बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने १३६ जना प्रहरीको नियन्त्रणमा- लुम्बिनी - कान्तिपुर समाचार

बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने १३६ जना प्रहरीको नियन्त्रणमा

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट १३६ जनालाई नियन्त्रणमा लिएको छ। 

वडा प्रहरी कार्यालयले निषेधाज्ञा पालना नगरेको भन्दै उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले बताए । देशभर कोरोनाको नयाँ भेरिएन्टसहितको संक्रमण तीव्र रुपमा फैलिएको र रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको छ । निषेधाज्ञा अवज्ञा गर्ने १२० पुरुष, १६ महिला गरी १ सय ३६ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी १० वटा मोटरसाइकल, ३ वटा चार पाङ्ग्रे, ८ वडा ई–रिक्सासहित चालकलाई सम्झाइबुझाई छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुबास खड्काले मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई कारबाही गरी ४ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको पनि बताए ।

जिल्लामा निषेधाज्ञालाई खुकुलो बनाइँदै सोमबारदेखि थप एक साता निरन्तरता दिइएको थियो । प्रशासनले यस पटक दैनिक उपभोग्यलगायतका पसल व्यवसायहरु बिहान ७ देखि दिउँसो २ बजेसम्म खोल्न पाइने जनाएको छ ।

प्रकाशित : असार ४, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृतिविद् जोशी घर फर्किए

प्रशान्त माली

काठमाडौँ — वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालमा एघार दिनको उपचारपछि शुक्रबार घर फर्केका छन् । उनी पाटन बखुम्बहालस्थित निवासमा बस्छन् ।

जेठ २६ गते ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारका क्रममा उनमा छातीको संक्रमण, मुटुको चालमा गढबडीका साथै रक्तचापमा कमी देखिएको थियो ।

अहिले रक्तचापलगायतमा देखिएको गडबडी नियन्त्रणमा आइ हिँडडुल गर्नसक्ने भएपछि उपचारमा संलग्न चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णयमा पुगेका हुन् । उनको उपचारमा प्रा.डा. मिलेशजंग सिजापतिको नेतृत्वको कार्डीयोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको ५ जनाको टोली खटिएका थिए ।

छाती रोग विशषेज्ञ प्रा.डा. सिजापतिले स्वास्थ्य अवस्था सामान्य भएर साबिक सरह खानपिन हिँडडुल गर्न थालेकाले मुटुको औषधि दिएर डिस्चार्ज गरेको बताए । ‘उनी प्रेसर, सुगर, दमजस्ता रोगबाट मुक्त छन्,’ उनले भने, ‘नियमित व्यायाम, खानपिनमा ध्यान दिएकै कारणले स्वास्थ्य राम्रो भएको देखिन्छ ।’

जोशीको पीसीआर परीक्षणमा गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तैपनि निमोनियाको संक्रमण देखिएकाले सुरुमा एन्टिबायोटिक चलाइएको थियो । अब जोशीलाई एक सातापछि फलोअपका लागि चिकित्सकको टोलीले सम्पर्क गर्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले २०७६ मा समाजमा पुर्‍याएको योगदान कदर गर्दै उनी र उनकी धर्मपत्नीको सम्मान स्वरुप नि:शुल्क स्वास्थोपचारको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

अस्पतालबाट शुक्रबार घर फर्कने क्रममा संस्कृतिविद् जोशी ।

विगत ८ महिनादेखि जोशीको निवासमा प्रत्येक महिना चिकित्सकको टोली पुगेर स्वास्थ्य जाँच गर्दै आइरहेको छ । त्यसक्रममा गत जेठ २६ गते जोशीले ज्वारो र श्वास फेर्न गाह्रो भएको बताएपछि अस्पतालमा उपचारका लागि लगिएको थियो ।

जोशी गत वैशाख ३० गते १०२ वर्षमा प्रवेश गरेका थिए । जोशीका भतिज ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले आराम गर्नुपर्ने भएकाले केहीदिन फोन वा भेटघाटमा नआउन विभिन्न संघसंस्था तथा मिडियाकर्मीलाई अनुरोध गरेका छन् । ‘डिस्चार्ज भएकै दिनदेखि विभिन्न विषयवस्तुबारे बुझ्नुपर्ने भनी तारन्तर फोन आइरहेको छ,’ उनले भने ।

तीनपटक मदन पुरस्कार प्राप्त जोशी दम्पतीले गत वर्ष मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । जोशीको मुहार अंकित रु १० को हुलाक टिकट र उनको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट तस्बिर अंकित चाँदीको सिक्का निष्कासन गरिएको छ ।

प्रकाशित : असार ४, २०७८ १८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×