जोखिममा रानीमहल- लुम्बिनी - कान्तिपुर समाचार

जोखिममा रानीमहल

कालीगण्डकी नदीको बहाव बढेसँगै बराङ्दी खहरे खोलाले पनि धार परिवर्तन गर्‍यो
माधव अर्याल

पाल्पा — कालीगण्डकी नदीको बहाव बढेसँगै पर्यटकीय क्षेत्र रानीमहल परिसर डुबानमा परेको छ । रिसोर्ट पुरिएका छन् । रानीमहल परिसरमा रहेका ६ वटा रिसोर्ट तथा होटलमा क्षति पुगेको छ । डिभिजन वन कार्यालयले दुई वर्ष लगाएर बनाएको पार्क पनि बालुवाले पुरिएको छ ।

पाल्पाको तानसेन नगरपालिका–१३, बौघागुम्हा र बगनासकाली गाउँपालिका–७ खानीगाउँको सिमाना कालीगण्डकी नदी तटमा रहेको रानीमहल । तस्बिर : माधव अर्याल/कान्तिपुर

गत मंगलबार रानीमहल आसपास रिसोर्ट तथा होटलमा कोही थिएनन् । त्यहाँ रहेका सामान निकाल्न खोजे । ह्वात्तै पानीको बहाव बढेपछि सामग्री निकाल्नै पाएनन् । ‘सामान निकाल्ने प्रयास गरेका थियौं,’ स्थानीय ७८ वर्षीय ताराचन्द थापाले भने, ‘तर सक्दै सकिएन, बाढी यति छिटो भरियो केही काम गर्नै सकिएन ।’ रानीमहल परिसरमा ६ वटा रिसोर्ट तथा साना होटल थिए । अधिकांश सञ्चालक निषेधाज्ञाका कारण त्यहाँ थिएनन् । भएका पनि वर्षा ठूलो भएपछि भेल आउने डरले यहाँ बसेका थिएनन् । ‘हेर्दाहेर्दै रिसोर्ट तथा होटल क्षेत्र जलाम्मे भयो,’ थापाले भने, ‘पानीको तलाउ यति धेरै भयो कि हामी पनि अचम्ममा पर्‍यौं ।’

उनका अनुसार कालीगण्डकी नदीको मिर्मीस्थित जलविद्युत् आयोजनाले ढोका खोलेको भएर यस्तो भएको हो । उनको आँखैले देख्ने स्थानमा कालीगण्डकी जलविद्युत्ले साइरन राखेको छ । तर ढोका खोल्दा पनि नबजाएको उनको बुझाइ छ । उनी २०२९ सालदेखि नै सामान हेरालुका रूपमा रानीमहल छेउमा बस्छन् । ‘यही ठाउँमा ४९ वर्ष बितेछ,’ उनले सम्झिए, ‘म पनि बूढो भएँ । कति धेरै परिवर्तन भए । म जहाँको त्यहीं छु ।’

‘यो पारिबाट खोला बग्थ्यो । अहिले वारिबाट बगेको छ,’ थापाले विगत सम्झिए, ‘पारि खेत रोप्थे । खोलाले खेत खायो भनेर खोला नै फर्काए ।’ पहिले खोला रानीमहलको जग साइडबाट बगेको थियो । यस वर्ष फेरि रानीमहलको जगसाइडबाट बराङ्दी खोला बगेको छ । यस वर्ष बराङ्दी खहरे खोलाले धार परिवर्तन गरेर रानीमहलतर्फ मोडिएको हो । कालीगण्डकी नदीले पनि हरेक वर्ष रानीमहललाई कटान गर्दै आएको छ ।

कालीगण्डकी करिडोर र तानसेनदेखि रानीमहल सडक चौडा गर्दा जथाभावी फालिएका डेबरेजलाई नदीले परिसरमै रोकेपछि डुबानमा परेको स्थानीय व्यवसायी सुरेश पाण्डेयको भनाइ छ । ‘माथिल्लो भागबाट बराङ्दी खहरे खोला बगेको छ,’ उनले भने, ‘तल्लो भागमा कालीगण्डकी नदी बग्छ । नदी ठूलो भएपछि बराङ्दी खोलातर्फको पानी रोकिदिन्छ ।’

कालीगण्डकी नदीको तटमा रानीमहलको विशाल भवन बनेको छ । कालीगण्डकी नदी तटमा रहेको रानीमहल क्षेत्र डुबानमा पर्दा लाखौंको क्षति पुगेको प्रहरी चौकी रानीमहलले जनाएको छ । स्थानीय रिसोर्ट तथा होटल व्यवसायीले ठूलो क्षति बेहोरेका छन् । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले रानीमहल परिसरमा अघिल्लो वर्षदेखि जथाभावी होटल तथा रिसोर्ट खोल्न दिएका थिए । ‘यसरी जथाभावी होटल तथा रिसोर्ट खोल्ने स्वीकृत दिँदा अहिले क्षति बेहोर्नुपरेको हो,’ नजिकको गाउँ स्याङ्जा सटुकाका ठाकुर पाण्डेयले भने, ‘यसका लागि बेलैमा नसोचे रानीमहललाई पनि खतरा छ ।’

डिभिजन वन कार्यालयको ३८ लाख रुपैयाँको लगानीमा बनाएको पार्कमा समेत तटबन्ध नगर्दा बालुवा भरिएको छ । रानीमहल क्षेत्र हरेक वर्ष डुबानमा पर्छ । वर्षायामपछि यहाँ पुनः बगर क्षेत्रमै रिसोर्ट, होटल र पसल सञ्चालन हुन्छन् । अव्यवस्थित रूपमा सञ्चालन हुने होटल, रिसोर्ट र पसल वर्षायाममा भने डुबानमा पर्ने गरेका हुन् ।

कालीगण्डकी तटमा निर्माण भएको रानीमहलमा सिजनमा दैनिक ३ हजारसम्म पर्यटक आउने गर्छन् । अन्य समयमा समेत यही महल हेर्नका लागि पर्यटक पुग्छन् । रानीमहल तानसेन नगरपालिका–१३, बौघागुम्हामा पर्छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहल क्षेत्रमा नदी गहिरिएको र कटान गर्दै गएकाले खतरा बढेको सशस्त्र प्रहरीको गोताखोर टोलीको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित : असार ५, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

सिम्रौनगढमा सुविधायुक्त अस्पताल

कोरोना महामारीकै बीच अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई उपचारमा सहज
लक्ष्मी साह

बारा — ९० वर्षीय बुबा रामाज्ञा साह कानुलाई तीन दिन उपचार गराएर जयनारायण मंगलबार घर फर्किने तरखरमा अस्पताल परिसरमै भेटिए । सातादेखि ज्वरो र खोकीले बिरामी भएका वृद्ध रामाज्ञालाई उनका छोरा जयनारायणले तीन दिन अघि सिम्रौनगढ बजारमा सञ्चालनमा आएको नगरस्तरीय अस्पतालमा भर्ना गराएका थिए ।


उनी वीरगन्ज गएनन् । नगरले बनाएकै अस्पतालमा उपचार गराएर खुसीसाथ घर फर्किंदै थिए ।

‘अस्पताल सिम्रौनगढवासीका लागि वरदान भएको छ,’ सिम्रौनगढ–२ मौवाहीका जयनारायणले भने, ‘वीरगन्ज जाँदाआउँदा एम्बुलेन्स भाडा ४ हजार लाग्थ्यो । २० हजार अरू थप अनुमानित खर्च लाग्ने थियो । तर त्यसको एक चौथाइ खर्चमै उपचार गराएर घर फर्किदैँ छौं ।’ पैसा र समयको बचतसँगै बाहिर हुने थप झन्टबाट जोगिएको उनले कान्तिपुरलाई बताए ।

सिम्रौनगढ नजिकैका आदर्शकोतवाल गाउँपालिका–५ टेढाकट्टी रुपौलियाका ८० वर्षीय बादर भगत मालीलाई उनका छोरा भिखारीले त्यही अस्पतालमा दुई दिन भर्ना गरेर उपचार गराए ।

‘अस्पतालमा खानादेखि समान्य खर्चले बुबालाई उपचार गराउन पाउँदा हामीजस्तो ग्रामीण भेगका बासिन्दालाई राहत भएको छ,’ भिखारीले भने, ‘भारत र वीरगन्जको विकल्पमा यही उपचार पाएका छौं ।’ अस्पताल सञ्चालनमा आएको १० दिनयता रामाज्ञा र बादरजस्तै अस्पतालमा १२ जना महिला/पुरुष बिरामी भर्ना भएको भेटिए । अरूले धेरैले उपचार गराएर फर्केका छन् । अस्पतालका सह–इन्चार्ज राजेन्द्र साहका अनुसार १५ बेडको अस्पताल सञ्चालनमा आएकोदेखि १२ सय बिरामीले उचार गराएका छन् । दैनिक सय जनाको हाराहारीमा अस्पतालमा उपचार गराइरहेका छन् । ‘अस्पताल सञ्चालनमा आएको १० दिनमै बिरामीले भरिभराउ छ,’ उनले भने, ‘बिरामीको चाप थेग्न नसक्नु भएको छ ।’

दुई करोड खर्चेर २ तल्लाको १२ कोठे नगरस्तरीय अस्पताल सिम्रौनगढ नगरपालिकाले आफ्नै लगानीमा निर्माण गरेको छ । कोभिडको महामारीले सिम्रौनगढवासीलाई अस्पताल जुराइदिएको नगरप्रमुख विजयशंकर यादवले बताए । ‘४ वर्षमा करोडौंको नाला, सडक, पुल, विद्यालय भवन बनाएर जति सन्तुष्ट भएँ त्योभन्दा बढी सन्तुष्ट मानवीय उपचारका लागि अस्पताल बनाएर भएँ,’ नगरप्रमुख यादवले भने, ‘महामारीले मानवीय स्वास्थ्य जीवनको महत्व बुझाइदिएपछि एक वर्षभित्रै अस्पताल बनाएँ ।’

नगरभित्रका अन्य सरकारी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक एमबीबीएससहित प्राविधिक र स्वास्थ्यकर्मी गरी २२ जना परिचालन गरेर सुविधायुक्त यो अस्पताल सञ्चालन गरिएको उनले बताए । ‘केही महिनाभित्रै जटिल प्रसूति र पाठेघरको शल्यक्रियासँगै ब्लड बैंक र भेन्टिलेटरसहितको आईसीयू सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘२५ लाख खर्चेर २४ औं घण्टा खुला रहने फार्मेसी सञ्चालनमा आइसकेको छ ।’

अस्पतालका मेडिकल सुपरिन्टेन्डेड जितेन्द्र यादवका अनुसार स्तरीय प्रयोगशाला, डिजिटल अल्ट्रसाउन्ड, साधारण एक्सरे, ईसीजी, ५ वटा मोनिट्रिङ मेसिनसहितको कक्ष व्यवस्था गरिएको छ । सर्पदंश र एन्टी रेबिज भ्याक्सिन, प्रसूति सेवा र अक्सिजनको व्यवस्था गरिएको छ ।

प्रकाशित : असार ५, २०७८ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×