लक्षित समूहबाहेकलाई खोप- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लक्षित समूहबाहेकलाई खोप

लगाउनुपर्नेले पाएनन्, अन्य समूहले चिनजान र भनसुनका आधारमा लगाए
सन्जु पौडेल, माधव अर्याल, मनोज पौडेल

लुम्बिनी/पाल्पा/कपिलवस्तु — लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा लक्षित समूहबाहेकलाई कोरोनाको खोप लगाएको पाइएको छ । पहुँचका आधारमा खोप लगाएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । यहाँका स्थानीय तहमा जनप्रतिनिधि र स्वास्थ्य शाखाले लक्षित समूहका नाममा आफन्त, नातागोता र परिवारका सदस्यलाई खोप लगाएको पाइएको हो । 

कपिलवस्तुको वाणगंगा नगरपालिकामा चिनियाँ भेरोसेल खोप लगाइँदै । तस्बिर : मनोज/कान्तिपुर

रूपन्देहीका स्थानीय तहमा सरकारले उमेर समूह तोकेर पठाएको भेरोसेल खोप जनप्रतिनिधि र स्वास्थ्यकर्मीबाट दुरुपयोग भएको पाइएको छ । लक्षित समूह र स्थानीय बासिन्दा यसको प्रभावकारिताबारे अनभिज्ञ हुँदा खोप दुरुपयोग गरिएको गुनासो छ । बुटवल उपमहानगरपालिकाका केही खोप केन्द्रमा जनप्रतिनिधि र कर्मचारीले गत जेठ २५ गते आफन्त बोलाएर साँझ ५ बजेपछि खोप लगाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । लक्षित समूह तोकेर आएको खोप परिवार, आफन्त र साथीभाइलाई लगाएपछि स्थानीय सरकारको विश्वास मानेर खोप पर्खिनु बेकार भएको उनले दुखेसो पोखे । ‘टोल विकास संस्थाका मानिस भन्दै ल्याएर लगाएको देखियो,’ उनले भने, ‘दुरुपयोग गर्ने भए किन उमेर समूह तोक्न पर्‍यो ।’ स्वास्थ्यकर्मीले समेत अन्य उमेर समूहका व्यक्तिलाई केही नबोली खोप लगाइदिएको उनले बताए ।

रूपन्देहीको ओमसतिया गाउँपालिकामा खोपको दुरुपयोग गरिएको गुनासो छ । पालिकालाई खोप लुकाएर राखेको आरोप लागेको छ । पालिकाका स्वास्थ्य शाखा प्रमुखले १६ भाइल खोप इन्चार्जले राखेको आरोप लगाए । स्वास्थ्य इन्चार्जले स्वास्थ्य शाखा प्रमुखले राखेको आरोप लगाएका छन् । त्यसपछि बचेको खोप जिल्ला स्वास्थ्य कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ । उक्त पालिकाका खोप केन्द्रमा ६२ वर्षमुनिका नागरिकले खोप लगाएको एक स्वास्थ्यकर्मीले बताइन् । तोकिएको उमेर समूहका व्यक्ति नआएपछि एक संस्थाबाट आएका व्यक्तिले लगाएको बताइन् । उक्त गाउँपालिकामा बुटवलबाट गएरसमेत खोप लगाएको खोप कार्यक्रममा सहभागी एक स्थानीयले बताए । स्थानीयका अनुसार बुटवल, भैरहवा र तिलोत्तमा क्षेत्रका व्यक्तिले ओमसतिया, लुम्बिनी, मर्चवारीसम्म पुगेर खोप लगाएको पाइएको छ । ती केन्द्रमा उपस्थिति पातलो भएपछि चिनजानका मानिसले लगाएको स्थानीयको भनाइ छ ।

रूपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि आएको १४ हजार ९८ खोप शतप्रतिशत प्रयोग भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘खोप निरन्तर आइरहनुपर्छ,’ उनले भने, ‘एक डोज लगाएर बसेका मानिस र अन्य उमेर समूहले पनि पाउने गरी पहल भइरहेको छ ।’ पाल्पाका स्थानीय तहले पनि भेरोसेल खोपमा जालझेल गरेका छन् । लगाउनुपर्नेले पाएनन् भने अन्य समूहले चिनजान र भनसुन गरेर लगाए । कतिपय स्थानीय तहले लक्षित उमेर समूहको मागअनुसार खोप निल गरेका छन् । खोप लगाएका केहीले तथ्यांक मिलाउन सकेका छैनन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार निस्दी, पूर्वखोला, माथागढी र रिब्दीकोट गाउँपालिकाले लक्षित उमेर समूहकालाई मात्र लगाएर इमानदारी प्रस्तुत गरेका छन् । तर अन्य ६ स्थानीय तहमा भने खोपमा जालझेल देखिएको छ । रामपुर नगरपालिकाले लक्षित ५ सय ५२ रहे पनि ६ सय ३७ जनालाई लगाएको छ । उसले निस्दीबाट फिर्ता भएको खोपसमेत रामपुरमा लगाएको छ ।

बगनासकाली गाउँपालिकाले लक्षित ३ सय ३१ जना सबैलाई लगाएको तथ्यांक दिएको छ । तानसेनले १ हजार १ सय २ लक्षित भए पनि ९ सय ९६ जनालाई लगाएको छ । तिनाउमा ३ सय १ लक्षित सबैलाई लगाएको जनाएको छ । रैनादेवी छहराले ४ सय ७ मा ३ सय ७३ जनालाई लगाएको छ । रम्भाले ३ सय ९ मा २ सय ७० जनालाई लगाएको छ । तानसेनको लायन्स लाकौल आँखा अस्पतालमा खोप लगाउनेको भीड थेग्न नसकेर स्वास्थ्यकर्मी नै हिँड्नुपरेको थियो । तानसेन नगरपालिकाका स्वास्थ्यकर्मी शिरबहादुर रानाले अत्यधिक भीड बढेपछि ज्यान जोगाउनै मुस्किल पर्ने अवस्था आएर बचेको खोप लिएर हिँडेको बताए । जनप्रतिनिधिले आफ्ना मान्छे, नगरपालिकाका कर्मचारी, छुटेका स्वास्थ्यकर्मीले खोप लगाएपछि थप भीड बढेको थियो । ‘केही खोप बचेको थियो,’ स्वास्थ्यकर्मी रानाले भने, ‘त्यो छुटेका स्वास्थ्यकर्मी र केही जनप्रतिनिधिले लगाएका हुन् ।’ उनका अनुसार पहिला लगाउन बाँकी रहेका कर्मचारीले पनि लगाएका थिए । त्यसपछि जनप्रतिनिधिले आफन्तलाई बोलाएर लगाउन थालेपछि थप भीड जम्मा भएको थियो ।

सरकारले चीनबाट अनुदानमा आएको भेरोसेल खोप जिल्लामा पठाएको हो । सोहीअनुसार खोप लगाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार यसपटक ६२ देखि ६४ वर्ष उमेर समूहका लागि भेरोसेल खोप आएको हो । जिल्लाभर ४ हजार १ सय १० जना लक्षित थियो । तर यो लक्षित २०६८ सालको जनगणनाअनुसार हो । यसमा सयौं भाइल खोप बच्नुपर्छ । तर यसअघि खोप लगाउन नमान्नेहरू पनि यसपटक खोप खोज्दै केन्द्र पुगेका थिए । ‘यसपटक कोरोनाविरुद्धको खोप लगाउन आकर्षण बढेको देखियो,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले भने, ‘यसअघि खोपमा ध्यान नदिएका र बिरामी परिन्छ भन्दै नलगाउनेहरूले पनि अहिले जसरी पनि लगाउन पाए हुन्थ्यो भन्दै भनसुन गरेको पाइयो ।’

दुई स्थानीय तहमा अनुसन्धान

कपिलवस्तुका दुई स्थानीय तहले लक्षित समूहभन्दा बाहिर गएर खोप लगाई दुरुपयोग गरेको गुनासो आएपछि स्वास्थ्य कार्यालयले छानबिन थालेको छ । जिल्लाको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाले खोप लगाउँदा आफन्त, चिनेजानेका र नेता कार्यकर्ताको दबाबमा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । वाणगंगा नगरपालिकाले पिपरा अस्पताल र मोतीपुर स्वास्थ्यचौकीबाट खोप लगाउने प्रबन्ध मिलाएको थियो । तर त्यहाँ ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकभन्दा युवायुवती, ४० देखि ५० उमेर समूहकाको बाहुल्य थियो । त्यहाँ नेता, कार्यकर्ता र स्वास्थ्यकर्मीको मिलेमतोमा आफन्तलाई बोलाई खोप लगाइएको थियो ।

वाणगंगाका लागि जिल्ला स्वास्थ्य कार्यालयले १ हजार २ सय १ डोज खोप उपलब्ध गराएको थियो । तर नगरपालिका ठूलो र लक्षित समूह धेरै भएको भन्दै थप खोप माग गरिएको थियो । त्यसपछि जिल्लाबाट ५ सय डोज खोप पठाइएको थियो । सबै डोज खोप लगाइयो । मायादेवी गाउँपालिकामा पनि लक्षित वर्गभन्दा ३० देखि ४५ वर्ष उमेर समूहकाले नै खोप लगाए । त्यहाँ पहुँचका आधारमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको मिलेमतोमा अन्य उमेर समूहका नागरिकलाई खोप लगाइएको पाइएको छ । त्यहाँ त बुटवल, भैरहवाबाट पनि खोप लगाउन आएका थिए ।

स्वास्थ्य कार्यालयबाट मायादेवीले ७ सय ३४ डोज खोप पाएको थियो । यी दुई स्थानीय तहमा खोपको दुरुपयोग भएको गुनासोपछि स्वास्थ्य कार्यालयले अनुसन्धान अघि बढाएको हो । ‘पत्राचार गरेर सोधपुछ गरेका छौं,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले भने, ‘जवाफ आएको छैन ।’ खोप दुरुपयोग भएको पाइए कारबाही गरिने प्रजिअ चक्रपाणी पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

युरो २०२० : अस्ट्रियाको पहिलो जित

एजेन्सी

बुखारेस्ट — अस्ट्रियाले युरोपियन च्याम्पियनसिप फुटबलमा पहिलो जित हात पारेको छ । अस्ट्रियाले आइतबार पहिलो पटक प्रमुख प्रतियोगितामा खेलिरहेको उत्तरी मेसेडोनियालाई समूह ‘सी’ को खेलमा ३–१ ले हरायो ।

तस्बिर : रोयटर्स

वैकल्पिक खेलाडी मार्को अर्नाउटोभिच र मिचेल ग्रेगोर्टिचले गोल गर्दै अस्ट्रियालाई विजयी बनाए ।

खेल सकिन १२ मिनेटअगाडि कप्तान डेविड अल्बाको क्रसमा ग्रेगोर्टिचले गोल गरेपछि मेसेडोनियाका आशा लगभग समाप्त भएको थियो । अर्नाउटोभिचले ८९ औं मिनेटमा गोल गरे । यसअघि स्टेफन लैनरले दिलाएको अस्ट्रियाको अग्रतामा गोरान पान्डेभको गोलमा मेसेडोनियाले २८ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । ३७ वर्षे पान्डेभ मेसेडोनियाका सर्वाधिक गोलकर्ता हुन् ।

मेसेडोनिया २० वर्षअघिदेखि मात्र हो अन्तर्राष्ट्रिय फुटबलमा आएको र यो क्रममा टोलीले १ सय २० खेल खेलेको छ । जारी युरोमा सबैभन्दा कम वरीयताको टोली हो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×