सामाजिक सञ्जाल ह्याक गर्ने पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सञ्जाल ह्याक गर्ने पक्राउ

काशीराम डाँगी

रोल्पा — सामाजिक सञ्जाल ह्याक गरी रकम संकलन गरिरहेको गिरोहका दुई सदस्यलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । पत्रकारलगायतको फेसबुक ह्याक गर्न संलग्न भएका मध्ये दुई जनालाई प्रहरीले सुनसरीबाट नियन्त्रणमा लिएको हो । 

फेसबुक ह्याक गरेर आफन्त र साथीभाइबाट रकम असुल गरेको उजुरी परेपछि थालिएको अनुसन्धान एवं कारबाहीका क्रममा दुई युवालाई नियन्त्रणमा लिइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार सुनसरीको दुबही नगरपालिका–५ का २० वर्षका रीतिककुमार कलवार र इटहरी उपमहानगरपालिका–१२ खनारका २४ वर्षका सरनेद्र चौधरीलाई दुई साताअघि नियन्त्रणमा लिइएको थियो । हाल उनीहरूविरुद्ध रोल्पा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध करिब ३ साताअघि उजुरी परेको थियो ।

पत्रकार खेम बुढाले आफ्नो फेसबुक ह्याक गरी आफन्तबाट रकम सापटी लिएको र तत्काल उक्त रकम आफ्नो खातामा सारेको आरोप लगाउँदै विवरणसहित उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यस क्रममा उक्त कार्यमा संलग्न भएको आरोपमा कलवार र चौधरीलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले उनीहरूविरुद्ध साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरेको छ । त्यस क्रममा नेपाल राष्ट्र बैंक, एनआईसी बैंक, ई–सेवालगायतको ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

हाते औजारबाटै ट्र्याक खन्दै स्थानीय

कान्तिपुर संवाददाता

गोरखा — तिब्बती सीमा रुइला जोड्ने सडकको ट्र्याक खोल्न सुरु भएको छ । चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित साम्दोबाट सडक निर्माण थालिएको हो । गल, गैंचीलगायत हाते औजारको प्रयोगबाट सडकको ट्र्याक खनेको स्थानीय लाक्पा डुण्डुप लामाले बताए । साम्दोबाट रुइलास्थित ३५ नम्बर पिल्लरको ९ किलोमिटरमध्ये यस वर्ष साढे ३ किमि सडकको ट्र्याक खोलिने उनले बताए । 

सामागाउँ र साम्दोको ११–११ जनाको ३ टोली बनाएर काम सुरु भएको हो । ‘तलबाट नेपाली सेनाले ट्र्याक खोलिरहेको छ, छिटो ट्र्याक खुलोस् भनेर अहिले बीचबाट काम थालिएको हो,’ लामाले भने । उपभोक्ता समितिमार्फत सडकको ट्र्याक खन्न सुरु भएको हो । लामा उक्त सडकको उपभोक्ता समितिका अध्यक्ष हुन् ।

सीमा क्षेत्रस्थित रुइलाबाट सडकको ट्र्याक खोल्ने तयारी गरिए पनि हिउँ नपग्लँदा साम्दोबाट सडक खनेको लामाले बताए । झन्डै ६ मिटर फराकिलो सडक हातले खनेको उनले बताए । ‘गोरखाको तल्लो बजारबाट खच्चडमा बोकाएर ल्याउँदा ढुवानीमै ठूलो खर्च हुन्छ,’ उनले भने, ‘ट्र्याक खुलिसकेपछि सडक मार्ग भएर सामग्री ढुवानी गर्दा निकै कम पर्छ । ट्र्याक खोलेर गाडी चले त चामल, नुनतेल र निर्माण सामग्री सस्तो पर्ने भयो ।’ स्थानीय तथा पर्यटकलाई पनि सजिलो हुने भन्दै स्थानीय खुसी हुँदै सडक खन्न सहभागी भएको उनले बताए । ‘सडक सञ्जालले जोडिए जीवनस्तर उकासिन्छ भनेर स्थानीय उत्साहित छन्,’ लामाले भने ।

गण्डकी प्रदेश सरकारले रुइला भन्ज्याङबाट गोरखातर्फ ३१ किमि सडकको ट्र्याक खोल्ने लक्ष्यसाथ अघिल्लो वर्ष स्थलगत सम्भाव्यता अध्ययन तथा अवलोकन गरेको थियो । चालु वर्ष रुइला भन्ज्याङ–साम्दो–ल्हो–प्रोक–बिही–सिर्दिवास सडकका लागि ५० लाख रुपैयाँ विनियोजन भएको भौतिक पूर्वाधार कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए । ‘आठ लाख श्रमदान र ५० लाख बजेट गरी ५८ लाख रुपैयाँले साढे ३ किमि सडकको ट्र्याक खोल्न सुरु भएको हो,’ उनले भने ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×