कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विवादले रुपन्देहीका चार पालिकामा खोप कार्यक्रम स्थगित

माधव ढुंगाना

भैरहवा — कोभिडविरुद्धको खोप लगाउने क्रममा विवाद भएपछि रुपन्देहीको चारवटा पालिकामा बु्धबार खोप कार्यक्रम स्थगित हुन पुगेको छ । रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो ।

विवादले रुपन्देहीका चार पालिकामा खोप कार्यक्रम स्थगित

सुरुको दिनमै खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएपछिको उत्पन्न विवादले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउपालिका र मर्चवारी गाउँपालिकामा बुधबारको खोप कार्यक्रम स्थगित हुन पुगेको हो ।

खोप कार्यक्रम स्थगित हुनुको बारेमा सम्बन्धित पालिकाका स्वास्थ्य प्रमुखले यथार्थ जानकारी दिएनन् । गोलमोटल र झारा टार्ने जवाफ दिँदै तर्किने गरेका छन् । केही ठाउँमा अत्याधिक भिड र आवश्यकता अनुरुपको खोप नहुनु र केही स्थानमा स्थानिय जनप्रतिनिधिको स्वार्थ बाझिदा खोप कार्यक्रम विवादित हुन पुगेको हो ।

केही जनप्रतिनिधिले आफन्त, पार्टी निटककालाई खोपमा प्राथमिकता दिएपछि विवाद जारी छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।

ओमसतिया गाउँपालिका एकजना वडा अध्यक्षले आफन्त र पार्टी कार्यकर्तालाई तोकिएको सरकारी मापदण्ड विपरीत खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको हो । मापदण्ड भन्दा बाहिर गएर खोप कार्यक्रममा सहभागी गराएपछि जिल्ला प्रशासनले उनलाई स्पष्टिकरण सोधेको छ । ‘उनले तोकिएको भन्दा आफूखुशीकालाई खोप लगाउन दिएको जानकारीमा आएपछि हामीले स्पष्टिकरण सोधेका छौं,’ तामाङले भने ।

सिद्धार्थनगरमापनि आवश्यकता भन्दा कम खोप आएको र केही जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई बढी प्राथमिकता दिएपछि विवाद हुँदा खोप लगाउनै स्थगित गरिएको प्रशासनले जनाएको छ । प्रजिअ तामाङले विवादका विषयमा केन्द्र र प्रदेश सरकारलाई जानकारी गराइएको र सहजीकरण प्रयास भइरहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पिताम्बर पाठकले खोप कार्यक्रम स्थगित हुनुको वास्तविक कुरा बताउन चाहेनन् । सिद्धार्थनगरमा स्वास्थ्य कार्यालयबाट मंगलबारका लागि मात्रै खोप लागाउने कार्यक्रम रहेको र ७ सय ९७ जनाले लगाएपछि बाँकी भ्याक्सिन स्वास्थ्य कार्यालयमै पठाइएको बताए । सिद्धार्थनगरमा १ हजार ४५ जनालाई खोप लगाउने लक्ष्य थियो । ‘घाममा खटेर काम गर्दागर्दै र लक्षित समूहलाइ सेवा दिने भन्दा भन्दै त्यस्तै भयो, म यहाँभन्दा धेरै कुरा गर्दिन्न,’पाठकले भने, ‘जो जस्ले लगाएपनि नेपाली दाजुभाइले नै लगाए होलान । किन यसबारेमा सोधखोज गरेको ?’ लक्षित समूहलाइ लगाउने भन्दा भन्दै त्यस्तै भएको भन्ने बारेमा उनले थप खुलाउन चाहेनन् ।

रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले आवश्यकता भन्दा कम परिमाणमा खोप आउनु र कतिपय ठाउमा लक्षित उमेर भन्दा कम उमेरकाले खोप लगाएपछि विवाद भएको बताए ।

प्रकाशित : जेष्ठ २६, २०७८ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?