उपलब्ध भए पनि त्यसको ६५ प्रतिशतले मात्र लगाएको उनले बताए ।

गौमुखी गाउँपालिकामा लक्षित समूह उपस्थित नभएपछि अन्य उमेर समूहकालाई खोप लगाइएको छ । विभिन्न बहाना देखाउँदै लक्षित समूह खोप अभियानमा उपस्थित नभएको गौमुखी–१ का वडाध्यक्ष मानबहादुर थापाले बताए । ‘माथि गोठमा बस्नेहरू खोप लगाउन आएनन्,’ उनले भने, ‘गाउँमा अझै पनि खोप नलगाई जितिन्छ भन्ने छ ।’ उक्त वडामा ४२ जना लक्षित समूहका व्यक्ति भए पनि २७ जनाले मात्रै खोप लगाएको उनले बताए । गौमुखीको अर्खा, रजवार क्षेत्रमा गोठ बनाएर बस्तीदेखि टाढा बस्ने हुँदा केही खोप लगाउनबाट छुटेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘गाउँमा कमै भेटिन्छन्,’ उनले भने, ‘खोप लगाउन आउन झनै समस्या छ ।’ सहरी क्षेत्रमा खोप लगाउन हानथाप गर्ने गरिए पनि दुर्गमा लक्षित समूह नै अनुपस्थित हुने गर्छ ।

७० प्रतिशत लक्षित समूहले खोप लगाए पनि ३० प्रतिशत भौगोलिक अवस्था र यातायातको पहुँचबाहिर हुँदा सहभागी नभएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुष्कल श्रेष्ठले बताए । जिल्लामा भेरोसेल खोपअन्तर्गत ३ हजार ५ सय १३ जनालाई खोप लगाइएको हो । ‘पहिले छुटेका फ्रन्टलाइनरहरूलाई पनि खोप दियौं,’ उनले भने, ‘पहिलो प्राथमिकता लक्षित समूह नै हो तर आउन नसकेपछि अन्यलाई दिएका हौं ।’ लक्षित समूह सहभागी नभएपछि उमेर हेरेर जोखिममा भएकालाई खोप लगाइएको उनले बताए ।

मल्लरानी गाउँपालिकामा पनि लक्षित समूहका लागि आएको खोप अन्यलाई दिइएको छ । लक्षित समूह खोपमा सहभागी नभएपछि अन्यलाई खोप दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए । ‘बर्खा सुरु भएकाले सबै जना खोप लगाउन आउन सम्भव भएन,’ उनले भने, ‘९० डोज खोप स्टक छ ।’ पाँचवटा खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरे पनि सबै जनालाई केन्द्रसम्म ल्याउन नसकिएको उनले बताए । ‘गाउँसम्म गाडी जाने अवस्था पनि छैन,’ उनले भने, ‘पहिरोले सडक अवरुद्ध छन् ।’ नियमित पानी परेकाले पनि खोप अभियानमा उपस्थिति कम भएको उनको भनाइ छ ।

नौबहिनी गाउँपालिकामा पनि लक्षित समूहका लागि आएको ४ सय ५७ डोज खोप लक्षित समूह उपस्थित नभएपछि अन्यलाई दिइयो । गाउँपालिकाको स्याउलिबाङ, उपल्लो खबाङ र फोप्लीको पाकचौरका ज्येष्ठ नागरिक खोप अभियानमा कम उपस्थित भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले बताए । ‘साविकका स्वास्थ्य चौकीमा खोप केन्द्र चलाएका थियौं,’ उनले भने, ‘खोप केन्द्रसम्म आउनै केहीलाई ३ घण्टाभन्दा बढी समय लाग्छ ।’ गाउँपालिकाका ३५ प्रतिशत ज्येष्ठ नागरिक खोप अभियानमा सहभागी नभएको शर्माले बताए ।

प्रकाशित : असार ६, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?