१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चराको चहलपहल बढ्दो

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–३ धनौराटोलका मनोज श्रीवास्तवको साँझबिहान चराको ‘चर्तिकला’ हेरेर बित्ने गरेको छ । आँगनमा पाँच/सातवटा फूलका रूख छन् । त्यहाँ पातसिउते र धोबिनी चरीको गजबको व्यस्तता देखिन्छ । 

चराको चहलपहल बढ्दो

उनीजस्तै वन डिभिजन कार्यालय तौलिहवाका सहायक वन अधिकृत मदनमोहन शान्डिल्यले पनि चराको सामसुम र क्रियाकलाप नजिकबाट हेरेर रमाइरहेको बताए ।

अहिले कोरोना भाइरस संक्रमणका कारण मुलुकका अधिकांश भागमा निषेधाज्ञा छ । यसले गर्दा मानव चहलपहल कम छ । ध्वनि प्रदूषण छैन । शान्त र स्वच्छ वातावरण छ । यसले चरामय वातावरण बनेको छ । स्वतन्त्रता चाहने चराले उन्मुक्त वातावरणमा रमाउन पाएका छन् । त्यसैले उनीहरूको चहलपहल घर, आँगन, कौसी र करेसाबारीमा बढेको हो ।


निषेधाज्ञाको समयमा चराचुरुंगीले राम्रो वातावरण पाएको चराविद्हरू बताउँछन् । अहिले कतिपयले गुँड बनाइरहेका छन् । कतिपय चरा ओथारो बसिसके । राम्ररी बेचेरा हुर्काउने अवस्थामा पुगेका छन् । ‘उन्मुक्त वातावरणमा चराहरू विचरण गरिरहेका छन्,’ चराविद् डा. हेमसागर बरालले भने, ‘यसले घर, आँगनबाटै चराको चिरविराहट सुन्न र आनीबानी हेर्न पाउँदा उल्लास र उमंग थपिरहेको छ । यसले मानिसमा स्फूर्ति र तन्दुरुस्ती थपिरहेको छ ।’


अहिले कपिलवस्तुमा जुरेली, श्वेतवक्ष जुरेली, भँगेरा, कैलो भँगेरा र कालो बुङ्गे चराका भालेपोथीको सक्रियता मज्जाले देख्न पाइन्छ । कैलो रविन, कुर्ले ढुकुर, मिल चरा, फुस्रो टाउको सारौं र छाङ्ग्रे सारौंको चहलपहल पनि उस्तै बाक्लो छ ।


प्रकाशित : जेष्ठ ३१, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?