सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो- लुम्बिनी - कान्तिपुर समाचार

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

माधव अर्याल

पाल्पा — पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । सडकको तल्लो भागबाट खोलाले कटान र पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जगबाटै राजमार्ग बगाएपछि पुन: डाइभर्सन गरेर सडक सुचारु गरिएको सडक डिभिजनले जनाएको छ । पहाडी भेगबाट तराई झर्ने छोटो दूरीको सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए । पहिरोमा वारपार गर्नसमेत समस्या भएको थियो ।

तीन दिनदेखि सडकमा अलपत्र परेका अत्यावश्यक खाद्यान्न लगायत अन्य सामाग्री बोकेका मालवाहक ट्रकका साथै अन्य सवारी साधन गन्तव्यतर्फ पठाइएको ट्राफिक प्रहरीेले जनाएको छ । सडकको जगबाटै भासिएकाले डायभर्सनको काम बुधबार बेलुकी सकिनै लाग्दा पुन: पहिरो खसेपछि एकतर्फी खुलाउन नसकिएको र बिहीबार बिहानैदेखि काम गरेर सडक सुरु गरिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए ।

सडक एकतर्फी खुलेपछि पालैपालो दुई साइडबाट सडकमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । माथिल्लो क्षेत्रबाट लामो पहिरो खसेकाले वर्षा हुनासाथ पुन: सडक अवरुद्ध हुन सक्ने सडक डिभिजनले जनाएको छ । पाल्पाकै आर्यभन्ज्याङ रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि अवरुद्ध भएको छ । पाल्पाकै रामपुर जाने ६५ किलोमिटर सडकको दर्जन बढी स्थानमा पहिरो खसेको छ ।

प्रकाशित : असार ३, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्

मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार

आश गुरुङ

लमजुङ — बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो ।

हेलिकप्टरले मनाङको नासों गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ । सानों गाउँपालिका–५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

यस्तै, नासों गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको प्रयास भइरहेको छ । विघटित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले चामेमा पानीको अभाव भएपछि निजी हेलिकप्टरमार्फत खानेपानी लगिएको बताए । उनका अनुसार ३ दिनदेखि बाढीका कारण फसेकाहरुको उद्धार गरिरहेको बताए ।‘बाढीका कारण भौगोलिक रुपमै समस्यामा परेकालाई उद्धार गरेका छौं । सुरक्षित ठाउँमा बसेकालाई ठाउँठाउँमा राहत पुर्‍याएका छौं,’ उनले भने । उनका अनुसार उद्धार प्रयास जारी छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकमा ७५ जना फसिरहेका छन् । पोल्देन छोपाङले ल्याएको हेलिकप्टरमार्फत् उनीहरु बस्ने ठाउँ पत्ता लगाइएको र उनीहरुको अवस्था बुझेर हेलिकप्टर फर्केको छ । फू गाउँको नामु लेक समुद्री सतहदेखि करीब ५ हजार मिटर उचाइमा हिमालमुनि उनीहरु रहेको र उद्धार गर्नुपर्ने अवस्था रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

यस्तै, प्रभु हेलिकप्टरले मनाङबाट आफ्ना कर्मचारीलाई उद्धार गरेको छ । राहत लिएर पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ पनि मनाङ पुगेका छन् ।

प्रकाशित : असार ३, २०७८ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×