बाँकेमा एक साता थपियो निषेधाज्ञा- लुम्बिनी - कान्तिपुर समाचार

बाँकेमा एक साता थपियो निषेधाज्ञा

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा जारी निषेधाज्ञालाई खुकुलो बनाइँदै थप एक साता निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार राति १२ बजे सम्मको निषेधाज्ञालाई थप गर्दै आगामी असार ७ गतेसम्म जिल्लामा जारी निषेधाज्ञा थप गरिएको हो ।

कोरोना संक्रमणको जोखिम अझै नियन्त्रणमा नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

संक्रमण नियन्त्रणका लागि बाँके प्रशासनले जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको छ । अहिले संक्रमण दरसँगै मृत्युदरमा समेत दैनिक कमी आउन थालेपछि जारी निषेधाज्ञा केही खुकुलो बनाएको हो ।

प्रशासनले यसपटक भने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने जनाएको छ ।

त्यस्तै, रेष्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेक अवे सेवा सञ्चालन गर्न पाइने छ । प्रशासनका अनुसार विवाह, व्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी भइ गर्न पाइने छ

बाँकेमा वैशाख १३ गते रातिदेखि निषेधाज्ञा लगाइएको थियो । त्यसअघि वैशाख नौ गतेदेखि नेपालगन्ज उपमहानगर भित्र मात्रै निषेधाज्ञा लगाइएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमा असार ७ गतेसम्म निषेधाज्ञा थप

राजकुमार कार्की

सिन्धुली — स्वास्थ्य मापदण्ड अपनाएर मध्यान्हसम्म पसल खोल्न पाउने गरी सिन्धुलीमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

यसअघि लगाएको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्म थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । यसअघि लगाएको निषेधाज्ञाको समयावधि सोमबार राति १२ बजे सकिँदै छ ।

सिन्धुलीमा कोरोना संक्रमण दर बढेपछि भिडभाड नियन्त्रण गर्न वैशाख २२ गतेदेखि लगाउन सुरु गरिएको निषेधाज्ञा पाँच पटकसम्म थप गरिएको थियो । थप भएको निषेधाज्ञामा स्टेशनरी, कपडा, सुनचाँदी, टेलरिङ, जुत्ता चप्पल र निर्माण सामग्रीका पसल स्वास्थ्य मापदण्ड अपनाउँदै प्रत्येक दिन बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाउने अनुमति दिइएको दिएको प्रजिअ न्यौपानेले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि हालसम्म एकहजार ९४१ जना संक्रमित भएका र ३० जनाले ज्यान गुमाइसकेका छन् । ७ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×