२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रोल्पा र प्युठानमा असार १० गतेसम्म निषेधाज्ञा

काशीराम डाँगी

रोल्पा — बजार र दुर्गम गाउँमा समेत कोरोना संक्रमण दर कम नभएको निष्कर्षसहित रोल्पामा असार १० गतेसम्म निषेधाज्ञा बढाइएको छ । स्थानीय प्रशासनले तेस्रोपटक निषेधाज्ञा अवधि थप्दै संक्रमण रोक्न सबैमा आग्रह गरेको हो ।

रोल्पा र प्युठानमा असार १० गतेसम्म निषेधाज्ञा

सर्वपक्षीय बैठकमा समेत उक्त विषयमा छलफल भएको धारणा राख्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले संक्रमण वृद्धि भइरहेको र रोकथाम प्रक्रिया अपनाइरहेको जानकारी दिएका छन् । सोमबार सूचना जारी गर्दै प्रजिअ सापकोटाले जेठ ३१ रातिदेखि थप भइ असार १० गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा यथावत बनाइएको बताएका छन् ।

‘महामारीकै रुपमा फैलिएको कोरोना संक्रमण हाल पनि तीव्र रुपमा फैलिएको अवस्थामा संक्रमण रोक्न (चेन ब्रेक गर्न) पुन: निषेधाज्ञा बढाइएको हो ।’ प्रमुख जिल्ला अधिकारी सापकोटाद्वारा जारी सूचनामा भनिएको छ । रोल्पामा पहिलोपटक वैशाख २२ बाट जेठ ५ सम्म निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि जेठ ५ देखि २० सम्म र जेठ २० देखि असार ५ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

तेस्रोपटक निषेधाज्ञा बढाउँदा केही खुकुलो बनाइएको छ । खाद्यान्न, तरकारी, दूधजन्य सामग्री किनमेल गर्न विहान ६ देखि १० बजेसम्म पसल खोल्न पाइएको नियम बनाइएको छ । यसअघि बिहान ७ बजे र पछि ९ बजेसम्म मात्रै पसल खोल्न पाइएको निर्णय गरिएको थियो । स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार निर्माण सामग्री ओसारपसारमा रोक लगाइने छैन । स्वास्थ्य मापदण्ड पालना गरेर बैंकबाट नियमित सेवा प्रवाह गराउन अनुमति दिने निर्णय भएको छ । तर मठमन्दिर, भेला, सार्वजनिक यातायातका साधन, विद्यालय, ब्युटी पार्लर, होटल, विवाह कार्यक्रम लगायतका जमघटयुक्त गतिविधि गर्न अझै रोक लगाइएको छ । सामाजिक दूरी कायम राख्न, मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न प्रशासनद्वारा विशेष आग्रह गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का अनुसार जिल्लामा कोरोना संक्रमण अपेक्षित रुपमा घट्न नसकेको निष्कर्ष निकालिएको छ । सबै तहमा वृद्धि भइरहेको संक्रमण रोक्न समन्वय गरिरहेको डीसीसीएमसीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । रोल्पामा हाल ५ सय १० जना सक्रिय संक्रमित छन् । पछिल्लो दिन सोमबार १३ जना संक्रमित थपिएका हुन् । पीसीआर र एन्टिजेन माध्यमबाट हालसम्म सबै तहमा गरी ४ हजार ९६ जनामा कोरोना परीक्षण गरिएको छ । यस क्रममा १ हजार ८ सय ३० जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त जितबहादुर डाँगीले बताए ।

हालसम्म संक्रमितमध्ये १७ जनाको मृत्यु भएको छ । तर परीक्षण क्रम निकै सुस्त गतिमा गरिएकाले र अधिकांश बिरामीमा संक्रमण पुष्टि गर्न नसकिएकाले अधिकांश व्यक्तिको मृत्यु संख्या यसमा थपिएको छैन । डीसीसीएमसी र स्थानीय प्रशासनले यसबारे बेग्लै अनुसन्धान र पहिचान गर्नु आवश्यक भएको स्वास्थ्यकर्मीको धारणा छ ।

कोरोना जितेर निको भइ घर जानेको संख्या १ हजार ३ सय ३ छ । होम आइसोलेसनमा बसेका ३ सय ५२ जना छन् भने १ सय ४४ जना विभिन्न आइसोलेसनमा उपचाररत छन् । अझैसम्म गाउँ गाउँमा धेरै मानिसहरु बिरामी भइरहेको जानकारी आइरहेपनि न्यून जनशक्ति, स्थानीय तहमा जनप्रतिनिधिहरुको निरिहता एवं स्थानीय प्रशासनको ठोस योजना अभावमा विरामीबारे ध्यानाकर्षण पुग्न सकेको छैन ।

यसैबीच प्युठानमा पनि असार १० गतेसम्म निषेधाज्ञा बढाइएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार जिल्लामा संक्रमण न्यून गर्ने पहल जारी रहेको र चेन ब्रेक गर्न निषेधाज्ञा जारी राख्नु उचित भएको निष्कर्ष निकालिएको हो । प्युठानमा पनि करिब ४ सातादेखि निषेधाज्ञा लगाइएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?