लुम्बिनी प्रदेश : साढे २ सय घर डुबे, सडक बग्यो- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी प्रदेश : साढे २ सय घर डुबे, सडक बग्यो

नवीन पौडेल, माधव अर्याल, दुर्गालाल केसी, शम्शेरविक्रम जीसी, वीरेन्द्र केसी

परासी/पाल्पा/अर्घाखाँची/दाङ/प्यूठान — तीन दिनदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले क्षति पुर्‍याएको छ । वर्षापछि पहाडी जिल्लाका विभिन्न स्थानमा सडक भत्किनुका साथै पहिरो गएको छ । समथर क्षेत्रमा डुबान सुरु भएको छ । नारायणी र खहरेमा आएको बाढीका कारण पश्चिम नवलपरासीमा २ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

सयौं बिघा धान खेतमा क्षति पुर्‍याएको छ । जिल्लाको सरावल गाउँपालिका–२ का ७०, प्रतापपुर गाउँपालिका–६ स्थित मुसहर बस्तीका ६०, पाल्हीनन्दन गाउँपालिका–१ का ७० र सुस्ता गाउँपालिका–५ का ५० भन्दा बढी घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि स्थानीय तहले सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छन् ।

जिल्लाका तुरिया, पानभार, भलुहीजस्ता खहरे खोलामा आएको बाढीले निकास नपाउँदा बस्तीमा पसेको हो । बाढीले सयौं बिघा क्षेत्रफलको धान नष्ट गरेको छ । पाकिसकेको चैते धानमा क्षति पुर्‍याएको सरावल–२ का रूपनारायण चौधरीले बताए । सदरमुकाम परासी, सुनवल बजार र बर्दघाट नगरपालिकामा पनि डुबान भएको छ । डुबान र कटान भएका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । निकास नहुँदा र सिँचाइका लागि खनिएका साना कुलो पुरिएपछि बस्ती जलाम्य बनेका हुन् ।

गण्डक ब्यारेजमा बुधबार पानीको सतह घटेको छ । बुधबार दिउँसो ३ बजे ४ लाख ३० हजार क्युसेक पानीको प्रवाह भएको ब्यारेजमा बुधबार साँझ ५ बजे २ लाख ८० हजार क्युसेक पानीको प्रवाह भएको थियो । मंगलबार पानीको सतह बढेपछि ब्यारेजका सबै ढोका खोलिएका थिए ।

पहिरोले पाल्पामा मुख्य र सहायक राजमार्ग अवरुद्ध छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको गौडेपुल नजिक ५० मिटर सडक पहिरोले बगाएको हो । वर्षा नरोकिएकाले सडक खुलाउन ढिलाइ भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । ‘राति अबेरसम्म खुलाउने प्रयास गरेका छौं,’ उनले भने, ‘सकेसम्म एकतर्फी भए पनि खुलाउने प्रयास सफल हुन्छजस्तो छ ।’ पाल्पाकै रामपुर जाने ६५ किलोमिटर सडकका दर्जन बढी स्थानमा पहिरो खसेको छ भने कालीगण्डकी करिडोरको भोवरमा पहिरो खसेको छ । सडकको हुमिन, जब्गादी, चापगैरालगायतका स्थानमा पहिरो खसेको छ । पाल्पादेखि गुल्मी जाने सडकको खस्यौलीमा खसेको पहिरोले सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी छ । हार्थोक प्रहरी चौकीका अनुसार अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन । खुलाएको केही छिनमा फेरि बन्द भएको सूचनाले हैरानी खेप्नु परेको प्रहरीले जनाएको छ । सडकको पहिरो सफा गरेर एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । पाल्पादेखि अर्घाखाँची जाने सडकको कुसुमखोला, बतासेलगायतका स्थानमा खसेको पहिरो भने बुधबार बेलुकी हटाएर एकतर्फी सुचारु गरिएको छ ।

पाल्पाका मुख्य ग्रामीण सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै कालीगण्डकी नदीमा बहाव बढेपछि धार्मिक तथा पर्यटकीय क्षेत्र रूरू क्षेत्र रिडी पनि जलमग्न भएको छ । रूरू क्षेत्रबाट ६ घर विस्थापित भएका छन् । यस्तै पर्यटकीय क्षेत्र रानीमहल क्षेत्र पनि डुबानमा परेको छ । यहाँका चार रिसोर्ट र होटल विस्थापित भएका छन् । यस्तै, पाल्पाको अन्नभण्डार माडी फाँट डुबानमा परेको छ । २ हजार रोपनीभन्दा बढी खेतमा बाढी पसेको छ ।

झरीले गुल्मी र अर्घाखाँचीका केही गाउँका बस्ती उच्च जोखिममा छन् । पहिरो गएर सडक अवरुद्ध छन् । अर्घाखाँची सन्धिखर्क नगरपालिका–१० मा नारायण आचार्य र श्यामबहादुर थापाको घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुर्‍याएको छ । घर उच्च जोखिममा परेपछि आचार्य र थापाका परिवार छिमेकीको घरमा सुरक्षित रूपमा बसेका छन् । छत्रदेव गाउँपालिका–७ मा एक घरमा क्षति भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको फुदवाङमा सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध पारेको छ । अवरोध हटाउँदै गाडी आउजाउ गराउने काम भएको छ । ग्रामीण भेगका धेरैजसो सडक अवरुद्ध छन् । गुल्मी प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले सदरमुकाम जोड्ने तम्घास–रिडी सडकका विभिन्न ठाउँमा बेलाबेलामा पहिरो खस्ने र हटाउने गरेर सडक सुचारु भएको बताए । जिल्लाभित्रका मुख्य र सहायक सडकका धेरै ठाउँमा अवरुद्ध भएका छन् । रुडी–रुद्रवेणी र रिडी–बागलुङ सडक अवरुद्ध छ ।

दाङको राप्तीमा रातभर बाढीमा फसेका चार जनाको सशस्त्र प्रहरीले बुधबार बिहान उद्धार गरेको छ । लमही–७ हस्नापुरमा भैंसी चराउन गएका बेला राप्ती नदीका दुई भंगालोको बीचमा थुनिएका चार जनालाई बिहान उद्धार गरिएको सशस्त्र प्रहरी बल अर्जुनखोलाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए । लमही–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका–२ की ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षीय गणेश यादवलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको उनले बताए । मंगलबार राति १२ बजेसम्म प्रयास गर्दा पनि उद्धार सम्भव नभएपछि बुधबार बिहान ६ बजे फेरि प्रयास गरिएको र ९ बजेतिर उद्धार गरिएको विश्वकर्माले बताए । अहिले राप्ती नदी आसपासमा सतर्कता अपनाइएको उनले बताए । बाढीले बगाएर प्यूठानमा एक जना बेपत्ता भएका छन् । जिल्लाको मल्लरानी गाउँपालिका–३, धरमपानी बर्वोटका अन्दाजी ४५ वर्षीय हीराबहादुर नेपाली खोलाले बगाउँदा बेपत्ता भएको चुजाठाँटी प्रहरी चौकीका इन्चार्ज रामबहादुर रानाले जानकारी दिए । मंगलबार साँझ मल्लरानी–३, नर्सरीबाट घर फर्किने क्रममा नेपालीलाई खोलाले बगाएको थियो । बुधबार बिहानसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

मेलम्ची बाढीमा भारतीय र चिनियाँसहित २० जना बेपत्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्चीमा मंगलबार राति आएको बाढीमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन भारतीय र तीन चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनका अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे पनि बेपत्ता छन् ।

भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपत्ता रहेको प्रशासनको सूचनामा उल्लेख छ ।

बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् । हालसम्म एक जनाको शव भेटिएको छ । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



प्रकाशित : असार ३, २०७८ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×