एक दर्जन अस्पताललाई स्वास्थ्य सामग्री

भैरहवा — कोभिड संक्रमित सर्वसाधारण बिरामीको उपचार सहज बनाउन यहाँस्थित प्रतिमान–निमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । साढे २ करोड रुपैयाँभन्दा धेरै मूल्यका ती सामग्री अमेरिकास्थित प्रोजेक्ट ‘होप’ संस्थासितको समन्वयमा प्रतिष्ठानले जुटाएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ, भेरी अस्पताल नेपालगन्ज, भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल परासी, कपिलवस्तु अस्पताल तौलिहवा, रामपुर अस्पताल पाल्पा, गुल्मी अस्पताल तम्घास, अर्घाखाँची अस्पताल सन्धिखर्क, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल लिबाङ, रुकुम अस्पताल रुकुम पूर्व र बर्दिया अस्पताल गुलरियालाई उक्त स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठबाट बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गराएर वितरणको सुरुवात गरेको छ ।

प्रतिमान–निमा स्मृति प्रतिष्ठान स्वास्थ्य र पर्यावरणको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो । प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाति थापाले महामारीबाट उत्पन्न अहिलेको असहज परिस्थितिमा कोभिड–१९ विरुद्ध लड्न राज्यलाई सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेको बताइन् । २ करोड ७० लाख रुपैयाँ मूल्यका विभिन्न स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराइने उनले सुनाइन् ।

अक्सिजन कन्सन्ट्रेटर १० लिटरका ९० थान, अक्सिजन सिलिन्डर १ सय १५ थान, मेडिकल टेन्ट ५ थान, वाइप्याप मेसिन ५ थान, आईसीयू बेड ५ थान, पीपीई सेट २ हजार २ सय थान, सेनिटाइजर १ हजार १ सय ५० लिटर, सर्जिकल मास्क १२ हजार थान, सर्जिकल ग्लोब्स २ हजार थान, फेससिल्ड ४ हजार थान, सर्जिकल क्याप ४ हजार थान अस्पतालहरूलाई उपलब्ध गराइनेछ । ‘आवश्यकता, बिरामीको चाप र जनसंख्याका आधारमा अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिनेछ,’ कार्यकारी निर्देशक थापाले भनिन्, ‘लुम्बिनी प्रदेशमा रहेका सरकारी अस्पताललाई अन्य सामग्री जुटाउनका लागि भोलिका दिनमा पनि प्रतिष्ठानले सहयोग गर्नेछ ।’

प्रतिष्ठानले रूपन्देहीको रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकाले सञ्चालन गरेका आइसोलेसन सेन्टर र कोभिड विशेष अस्पताललाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिष्ठानका निर्देशक धर्म केसीले बताए । ती गाउँपालिकामा कोभिडका कारण मृत्यु भएका प्रत्येक परिवारलाई राहतस्वरूप १० हजार रुपैयाँ नगद उपलब्ध गराउने भएको छ । रोहिणी गाउँपालिकाको आइसोलेसन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीका लागि संस्थाले तीन महिनासम्म निःशुल्क खानाको व्यवस्था पनि गरेको छ ।

प्रकाशित : असार ४, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?