ग्रामीण समुदायमा घटेन संक्रमण- लुम्बिनी - कान्तिपुर समाचार

ग्रामीण समुदायमा घटेन संक्रमण

माधव अर्याल, मनोज पौडेल

पाल्पा/कपिलवस्तु — पाल्पाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा ४७ वर्षीया महिलाको मृत्यु भएपछि मलामी गएका १३ जनाले कोरोना परीक्षण गराउँदा ११ जनामा संक्रमण देखियो । मलामी गएका थप १४ जनाले जाँच नै गराएनन् । तर उनीहरूलाई पनि सामान्य रुघाखोकी र ज्वरो आएको छ ।

तस्बिर : माधव अर्याल

संक्रमण पुष्टि भएका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो । कोरोना नेगेटिभ भएकी महिला भन्दै शव व्यवस्थापन गर्दा सावधानी नअपनाउँदा गाउँमा कोरोना फैलिएको वडाध्यक्ष सोमबहादुर दर्लामीले भने ।

रैनादेवी छहरा स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार भुवनपोखरी, सोमादी, सिद्धेश्वर, छहरा, मुझुङमा संक्रमितको संख्या अझै पनि घटेको छैन । ‘जाँच गराउन नै नमान्ने समस्या छ,’ उनले भने, ‘जाँच गरायो भने अझै पनि भयावह अवस्था छ ।’ रैनादेवी छहराले वडावडामा स्वाब संकलनको शिविर पनि राख्यो । तर लक्षणसहितका बिरामीसमेत जाँच गर्न गएनन् । कतिपयलाई जनप्रतिनिधि, स्वास्थ्यकर्मीले जबर्जस्ती जाँच गराउन ल्याउनुपरेको स्वास्थ्य शाखा प्रमुख रानाले बताए । सत्यवती, बल्ढेङगढी र जुठापौवा वडामा शिविर लैजाँदा एक जना पनि जाँच गर्न आएनन् । तर त्यहाँबाट लक्षणसहितका बिरामी छन् भन्ने जानकारी आएको थियो ।

केही दिनअघि निस्दी गाउँपालिका–५, गल्धा गाबुडाँडामा घाटु नाच देखाइयो । सोही स्थानमा ५० जनाको एन्टिजेनबाट जाँच गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ । स्थानीयले अटेर गर्दै घाटु नाचेपछि गाउँपालिका स्वास्थ्य शाखाले नमुना परीक्षण गरेको हो । स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाका अनुसार संक्रमण पुष्टि भएकामध्ये केहीलाई श्वासप्रश्वासमा समेत समस्या छ । मित्यालको ढाक्रेदमार मुढाबासमा पनि १३ जनाको नमुना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको छ । लामेदमारमा ६८ जनाको जाँच गर्दा १६ जनामा कोरोना पुष्टि भयो ।

सहरमा कमी हुँदै गएको संक्रमण ग्रामीण भेगमा भने अझै घटेको छैन । यहाँका केही स्थानीय तहले पीसीआर र एन्टिजेन परीक्षण नै नगर्दा छिमेकी गाउँमा संक्रमणको जोखिम बढाएका छन् । रामपुर नगरपालिकाले वडावडामा बिरामी भए पनि नमुना परीक्षण नै गरेको छैन । यसको प्रत्यक्ष असर भने निस्दीमा परेको छ । ‘निस्दीका बासिन्दाको मुख्य बजार रामपुर नै हो,’ निस्दीका स्वास्थ्य प्रमुख दिशा मगरले भने, ‘निस्दी र रामपुरका बीच सरसामान खरिद गर्दा घुलमेल हुँदा उताका यता र यताका उता भएका छन् । त्यसले पनि हामीलाई समस्या पारेको छ ।’ रम्भा गाउँपालिकामा पनि संक्रमणमा अझै कमी आएको छैन । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले एन्टिजेन परीक्षण र पीसीआर गराउन आग्रह गरे पनि स्वास्थ्य शाखा प्रमुखले अटेरी गरेको बताए ।

कपिलवस्तुमा संक्रमितको संख्या घटेको छ । दैनिक चार/पाँच जनामात्र नयाँ बिरामी थपिँदै गएका छन् । उनीहरू घरमै आइसोलेसनमा बस्ने खालका छन् । संक्रमण घटेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप कम भएको छ । कोरोना संक्रमितका लागि छुट्याइएका बेड पनि खाली भएका छन् । जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलोपटक चैत १९ गते संक्रमण देखिएको थियो । त्यसयता बढेर ३ हजार ३ सयमा संक्रमण पुष्टि भएको थियो । अहिले घटेर ४ सयभन्दा कम भएको छ ।

सदरमुकाम तौलिहवाको अस्पतालमा आईसीयूमा पाँच जनामात्रै छन् । तौलिहवाका कोभिड अस्थायी अस्पतालमा सात जनामात्रै छन् । उनीहरूको अवस्था सामान्य छ । कुनै बेला यी दुवै अस्पतालमा दैनिक ६० भन्दा बढी शंकास्पद बिरामी आउँथे । उपचार गर्दा बेड अभाव भएर भुइँमा राखेर उपचार गर्नुपरेको थियो ।

प्रकाशित : असार ४, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

बचेरा हुर्काउँदै बगाले सिमकुखुरा

कान्तिपुर संवाददाता

कपिलवस्तु — यहाँस्थित जगदीशपुर तालमा हिउँदे आगन्तुक चरा बगाले सिमकुखुराले चल्ला हुर्काइरहेका छन् । उक्त तालमा १२ वर्षपछि उक्त चराले बचेरा कोरलेका हुन् । नेपालमा भने दोस्रोपटक बच्चा कोरलेर हुर्काइरहेको यहाँ अभिलेख गरिएको छ । नेपालमा बगाले सिमकुखुराले पहिलोपटक सन् २०१० जुलाईमा कैलालीको घोडाघोडी तालमा बच्चा जन्माएको अभिलेख छ ।

जगदीशपुर तालको उत्तरी किनारमा दुई जोडी बगाले सिमकुखुराले बचेरा स्याहारसुसार गरिरहेका देखिन्छन् । दुई जोडीले तीन/तीन बचेरालाई आहारा खुवाउन र विचरण गर्न सिकाइरहेका छन् । माउँसँगै बचेराको जलक्रीडा रोमाञ्चक देखिन्छ । ‘बगाले सिमकुखुराले जगदीशपुर तालमा बच्चा कोरल्नु निकै महत्त्वपूर्ण कुरा हो,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, पन्छीलाई यहाँ कुनै बाधा व्यवधान र असुरक्षा छैन भन्ने पनि यसले देखाउँछ ।’ यहाँको सिमसार संरक्षणमैत्री छ । अब यसलाई संरक्षण गरेर चरा ब्रिडिङ सेन्टर बनाउनुपर्ने उनको सुझाव छ ।

यो चरा हेर्दा निकै मनमोहक देखिन्छ । रातो ठोंडमा पहेँलो टुप्पो हुन्छ । पुच्छरको ढकनी सेतो र कोखमाथि सेतो धर्का हुँदा चरा लोभलाग्दो देखिन्छ । यो निकै डराउने र लजाउने स्वभावको चरा भएकाले यसले बचेरा कोरलेको देख्नु आफैं अविस्मरणीय हुने चराविद्हरू बताउँछन् । बिस्तारै पानी बग्ने ठाउँ यसको रोजाइमा पर्छ । यसले पाँचदेखि नौवटासम्म अण्डा पार्छ । तीन साता ओथारो बस्छ । बच्चा जन्मेको एक महिनामा उड्न सक्ने हुने चराविद् दिनेश गिरीले बताए । पानीमाथिको घाँस र पानीमा उम्रने चाक्लो पात भएका बोटविरुवामा ओथारो बस्छ । जगदीशपुर ताल नेपालमा सबैभन्दा धेरै पानी चरालाई आश्रय दिने स्थल हो ।

बगाले सिमकुखुरा झाडी, झारपात र चारैतिर ससाना बोटविरुवाले घेरिएको ठाउँमा ओथारो बस्छ । असुरक्षा हुनासाथ सर्पजस्तो आवाज निकाल्दै कराउँछ । अप्रिलदेखि अगस्टसम्म यसले ब्रिडिङ गर्छ । यो समूहमा बस्न रुचाउँछ । समूहमै बच्चा कोरल्छ र हुर्काउँछ । यसले तीन/चारवटासम्म बच्चा हुर्काउँछ । बच्चा हुर्काउन नसके दोस्रोपटक पनि अण्डा पारेर ओथारो बस्ने प्रयास गर्छ । घाँसपात, काठपात र घुरपात जम्मा गरेर गुँड बनाउँछ ।

कहिलेकाहीं एउटाले जम्मा गरेको घाँसपात र घुरपात कोही नभएका बेला अर्काले चोरेर लगेर गुँड बनाउँछ । बचेराले खान नसकेको आहार अर्काले चोरेर लगेर आफ्नालाई ख्वाउँछन् । यसले आफ्नो मात्र नभएर आफ्नै प्रजातिका अन्यका बचेरा हुर्काएर सहयोगको भावना पनि देखाउँछ ।एउटाको बचेरालाई अर्काले लगेर हेरचाह र आहारविहार पनि गराउँछन् । यस्तो सहयोगलाई कोअपरेटिभ ब्रिडिङ भनिन्छ । भारत, श्रीलंकालगायतका ठाउँबाट नेपाल आउने ६० प्रजातिका हिउँदे आगन्तुक चरामध्ये यो एक हो ।


प्रकाशित : असार ४, २०७८ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×