कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘अल्पमतमा परे सत्तामा बस्दिनँ’

रूपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू राजनीतिक रूपमा अल्पमतमा परेमा सत्तामा एक मिनेट पनि नबस्ने बताएका छन् ।

‘अल्पमतमा परे सत्तामा बस्दिनँ’

शुक्रबारको प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमका उद्देश्य र प्राथमिकताका विषयमा बोल्दै मुख्यमन्त्री पोखरेलले अहिले सरकार स्पष्ट बहुमतमा रहेको दाबी गरेका हुन् । विपक्षी गठबन्धनले सरकार अल्पमतमा रहेको र अवैधानिक तबरले प्रदेश प्रमुखले नियुक्त गरेको भन्दै विरोध गर्दै आएका छन् । शुक्रबारको बैठकमा पनि विपक्षीले त्यही विषय दोहोर्‍याएपछि मुख्यमन्त्री पोखरेलले स्पष्ट बहुमतमा सरकार रहेको दाबी गरेका हुन् । ‘म संसद्भित्रको राजनीतिक गणितमा विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिनँ,’ उनले भने, ‘राजनीतिक बहुमत गुम्यो भने एक मिनेट पनि म सत्तामा रहनु हुँदैन भन्नेमा म विश्वस्त छु ।’

उनले जनता समाजवादी पार्टीको कारबाहीमा परेर सर्वोच्चबाट अल्पकालीन आदेशबाट पुनःस्थापित भएका चार प्रदेशसभा सदस्यको अन्तिम फैसला आउँदासम्म प्रदेशसभाको गणितमा बहुमत र अल्पमतको टुंगो नलाग्ने पनि बताए । मुख्यमन्त्री पोखरेलले अहिले प्रदेशसभामा ८३ सदस्य रहेको र प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन मंगलबार अन्य दलका सदस्य उपस्थित नहुँदा पनि सत्ता पक्षका ४२ सदस्य उपस्थित भएको बताए । ‘त्यो नै बहुमतको स्पष्ट आधार हो,’ उनले भने, ‘त्यसैले संसदीय मर्यादा सबैले पालना गर्नु जरुरी छ ।’ ८३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल नेकपा एमालेका मात्र ३८ सांसद छन् । जसपाका ४ सदस्य पनि सरकारमा छन् ।

प्रदेशसभामा मंगलबार पेस भएको सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल सुरु भएको छ । छलफलको पहिलो दिन विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य सरकारविरुद्ध खनिएका छन् । उनीहरूले सरकार अल्पमतमा रहेको, विश्वासको मत नलिएर गैरसंसदीय विधिबाट चलेको, प्रदेश प्रमुखले संविधानको विधि र प्रक्रिया तोडेको आरोप लगाउँदै नीति तथा कार्यक्रमले नौलोपन दिन नसकेको बताए । सत्तापक्षका सदस्यले भने सरकारको बचाउ गर्दै कोभिड–१९ नियन्त्रण र रोजगारी सिर्जनामा केन्द्रित बजेट सरकारले आवश्यकताका आधारमा ल्याएको दाबी गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?