२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रूपन्देहीका विभिन्न स्थानमा डुबान र नदी कटान

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीका विभिन्न स्थानमा निरन्तरको वर्षासँगै गाउँ डुबानमा पर्न थालेका छन् । आइतबारदेखि परिरहेको झरीले बुटवलको तिनाउ खोला किनारका घर, मर्चवार, देवदह र तिलोत्तमामा असर गरेको हो । 

रूपन्देहीका विभिन्न स्थानमा डुबान र नदी कटान

अविरल वर्षाका कारण बुटवल उपमहानगरपालिका–११ को पवित्रनगरमा तिनाउको कटानले ८ घर जोखिममा परेका छन् । त्यस्तै टप मझुवामा लगाइएको ग्याबिन वाल र आरसीसी वाल पानीले भत्काएको छ । उक्त सूचना पाउनासाथ दुवै स्थानमा पुगी ती घरका स्थानीयलाई राति नै स्थानान्तरण गरी आफन्तकहाँ पठाइएको नेपाल स्काउट लुम्बिनी प्रदेशका संयोजक दीनानाथ भट्टराईले बताए । ‘घरभित्र बस्न सक्ने अवस्था नभएपछि राति नै आफन्तीकहाँ पठाएका हौं,’ उनले भने, ‘पालिकासँग समन्वय गरी सामाजिक भवनमा समेत आवश्यक परे सार्ने तयारी गरेका छौं ।’ तिनाउमा पानीको सतह बढेपछि सतर्कता अपनाउन उपमहानगरका मेयर शिवराज सुवेदीले आगह गरेका छन् ।

त्यस्तै, देवदह नगरपालिकाका वभिन्न वडामा डुबान बनाएको छ । वडा नम्बर ८ का खेतमा पानी पस्दा बिउ क्षति भएको छ भने बग्दै आएको पानीमा एक जनाको शव भेटिएको छ । शव कसको भन्ने थाहा हुन नसकेको इलाका प्रहरी चौकी देवदहका इन्चार्ज दीपक महतले बताए । बुधबार बिहान रोहिणी र घाडा खोलाको बीचमा पर्ने बेलघारी खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तिलोत्तमा नगरपालिका–१७ मा कल्भर्टबाट आएको पानीले १० भन्दा बढी घर डुबानमा परेका छन् । मंगलबार दिउँसो पानीको बहाब ठूलो भए पनि साँझ केही कम भएको छ । खोला छेउका बस्तीमा माइकिङ गरेर सतर्कता अपनाउन आग्रह गरिएको नगर प्रहरी इन्चार्ज नरप्रसाद श्रेष्ठले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको भरथापुरका केही घरमा पानी पसेको छ । तिनाउ र दानव नदीको संगमस्थल दुई मुहानदेखि ३ किलोमिटर तल पर्ने वडा नं २ मा डुबान भएको हो । त्यहाँका ९ घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दियो ।

विपद्को जोखिम रहेकाले आन्तरिक रूपमा हरेक शाखालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब निरीक्षक सत्यनारायण थापाले बताए । ‘हामीसँग भएका स्रोतसाधनका साथ सतर्क रहन अह्राएका छौं,’ उनले भने

जिल्लामा रहेको विपद् व्यवस्थापन समितिले पहिलो चरणको छलफल गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘प्रहरीतर्फका सेना, शस्त्र र नेपाल प्रहरी, रेडक्रसका जिल्लाभरिका शाखा र जनशक्ति, स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिका सदस्यको नेतृत्वसहित सचेतनाका लागि जनशक्ति तयारी अवस्थामै हुनुहुन्छ,’ उनले भने, ‘बाढी ठूलो आए उद्धार गर्ने र राहत दिनेजस्ता कार्यसँगै अन्य योजनाका लागि पुन: बैठक बस्दै छौं ।’

प्रकाशित : असार २, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?