१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लघु महाचिललाई कृत्रिम गुँड

मनोज पौडेल

लुम्बिनी — विश्वमै दुर्लभ लघु महाचिललाई बचेरा हुर्काउन रुखमा कृत्रिम गुँड बनाएर छाडिएको छ । यो चराका ५० प्रतिशतभन्दा कम बचेरा मात्र हुर्किने हुँदा प्रजनन अवस्थामा सुधार ल्याउन गुँड निर्माण गरिएको हो । सिकारी चरा शीर्षकमा विद्यावारिधि गरेका डा. तुल्सी सुवेदी र चराविद् सन्देश गुरुङको टोलीले गुँड बनाएको हो । 

लघु महाचिललाई कृत्रिम गुँड

मुलुकका तीन ठाउँमा १३ गुँड बनाइएको छ । नेपालमै सबैभन्दा धेरै लघु महाचिल पाइने लुम्बिनी क्षेत्रमा प्राकृतिक वासस्थानमा गुँड बनाइएको छ । लुम्बिनीस्थित शान्ति स्तुपको दक्षिणतिर दुई, पिकनिक खाने क्षेत्रमा एक, ७ नम्बर गेटभित्र र तेलार नदीछेउ लुम्बिनी बुद्ध गार्डेन होटलभित्र एक–एक ठाउँमा गुँड बनाइएको छ । चार ठाउँमा सिसौ र एक ठाउँमा सिमलको रुखमा गुँड बनाइएको छ । यस्तै कोसी वन्यजन्तु आरक्षको भागवपुरमा पाँचवटा र धनुषाको धनुषाधाम सामुदायिक वनमा तीनवटा गुँड बनाइएको छ । एकान्तमा रहेका अग्ला रुखमा १८ देखि २० मिटरमाथि बनाइएको छ । नेपालमा लघु महाचिल ३० देखि ७० वटा रहेको अनुमान छ । त्यसमध्ये १६/१७ वटा लुम्बिनीमा छन् । मुलुकमै पहिलोपटक लघु महाचिलको प्रजनन अवस्थामा सुधार ल्याउन गुँड निर्माण गरी परीक्षण गरिएको हो ।

जुमार टेक्निकबाट शरीरलाई डोरीले बाँधेर चराविद् गुरुङ रुख चढ्छन् । एक मिटर डायमिटरको मसिनो काठको फ्रेमलाई रुखको माथिल्लो भागमा किलाकाँटीले ठोकेर गुँड राख्छन् । वाइन्डिङ वायरले बाँधेर बलियो बनाउँछन् । त्यसमाथि मसिनो झिजाझिजी र सुकेका काठपात राख्छन् । त्यसपछि हरियापात र घुरपात थपेर बाक्लो बनाउँछन् । कृत्रिम रूपमा बनाइए पनि प्राकृतिक रूपमा रहेजस्तो देखिने गरी गुँड निर्माण गरिएको चराविद् गुरुङले बताए । ‘एउटा गुँड राख्न झन्डै तीन घण्टा समय लाग्छ,’ उनले भने, ‘हावाहुरीले नउडाउने गरी बलियो बनाएका छौं ।’ सकभर चराको मनोभावना बुझेर वातावरणमैत्री बनाउने प्रयास गरिएको र चिललाई शंका नलागोस् भनेर धेरै प्रयत्न गरेको उनले बताए । साता दिन लगाएर लघु महाचिलको बढी मुभमेन्ट हुने ठाउँमा राखिएको छ । यसो गर्नुको कारण चिलले सजिलै गुँड देखेर ओथारो बसोस् भन्ने हो ।

मेदेखि अगस्टमा यसले गुँड बनाएर बचेर उडाउँछ । लघु महाचिल ३८ देखि ४२ दिन ओथारो बस्छ । बच्चा जन्मेको ५४ दिनपछि उडाएर लिएर जाने चराविद् सुवेदीले बताए । तीन ठाउँमा झन्डै एक महिना लगाएर गुँड राखिएको हो । यसको संख्या विश्वमै घट्दै गएकाले जोगाउन यस्तो प्रयत्न भएको हो । यसलाई बचेरा हुर्काउन निकै गाह्रो हुन्छ । ‘५० प्रतिशतभन्दा कममात्रै बचेरा हुर्केको पाइन्छ,’ चराविद् डा. हेमसागर बरालले भने, ‘यसको एउटा बच्चाले अर्को बच्चालाई खाने गरेको अध्ययनले देखाएको छ ।’

१०/१२ दिन अन्तरमा दुईवटा बच्चा जन्मिए भने ठूलोले सानालाई खाने गरेको देखिएको छ । त्यसले पनि यसका बचेरा हुर्काउन समस्या आएको उनले सुनाए । अहिले गुँड आसपास पुगेर अध्ययनकर्ताले बेलाबेला अनुगमन गरिरहेका छन् । ६ महाचिलमध्ये अहिलेसम्म यसको अध्ययन भएको थिएन । गत वर्ष तीनवटा लघु महाचिलमा सोलार ट्रान्समिटर जडान गरेर अध्ययन गरिएको हो । अंग्रेजीमा इन्डियन स्पोटेड इगल भनिने यस चिलको रहनसहन र वासस्थान अध्यनन गर्न सोलार ट्रान्समिटर राखिएको थियो । ‘अध्ययनले लघु महाचिलको संरक्षण योजना बनाउन सहज भयो,’ चराविद् बरालले भने, ‘त्यसकारण प्रजनन अवस्थामा सुधार ल्याउन अध्ययन थालेको हो ।’

लघु महाचिल तराईको रैथाने चरा हो । ६ महाचिलमध्ये यसले मात्र तराईमा बच्चा कोरल्छ । एकदेखि पाँच किलोसम्म तौल हुने यो उत्तिकै मनमोहक र आकर्षक देखिन्छ । त्यसै कारण धेरैले मन पराउँछन् । ‘पहिलो अध्ययनले कहाँ कहाँ पुग्छन्, के गर्छन् र बच्चा कसरी कोरल्छन्लगायतका कुरा थाहा पाउन सघायो,’ बरालले भने, ‘त्यस्तै अहिले बचेरा हुर्काउने विषयमा अध्ययन थाल्यौं ।’

बरालका अनुसार यो कृषकको राम्रो साथी हो । यसले बालीनाली उत्पादनलाई निकै सहयोग गर्छ । यसले बालीनाली नाश गर्ने सुगा, भँगेरा र पानीचरालगायतको सिकार गर्छ । यी तीनै जीवको प्रमुख आहार खाद्यान्न बाली हो । त्यसैले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा कृषकलाई सहयोग पुर्‍याइरहेका छन् । मांसाहारी सिकारी चरा लघु महाचिलको विनाश हँुदा मानव जातिलाई समेत असर गर्ने चराविज्ञहरू बताउँछन् ।

चिलका २२ प्रजाति छन् । तीमध्ये नेपालमा जीवाहार, गोमायु, राज, रणमत्त, सुपर्ण र लघु महाचिल गरी ६ प्रजातिका पाइन्छन् । महाचिलमध्ये यो सबैभन्दा सानो हो । लघु महाचिलसहितका यी ६ प्रजातिका चिल आईयूसीएनको रेडलिस्टमा लोपोन्मुख संकटापन्न चराको सूचीमा छन् । नेपालमा सबैभन्दा कम राज महाचिल छन् । तिनको संख्या करिब १० मात्र रहेको अनुमान छ । त्यसपछि रणमत्त महाचिल १० देखि ३५ र जीवाहार महाचिल २० देखि सयको संख्यामा रहेको अनुमान गरिएको छ । सुपर्ण महाचिल सयदेखि दुई सय र गोमायु महाचिल १० हजारदेखि २० हजारको संख्यामा रहेको अनुमान छ ।

आहारा विनाशका कारण लघु महाचिल दिनानुदिन संकटमा पर्दै गएको चराविद् डा. सुवेदीले बताए । जमिन खण्डीकरण, वन विनाश र बढ्दो विषादी प्रयोग लघु महाचिलको वासस्थानमै हराउँदै गएको उनले बताए । यी चरा ९० प्रतिशतभन्दा बढी बस्ती र खेतबारीमा बस्छन् । खेतका भ्यागुता खान्छन् । भ्यागुताले खेतबारीमा विषादी खाँदा त्यसको असर यसलाई परिरहेको छ । ‘खुला स्थानमा कावा खाँदै चिल रम्न चाहन्छ,’ सुवेदीले भने, ‘तर, अग्लाअग्ला मानव बस्तीको घना विकासले यसलाई समस्या थपेको छ ।’ त्यसले गर्दा आफूलाई पायकको स्थान खोजीमा वासस्थान फेर्ने वा हराउने गरेको अध्ययनले देखाएको छ । ‘यो जलवायु परिवर्तनको सूचक पनि हो,’ उनले भने, ‘वातावरणसँगै आफ्ना गतिविधिमा परिवर्तन ल्याउँछ ।’ यो महाचिल भारत, पाकिस्तान, भियतनाम, बंगलादेश, म्यानमार, कम्बोडिया र नेपालमा मात्र पाइएको रेकर्ड छ । विश्वमा यसको संख्या २ हजार ५ सयदेखि १० हजारको हाराहारीमा छ । रुफोर्ड स्मल ग्रान्ट र हिमाली प्रकृतिले यसको अध्ययन गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?