कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

पुल र कजवे भत्कायो, गुल्मी, अर्घाखाँची र प्यूठानमा बढी क्षति
प्रदेश ब्युरो

भैरहवा — प्यूठानमा अविरल वर्षापछि आएको बाढीले झिमरुक नदीमा निर्माणाधीन पुल भत्काएको छ । जिल्लाको ऐरावती गाउँपालिका–१ माझीदमार र अर्घाखाँचीको शीतगंगा–७, चिउरेखोला जोड्ने निर्माणाधीन मोटरेवल पक्की पुल भत्काएको हो ।

बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

चार दिनअघि ढलान भएको पुल बगाएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताए । ‘खोलाले टेका बगाएपछि पुल भत्किएको हो,’ उनले भने, ‘७० मिटर लम्बाइको पुलको ३५ मिटर स्ल्याब भाँचिएको छ ।’

७ करोड १२ लाख रुपैयाँमा निर्माण सम्झौता भएको पुल छिट्टै सञ्चालनमा ल्याउने तयारी थियो । संघीय सरकारबाट विनियोजित रकमबाट डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीले जानकारी दिए । आर्थिक वर्ष ०७४/७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको हस्तान्तरण असार २८ गते पूरा हुँदै छ ।

चार दिनदेखिको अविरल वर्षाले कपिलवस्तुको बनगाई–मनोहरापुर सडक खण्डअन्तर्गत खुटेनीमा रहेको कजवे भत्किएको छ । यसले आवतजावत ठप्प बनेको छ । वाणगंगामा निर्माण गरिएको कजवेको उत्तरतिरको १० मिटर भाग भत्किएर नदीमा खसेको छ । कजवेको छेउछाउबाट अनियन्त्रित रूपमा गिट्टी, बालुवा निकाल्दा जग कमजोर बनेको थियो । ‘उत्तरतिर बहाव बढी थियो,’ स्थानीय विकास खड्काले भने, ‘त्यतैतिर क्षति गर्‍यो ।’ संरचना आसपासबाट नदीजन्य पदार्थ निकाल्दा विवाद भएको थियो । कजवे जीर्ण बनेको थियो । मर्मतसम्भारका लागि बेवास्ता गरिएको थियो । कजवे भत्किँदा खुटेनी, मनोहरापुर, कोइली बनगाई र लक्ष्मणघाटका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पूर्व–पश्चिम राजमार्ग आवतजावत गर्न ३ देखि ५ किमि घुमेर जानुपर्ने अवस्था आएको स्थानीय रामु पौडेलले बताए । चार वर्षअघि नीलगिरी जेभी कन्स्ट्रक्सनले ३ करोड बढी लागतमा कजवे निर्माण गरेको थियो । करिब १ सय मिटर लामो कजवे ६ मिटर चौडा रहेको छ ।

अर्घाखाँचीमा पहिरोले अवरुद्ध सन्धिखर्क–गोरुसिंगे सडक खण्ड बिहीबारबाट सञ्चालनमा आएको छ । जिल्लास्थित मुख्य सडकका विभिन्न ठाउँमा बाटोमाथिबाट पहिरो खसेर अवरुद्ध भएका छन् । सन्धिखर्क–प्यूठान, सन्धिखर्क–तम्घास सडक पहिरो खसेर अवरुद्ध छन् । यातायात सुचारु छैनन् । शीतगंगा नगरपालिकाका १४ वटै वडाका सडक अवरुद्ध भएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडक अवरुद्ध छन् ।

गुल्मीमा १२ वटै स्थानीय तहका कच्ची सडक पहिरोले पुर्ने, भेलले खोल्ने र भत्किने गरेर अवरुद्ध भएका छन् । कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटमा टीकाराम विकको घर र गोठ पहिरोको जोखिममा रहेको छ । तम्घास–रिडी मुख्य सडक पहिरो हटाएर सुचारु ग्रिएको गुल्मी प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

राजमार्ग एकतर्फी खुल्यो

पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । सडकको तल्लो भागबाट खोलाले कटान र पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जगबाटै राजमार्ग बगाएपछि पुनः डाइभर्सन गरेर सडक सुचारु गरिएको सडक डिभिजनले जनाएको छ । पहाडी भेगबाट तराई झर्ने छोटो दूरीको सडक अवरुद्ध हुँदा सवारी साधन अलपत्र परेका थिए । पहिरोमा वारपार गर्नसमेत समस्या भएको थियो ।

तीन दिनदेखि सडकमा अलपत्र परेका अत्यावश्यक खाद्यान्नलगायत अन्य सामग्री बोकेका मालवाहक ट्रकका साथै अन्य सवारी साधन बिहीबार गन्तव्यतर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । सडकको जगबाटै भासिएकाले डाइभर्सनको काम बुधबार बेलुकी सकिनै लाग्दा पुनः पहिरो खसेपछि बिहीबार बिहानैदेखि पुनः काम गरेर सडक सुचारु गरिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए । सडक एकतर्फी खुलेपछि पालैपालो दुई साइडबाट सडकमा अलपत्र सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ । माथिल्लो क्षेत्रबाट लामो पहिरो खसेकाले वर्षा हुनासाथ पुनः सडक अवरुद्ध हुन सक्ने सडक डिभिजनले जनाएको छ ।

पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि अवरुद्ध भएको छ । पाल्पाकै रामपुर जाने ६५ किलोमिटर सडकमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ ।

प्रकाशित : असार ४, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?