कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘भोका’ लाई बेवास्ता

सहरी गतिविधिमा आश्रित मजदुर धेरै मारमा परे पनि स्थानीय तहले राहत र रोजगारीका कार्यक्रम सञ्चालन गरेका छैनन्
सन्जु पौडेल

लुम्बिनी — रुपन्देहीको सैनामैना नगरपालिका–१ मा कोठा भाडामा बसिरहेका प्यूठानका ४६ वर्षीय फुर्सबहादुर महतराका तीन छोरी र श्रीमती छन् । मजदुरी गरेर परिवार हुर्काउँदै आएका उनले डेढ महिनादेखि मजदुरी पाएका छैनन् । कोरोना संक्रमणले यतिबेला उनको परिवारको गाँस काटिरहेको छ ।

‘भोका’ लाई बेवास्ता

भाडामा बसिरहेको खरले छाएको घर मनसुनलगत्तै चुहिन थालेपछि विस्थापित भएका छन् । घर पुनर्निर्माण गर्नुको साटो घरधनीले निस्कन भनेपछि नजिकैको विद्यालयको निर्माणाधीन भवनमा बसिरहेका छन् । ‘विद्यालय खुल्नासाथ यहाँबाट पनि निस्किनुपर्छ,’ उनले भने, ‘त्यसपछि कहाँ जाने, थाहा छैन ।’ उनले समस्याबारे वडाध्यक्षलाई जानकारी गराएको बताए । तर जनप्रतिनिधिले कुनै सहयोग गरेनन् । बरु अन्य मनकारीले खाद्यान्न सहयोग गरेको उनले बताए । ‘गुजारा चलाउन धौधौ भो,’ उनले भने, ‘काम बन्द भएर बस्नुपर्दा साह्रै दुःख पायौं ।’ साना छोरीलाई पढाउने जिम्मा एकातिर छ भने बन्दभरि काम गर्न नपाएको पीरैपीरले बिरामी पर्न थालेको उनले बताए । ‘मानसिक पीडा उस्तै छ,’ उनले भने ।

बाँके नेपालगन्जकी उषा गुरुङ काठमाडौं जाने क्रममा एक साताअघि बुटवल आइपुगिन् । दुई वर्षीया छोरी बोकेर आएकी उनी निषेधाज्ञाले यहाँबाट कतै जान पाइनन् । बुटवलको सडक किनारमा अलपत्र अवस्थामा भेटिएकी उनले काम नपाएपछि बेखर्ची भई विरक्तिएर घरबाट निस्किएको बताइन् । उनीसँगै केही साथी पनि थिए । उषासित चारपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र छ । त्यसैले गाडी चलाएर भए पनि जीवन निर्वाह गर्ने उद्देश्यले काठमाडौं जान खोजेको उनले बताइन् । ‘निषेधाज्ञाले अलपत्र परेपछि घर छाडें,’ उनले भनिन्, ‘नत्र दुई वर्षकी छोरी बोकेर महामारीका बेला हिँड्न कसलाई मन थियो र ? बाध्यता र भोकले परिस्थिति बदलिदिने रहेछ ।’ उनी अहिले बुटवलमा एउटा संस्थाको सहयोगमा बसिरहेकी छन् ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा निषेधाज्ञा जारी छ । जसले गर्दा दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मारमा परेका छन् । सहरी गतिविधिमा आश्रित मजदुर धेरै मारमा परेका छन् । तर स्थानीय तहले राहत र रोजगारीका कुनै कार्यक्रम सञ्चालन गरेका छैनन् । एक वर्षअघि संक्रमणका बेला स्थानीय तहले राहत वितरणलाई ध्यान दिएका थिए । वडावडाले खाद्यान्न वितरण गरेका थिए । यस वर्ष राहत वितरणमा जोड दिएका छैनन् ।

केही स्थानीय तहले यस वर्ष पनि राहतको कार्यक्रम आन्तरिक रूपमा सञ्चालन गरेको दाबी गरे । चुलो नबल्ने स्थानीयलाई वडा र सहजीकरण केन्द्रमार्फत उपमहानगरले राहत उपलब्ध गराइरहेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । ‘वडाध्यक्षले पहिचान गर्ने गरी सिफारिस माग गरिएको छ,’ उनले भने, ‘त्यसबाहेक चार ठाउँमा सहजीकरण केन्द्र राखेरसमेत सेवा दिन तयार बसेका छौं ।’ स्थानीय सरकारको सम्पर्कमा आएका समस्यामा परेका नागरिकलाई रित्तो हात नफर्काइएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । सरकारी योजनामा अहिले पनि १ हजार स्थानीय मजदुरले काम गरिरहेको र पारिश्रमिक पाइरहेको उनले बताए । ‘सस्तो लोकप्रियताका लागि राहत वितरण गर्ने काम गरिएन,’ उनले भने ।

गत वर्ष राहत वितरण विवादित भएपछि यस वर्ष सञ्चालन नगरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । ‘अति विपन्नलाई थोरैथोरै दिएका छौं,’ उनले भने, ‘बाहिर मजदुरी गर्नेभन्दा किसान धेरै रहेकाले यस वर्ष अप्ठ्यारो पर्‍यो भन्ने कम आएका छन् ।’ जिल्लाभर निर्माण र उद्योगसँगै कृषिका काम नरोकिएकाले मजदुर भोको नरहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘स्थानीय तहले नागरिकलाई गाह्रो परे आन्तरिक सहयोग गरिरहेकै छन्,’ उनले भने, ‘क्वारेन्टाइनकै व्यवस्था गरी विकासका काममा मजदुर खटिरहेका छन् ।’ तामाङले ४५ औं दिनसम्म निषेधाज्ञा आइपुगेकाले अब केही खुकुलो बनाई अघि बढ्ने बताए ।

राहतको भर

अर्घाखाँची (कास)– भद्रीखोलका विष्णु वादी हातमा बोरा र नाम्लो लिएर झरीमा रुझ्दै राहतका लागि लाइनमा पालो पर्खंदै थिए । घरमा खानेकुरा सकिएपछि कोरोनाभन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता लागेको उनले बताए । खोलामा बालुवा चालेर जीविका चलाउँदै आएका उनी एक महिनापछि राहतका लागि घरबाहिर निस्किएका हुन् ।

कोरोना संक्रमणमा गरिब तथा विपन्न परिवारलाई राहतस्वरूप सन्धिखर्क नगरपालिकाले वितरण गरेको एक बोरा चामल, नुन, तेल लिन झरीमा रुझ्दै उनी घण्टौं लाइनमा उभिएका थिए । भीडभाड भए पनि उनलाई कोरोना संक्रमणको डर थिएन । ‘काम गर्न पाइएन, घरमा एक छाक खान पनि मुस्किल भयो,’ उनले भने, ‘कोरोना होइन, यहाँ भोकले मरिएलाजस्तो भएको छ । घरमा चामल सकिएर एक छाक खाएको एक साता भयो ।’ बाँगीखोलामा बालुवा चाल्दाचाल्दै निषेधाज्ञा लागू भएको घोषणा भएपछि उनी घरमै बसेका थिए । खोलामा चालेर राखेको बालुवा पनि बाढीले बगाएर लगिदिएको उनले सुनाए । ‘सुरुमा त घरभित्रै बस्यौं, कोरोना सर्छ भन्ने डर भयो,’ उनले भने, ‘जब घरमा चामल सकियो, रोगभन्दा भोकले सताउन थाल्यो ।’ भोकभोकै घरमा बस्दा मरिन्छ कि भन्ने भएको उनले बताए ।

५९ वर्षीय झुमी नेपाली हातमा नाम्लो र बोरा लिएर दिनभर झरीमा रुझ्दै पालो पर्खिन् । ‘मीठो भात खान नपाएको धेरै दिन भयो, दाल, चामल, नुन र तेल घरमा लगेर पेटभरि खान पाए बल आउँथ्योजस्तो लाग्छ,’ उनले भनिन्, ‘घरमा एक मुठी चामल छैन । निषेधाज्ञामा बसेर खाँदा सकियो ।’ २५ किलो चामल नगरपालिकाबाट पाएपछि उनी खुसी भइन् ।

‘पहिला रोग लागे मरिन्छ भन्ने डरले घरमा बस्यौं, घरपरिवारबाहेक बाहिरको मान्छेसित सम्पर्कमा नै रहेनौं,’ मनबहादुर विकले भने, ‘बसेर खाँदा चालम, नुन, तेल सकियो, भीडभाडमा घण्टौं लाइन लागेर भोक टार्न कोरोनाको डर भएन । काम खोज्दै बाहिर हिँडेको छु । कतै काम पाइएन ।’ सन्धिखर्क नगरपालिकाले कोरोना संक्रमणमा गरिब, मजदुर तथा विपन्न ३ सय ९५ जना परिवारलाई बुधबार राहतस्वरूप चामल, नुन, तेल वितरण गरेको हो । ‘मजदुर, गरिब तथा विपन्न परिवारलाई राहत दिइएको छ,’ सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुरकुमार विकले भने ।

प्रकाशित : असार ५, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?